बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

विश्वकपअघि दक्षिण अफ्रिकाको खराब प्रदर्शन, शृङ्खलामा वेस्ट इन्डिजको ‘क्लिन स्विप’

सोमबार, १४ जेठ २०८१, १० : ५३
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि घरेलु टोली वेस्ट इन्डिज विजयी भएको छ । तेस्रो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई आठ विकेटले पराजित गरेको हो ।

जितसँगै क्यारेबियन टोलीले तीन खेलको शृङ्खलामा ‘क्लिन स्विप’ पनि गरेको छ । शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई २८ रनले हराएको थियो । शृङ्खलाको दोस्रो खेलमा पनि वेस्ट इन्डिज १६ रनले विजयी भएको थियो ।

तेस्रो खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले भने १३.५ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ६५ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

वेस्ट इन्डिजको सजिलो जितमा जोन्सन चार्ल्सले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ६९ रनको योगदान गरे । अनुभवी ब्याट्सम्यान चार्ल्सले केवल २६ बलको सामना गरी पाँच छक्का र नौ वटा चौका पनि हिर्काएका थिए ।

कप्तान ब्रान्डन किङले पनि टोलीको खातामा ४४ रन थपे । उनले २८ बलको सामना गरी चार छक्का र दुई चौका पनि हिर्काए । ब्रान्डन किङ र चार्ल्सले ओपनिङ विकेटका लिग ९२ रनको साझेदारी गरेका थिए । सातौँ ओभरको चौथो बलमा चार्ल्स आउट भएपछि यो साझेदारी तोडिएको थियो ।

तेस्रो नम्बरका ब्याट्सम्यान कायल मायर्सले पनि अविजित ३६ रन बनाए । उनले २३ बलमा चार छक्का पनि प्रहार गरे । एलिक अथान्ज ६ रनमा अविजित रहे । विश्वकप सुरु हुनुअघि वेस्ट इन्डिजका ब्याट्सम्यानहरू लयमा देखिएका छन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि कप्तान राशि भान डर डुसेनले अर्धशतकीय पाली खेलेका थिए । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३१ बलमा पाँच छक्का र एक चौकाको मद्दतले ५१ रन बनाए ।

छैटौँ नम्बरका ब्याट्सम्यान विआन मल्डरले पनि टोलीको खातामा ३६ रन थपे । उनले २८ बलमा एक छक्का र तीन चौका प्रहार गरे । ओपनर क्विन्टल डी काक १९ रन बनाउँदै आउट भए । वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले तीन विकेट लिए ।

क्यारेबियन टोलीका बलर गुडाकेश मोटी र सामर जोसेफले पनि दुई–दुई विकेट हात पारे । वेस्ट इन्डिजका जोन्सन चार्ल्स प्लेयर अफ दी म्याच घोषित भए । वेस्ट इन्डिजकै गुडाकेश मोटीले प्लेयर अफ दी सिरिजको पुरस्कार हात पारे ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो । टी–२० विश्वकपमा वेस्ट इन्डिज समूह ‘सी’ मा परेको छ । त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

दक्षिण अफ्रिका भने विश्वकपको समूह ‘डी’ मा परेको छ । नेपाल पनि त्यही समूहमा रहेको छ । दक्षिण अफ्रिका र नेपालका अतिरिक्त त्यो समूहमा श्रीलंका, बङ्गलादेश र नेदरल्यान्ड्स पनि छन् । यो समूहमा तीनवटा टेस्ट राष्ट्र छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप