बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

अग्रज ‘इच्छुक’को स्मृतिमा कौशल पाण्डेको जीवन र कर्मप्रति गर्व

मङ्गलबार, १५ जेठ २०८१, १३ : ००
मङ्गलबार, १५ जेठ २०८१

अग्रज एवं आदरणीय कृष्ण सेन ‘इच्छुक’ को २२औँ स्मृति दिवस (जेठ १३) को सन्दर्भमा प्रेस सेन्टर, नेपाल मकवानपुर जिल्ला समितिले हेटौँडामा एक औपचारिक कार्यक्रमसहित मलाई ‘कौशल पाण्डे स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । यसले मलाई जनपक्षीय पत्रकारिता मूल्यका लागि केन्द्रित हुन र ‘इच्छुक’ एवं पाण्डेको पदचापलाई पछ्याइरहन अरू बढी ऊर्जा दिएको छ । र, गौरवबोध गराएको छ ।

प्रायः मोफसल केन्द्रित वरिष्ठतम् पत्रकार कौशल पाण्डेको नाम नेपाली पत्रकारिता इतिहासमा एक अमूल्य अध्यायको रूपमा स्थापित छ । उनको निधनले धरातलीय प्रक्षेपण क्षमता भएका जनपक्षीय पत्रकारको अभाव  सिर्जना गरेको महसुस हुन्छ । उनको जीवन र कर्मले धेरैलाई प्रेरणा दिएको छ । यस्ता उच्च व्यक्तित्वका नाममा स्थापित पुरस्कार पाउने अवसर मेरा लागि उनको आदर्श र निष्ठालाई जीवित राख्ने चुनौती हो । मेरो आफ्नै संकल्पको परीक्षा पनि हो ।

अग्रज पाण्डेले आफ्नो पत्रकारिता जीवनमा भुइँमान्छेको पक्षधरता र निष्ठाको मार्गलाई मात्रै प्राथमिकता दिए । उनको पत्रकारिता वामपन्थी आन्दोलन र समाजवादी विचारधाराको प्रवद्र्धनमा सदैव केन्द्रित थियो । उनले पत्रकारिताका साथै वामपन्थी आन्दोलन, शिक्षण लगायत विभिन्न आयाममा योगदान दिएका थिए । 

हामीले पत्रकार संगठनलाई देशव्यापी बनाउँदै गर्दा उनले तत्कालीन क्रान्तिकारी पत्रकार संघ, मकवानपुर शाखाको संस्थापक अध्यक्ष हुन स्वीकार गर्नु त्यस क्षेत्रमा हाम्रो संगठनको प्रभावशाली उपस्थितिको आफैँमा ओझिलो सन्देश थियो । त्यस कमिटी निर्माणको औपचारिक तथा अनौपचारिक सन्दर्भमा म आफैँ पनि संलग्न थिएँ । वरिष्ठ भएर पनि आवश्यकता र परिवेश बुझ्न उनी सधैँ तत्पर भए । त्यसले उनको नेतृत्व–क्षमता र उत्पीडित वर्ग र समुदायप्रतिको समर्पणलाई नै प्रमाणित गरेको थियो । 

उनले नेतृत्व गरेको क्रान्तिकारी पत्रकारको संगठन, जुन अहिले प्रेस सेन्टरको रूपमा छ, त्यो क्रियाशीलता र संख्यात्मक दुवै दृष्टिले आज पत्रकारिताको मूल राष्ट्रिय संगठन भएर समग्र सञ्चार–पत्रकारिता क्षेत्रमा स्थापित एवं निर्णायक छ । 

विद्यालय तहमा पत्रकारिता तहको पाठ्यक्रम नहुँदै आफ्ना विद्यार्थीलाई विद्यालयमा पत्रकारिता पढाउने अर्थात् मकवानपुरमा लेख्न सिकाउने मूल श्रेय पाण्डेलाई नै जान्छ । उनले लेखेको र सिकाएको लेखन अभिव्यक्तिको कौशल साधारण औपचारिकता मात्रै होइन । बरु तत्कालीन समाज–संयन्त्रलाई त्यसको व्यवस्थाबारे प्रश्न उठाउने सिकाइ हो । संचारकर्म वा पत्रकारिताको मूल धर्म भन्नु वास्तवमा त्यही हो ।

उनी संगठनकर्ता समेत थिए । आफ्नो सिकाइले कोही चेतनागामी होस् र त्यसबाट संगठनात्मक पहल होस् भन्ने भित्री–बाहिरी भावना उनीमा हुन्थ्यो । उनले विद्यालय तहमा पढाएकी छात्रा अञ्जली थापा जनपक्षीय पत्रकारिताको खम्बाका रूपमा हाल प्रेस सेन्टर, नेपाल मकवानपुर जिल्लाको अध्यक्ष हुनु संगठनका लागि अर्को गर्वबोध हो । 

पाण्डेको समर्पण, जनपक्षीय पत्रकारिता कर्म, वैचारिक निष्ठा एवं आदर्शबाट प्रभावित भएर नै सुनील खड्का, कृष्ण सारु, नानीमाया विष्ट, ध्रुव अधिकारीजस्ता दिग्गज पत्रकार केन्द्रीय तथा प्रादेशिक तथा स्थानीय पत्रकारिता भूमिकामा जबर्जस्त स्थापित छन् । जिल्ला र पालिकामा थुप्रै पत्रकारले उनको विचार र कर्मलाई पछ्याएका छन ।

प्रेस सेन्टर, मकवानपुरले संगठन र जनपक्षीय राजनीतिका खम्बा कौशल पाण्डेको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गरेर तथा पहिलोपटक मलाई त्यो पुरस्कार दिएर उनको आदर्शप्रति अविचलित कायम हुन खबरदारी गरेको महसुस मलाई भएको छ ।

संकल्प गर्छु कि उनको आदर्श र निष्ठाको पत्रकारितालाई क्षय हुन म कदापि दिनेछैन् । यो पुरस्कार मेरो जीवनको गौरव हो । उनका विचार आदर्शलाई सतिसाल भएर पारिवारिक भरथेग गरेकी उनकी जीवन संगिनी शकुन्तला पाण्डेकै हातबाट र सहयोद्धा एवं माओवादी केन्द्रका नेता, हाल वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबाट यो सम्मान र पुरस्कार पाउँदा मलाई असाध्यै खुसी लागेको छ ।

अग्रज पाण्डेको निधनपछि पनि परिवारले उनको आदर्श राजनीतिक संस्कारलाई जीवित राखेको छ । यो जनपक्षीय राजनीति वा संगठनात्मक विचारका प्रति सम्पूर्ण विश्वास हो । पाण्डे परिवारको यो सद्भाव र विश्वासलाई हामीले उच्च सम्मान गर्नुपर्छ ।  

हामी सबै जनपक्षीय पत्रकारका आदर्श कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा यस्तो सम्मान तथा पुरस्कार पाउनु मेरा लागि एक ऐतिहासिक र अर्थपूर्ण परिस्थिति समेत हो । मूलतः म पनि इच्छुककै प्रभाव र प्रेरणाले पत्रकारितामा आएको हुँ । 

‘इच्छुक’ र मेरो सम्बन्ध पञ्चायतकालमै भएको हो । हामी ‘योजना साप्ताहिक’मा थियौँ । निरंकुश पञ्चायती व्यवस्थाले अन्तिम समयमा पनि आफ्नो दमनीय फँणा उठाइरहेको थियो । शक्ति लम्सालले सम्पादन नेतृत्व गरेको ‘योजना’माथि कडा ‘सेन्सरसिप’ लगाइएको थियो । जनपक्षीय पत्रकारितालाई सधैँ सम्मान गर्ने कम्युनिस्ट आन्दोलनका एक शीर्ष नेतृत्व हेटौँडाका भक्तबहादुर श्रेष्ठले समेत तत्कालीन मोटो मशाल पार्टीका तर्फबाट ‘योजना’लाई हरदम सहयोग गरे । जनपक्षीय पत्रकारिता गर्दागर्दै सरकारी दमन र आर्थिक अभावका कारण ‘योजना’ले निरन्तरता पाएन । 

तर, पञ्चायती व्यवस्थाको अन्त्यसँगै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन ध्रुवीकरण भयो । नेकपा (एकता केन्द्र) बनेसँगै जनादेश साप्ताहिकको प्रकाशन भयो । ‘इच्छुक’ र म त्यहीँ जोडियौँ । पत्रकार भएर पनि ०५२ पछि तत्कालीन नेकपा (माओवादी) मा संलग्न भएको आरोपमा हामीले धेरै जेल, नेल र कठोर यातना भोग्यौँ । ‘इच्छुक’को त हत्या नै भयो । 

अघिल्लो पुस्ताले गरेको उच्च त्याग र बलिदानले नै आजको राजनीतिक परिवर्तन सम्भव भएको हो । उनीहरूको प्रेरणा र योगदानलाई शब्दमा मात्र सम्मान गर्नु पर्याप्त हुँदैन । कर्मबाट आत्मसात गर्नु जरुरी छ ।

वास्तवमा ‘इच्छुक’ र पाण्डेको जीवन र कर्म नेपाली पत्रकारिताको एक अमर छाप हो । उनीहरूको निष्ठा आजका अनि भविष्यका पत्रकारको समेत प्रेरणा हो । 

हामीले उनीहरूका योगदान र त्यागलाई सधैँ सम्झना र सम्मान गर्नुपर्छ । कौशल पाण्डेजस्ता आदर्श पत्रकारको नाममा स्थापित पहिलो पुरस्कारका लागि मलाई योग्य ठानेकामा प्रेस सेन्टर, नेपाल मकवानपुरप्रति अति नै अनुगृहित छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर दाहाल
महेश्वर दाहाल
लेखकबाट थप