सवारी कर्जाको जोखिम भार र न्यूनतम कर्जा नोक्सानी व्यवस्था दर घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत गरेको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बैंकले गत जेठ ४ गते मौद्रिक नीतिको समीक्षा गरेको थियो ।
मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यसअघिको व्यवस्था परिमार्जन गर्दै हायर पर्चेज (सवारी) कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्ने निर्णय गरेको थियो । सोही व्यवस्था अनुसार राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरूलाई एक परिपत्र जारी गर्दै परिमार्जित व्यवस्था कार्यान्वयन गर्ने निर्देशन गरेको हो ।
अनुसूची १.१ को क्यापिटल एक्युरेसी फ्रेमवर्क २०१५ अनुसार २५ लाखमाथिको हायर पर्चेज तथा व्यक्तिगत सवारी कर्जामा यसको १२५ प्रतिशतको जोखिम भारको व्यवस्था हटाइएको केन्द्रीय बैंकले जनाएको छ ।
उच्च जोखिम भार तथा अनावश्यक बैंकिङ प्रोसुडियरकै कारण अटोमोबाइल क्षेत्र प्रभावित भएको भन्दै सहजीकरणका लागि व्यवसायीहरूले सरकारसँग माग गर्दै आएका थिए । अर्कोतर्फ केन्द्रीय बैंकको कडा नीतिका कारण बैंकहरुको लगानी खुम्चिएको र तरलता थुप्रिन पुगेको बताइएको थियो । लगानी सहजताकै लागि मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले सहजीकरण गरेको हो ।
यस्तै मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले कर्जा वर्गीकरणका आधारमा असल कर्जाको न्यूनतम कर्जा नोक्सानी व्यवस्थाको दर समेत घटाएको छ । यसअघि असल कर्जाका लागि १.२५ प्रतिशत रहेको न्यूनतम कर्जा नोक्सानी ०.०५ प्रतिशतले घटाउँदै १.२० प्रतिशतमा झारिदिएको छ । अरू सूक्ष्म निगरानी कर्जाको ५ प्रतिशत, कमसल कर्जाको २५ प्रतिशत, शङ्कास्पद कर्जाको ५० प्रतिशत र खराब कर्जाको १०० प्रतिशतको नोक्सान व्यवस्था भने यथावत् राखिएको छ ।
संशोधित नोक्सानी व्यवस्था रेसम, जुट, कपास लगायतका कृषि खेती र व्यावसायिक रूपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलफूल खेतीका लागि प्रदान गरिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत, दोस्रो वर्ष ०.६ प्रतिशत र तेस्रो वर्षदेखि १.२० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु