सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

१७ दिनमै सरुवा लिएर फर्किए कर्णालीमा अर्थसचिव

१२ औंँ सचिवमा रूपमा आए शर्मा
सोमबार, १४ जेठ २०८१, १४ : ४०
सोमबार, १४ जेठ २०८१

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा वैशाख २७ गते हाजिर भएका अर्थसचिव विष्णुप्रसाद पौडेल १७ दिनमै फर्किएका छन् ।  उनले सरुवा लिई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएका छन् । पौडेलको आइतबार अर्थ मन्त्रालयले बिदाइ गरेको छ । 

यस्तै नयाँ अर्थ सचिवका रूपमा रविलाल शर्मा आइतबार नै हाजिर भएका छन् । अर्थ सचिव पौडेल आजसम्मकै सबैभन्दा कम समय कर्णालीमा बस्ने सचिव हुन् । उनी आउनुभन्दा अगाडि लामो समय सचिवविहीन भएको अर्थ मन्त्रालयमा उनी आएर बजेट सिलिङ वितरण गरेका थिए । 

०८० मङ्सिर २१ गते अर्थ सचिव भएर आएका रमेश न्यौपाने गत चैत ४ गते सरुवा लिएर काठमाडौँ फर्किएपछि अर्थ मन्त्रालय सचिवविहीन बन्यो । सचिव नहुँदा आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया नै सुरु हुन सकेन । पौडेलले आएर बजेटको सिलिङ वितरण गरेका थिए ।

जेठ पहिलो साताबाट मात्रै बजेट निर्माणको प्रक्रिया सुरु भए पनि पौडेलले छोटो समयमा नै सुरुवा लगेर गएका हुन् । नयाँ आएका सचिव शर्मा यो मन्त्रालयको १२ औँ सचिव हुन् ।  ०७४ सालयता अर्थ मन्त्रालयमा १२ वटा सचिव फेरबदल भएका छन् । 

पहिलो अर्थ सचिवका रूपमा आएका ढुण्डीप्रसाद निरौला ०७४ माघदेखि ०७६ वैशाख १२ गतेसम्म बसे । त्यसपछिका कुनै पनि अर्थ सचिव वर्षदिन कर्णालीमा बसेनन् । पछिल्लो पटक त ३–४ महिनामै सचिवहरू फेरबदल भइरहेका छन् । पौडेल भन्दा पहिलाका सचिव रमेश न्यौपाने जम्मा तीन महिना मात्र बसे । 

प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले संसदमै यस्तो खालको प्रवृत्ति ठिक नभएको तर्क गरे । बजेट अधिवेशनको पहिलो बैठकमा शर्माले भने, ‘बजेटको सिलिङ एउटा सचिवले दिनुभयो, तर उहाँ गएर पनि अर्को आइसक्नुभयो, यस्तो अवस्थाबाट हामी कसरी माथि उठ्न सक्छौँ । कसरी सङ्घीयतालाई सही तरिकाले कार्यान्वयन गर्न सक्छौँ ?’ 

शर्माले यस्तो खालको प्रवृत्तिले नै कर्णाली पछि पारिएको बताए । यस्ता खालका समस्याहरूलाई समाधान गर्नेतिर ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।

हेर्नुहोस् कुन अर्थ सचिव कर्णालीमा कति दिन–महिना बसे ?

१.श्री ढुण्डीप्रसाद निरौला— २०७४/१०/२७ देखि २०७६/०१/१२

२. सन्तबहादुर सुनार—२०७६/०१/१५ देखि २०७६/०५/१७

३. विष्णुप्रसाद नेपाल— २०७६/०५/२६ देखि २०७७/०१/०८

४. घनश्याम उपाध्याय— २०७७/०१/१४ देखि २०७७/११/१४

५. हिरालाल रेग्मी— २०७७/११/२० देखि २०७७/१२/३१

६.चक्रबहादुर बुढा—२०७८/०१/०८ देखि २०७८/०९/२९

७. झक्कप्रसाद आचार्य—२०७८/०९/३० देखि २०७९/०५/१२

८. श्यामकृष्ण थापा—२०७९/०६/०६ देखि २०८०/०४/१७

९.दीर्घबहादुर पोखरेल—२०८०/०४/३१ देखि २०८०/०८/२०

१०. रमेश न्यौपाने—२०८०/०८/२१ देखि २०८०/१२/०४

११. विष्णुप्रसाद पौडेल—०८१/०१/२७ देखि जेठ १३ सम्म

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप