१० बजे, १० समाचार
आज मिति २०८१ साल जेठ महिनाको १३ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
- संसद् बैठक
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबारको संसद बैठकमा फरक दृश्य देखिएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको छ । गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्मा पेश गरेका थिए । सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि राखिएको छलफल कार्यक्रममा प्रतिपक्षीले सहकारी मुद्दालाई लिएर विरोध जारी राखेपछि आइतबारका लागि बैठक धकेलिएको थियो । तर यस दिन पनि प्रतिपक्षीले विरोध जारी राखेपछि सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको हो ।
- सडकमा पनि कांग्रेस
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी ठगीको मुद्दा लिएर सडकमा पुगेको छ । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि संसदीय छानबिन समितिको माग राखी संसदमा आवाज उठाइरहेको कांग्रेस सडकमा पुगेको हो ।
- बजेट
युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा मुलपानी क्रिकेट एकेडेमीका लागि ५० करोड रुपैयाँ बजेट माग गरेको छ । पछिल्लो समय देशमा क्रिकेट नतिजामुखी खेलका रूपमा देखिएको र क्रिकेटको भौतिक पूर्वाधार कमजोर रहेकाले मुलपानी क्रिकेट एकेडेमीलाई प्राथमिकतामा राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।
- प्रहरीमा प्रतिस्पर्धा
नेपाल प्रहरीमा जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को ४ सिट रिक्त भएको छ । जेठ ४ मा बढुवा समितिले चार जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको थियो ।
- महालेखा प्रतिवेदन
महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम रायले आज राष्ट्रपति समक्ष ६१औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
- भुवन गिरी दोषी ठहर
जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन् ।
- तातो लहरको चेतावनी
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।
- नगरपालिका प्रमुखलाई पक्राउ गर्न आदेश
काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित दुई जना वडाध्यक्ष र एक वडा सदस्यलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको छ ।
- नयाँ मुख्यमन्त्री को ?
मधेस प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्ने अझै अनिश्चित देखिएको छ । केही समयअघि प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने चर्चा चलेको थियो । जनमत पार्टीबाट महेश यादव मुख्यमन्त्री बन्ने सहमति भएको कुरा पनि बाहिर आएको थियो ।
- बंगालको खाडीमा चक्रवात
बंगालको खाडीमा उत्पन्न ‘रेमल’ नामक शक्तिशाली चक्रवातको सामान्य असर नेपालमा पनि पर्ने मौसमविद्ले बताएका छन् । रेमल नामकरण गरिएको बंगालको खाडीको सो चक्रपातबाट नेपालको पूर्वी क्षेत्रमा सामान्य असर पर्ने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाका मौसमविद् निरु महर्जनले रातोपाटीलाई जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट