शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेशबाट सुरु भयो जापानमा घिउ निर्यात, निरन्तरता पाउला ?

वार्षिक ५० मेट्रिक टन जापान पठाइने सम्झौता
आइतबार, १३ जेठ २०८१, २० : २७
आइतबार, १३ जेठ २०८१

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको एक डेरी उद्योगले जापान घिउ निर्यात सुरु गरेको छ । प्रदेश सरकारले दूधजन्य वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि उक्त उद्योगले आफैँ बजार खोजेर जापानमा घिउ पठाउन लागेको हो ।

विराटनगर–१४ मा २०७६ साल फागुनमा स्थापना भएको सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग प्रालिले आइतबार एक कार्यक्रम गरी जापानतर्फ घिउ पठाएको हो । 

‘अहिले प्रतिमहिना ५ हजार किलो घिउको माग आएको छ,’ उद्योगका सञ्चालक मनोज यादवले भने, ‘अहिले चाहिँ ३ हजार किलो चिउरा, तीन हजार किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह पठाएका हौँ । अर्को महिनादेखि प्रतिमहिना ५–५ हजार किलो घिउ गरेर वार्षिक ५० मेट्रिक टन पठाउने सम्झौता गरेका छौं ।’

गत वर्ष दुधको अत्यधिक उत्पादन हुँदा उक्त उद्योगमा धूलो दुध अत्यधिक उत्पादन भएको थियो । धूलो दुध उत्पादनका क्रममा उक्त उद्योगमा अहिले पनि ७० हजार किलो अर्थात् ७ करोड रुपैयाँ मूल्यभन्दा बढीको माल स्टकमा छ । पूर्वका विभिन्न ९ वटा डेरी उद्योगहरुमा नौनी र धूलो दुधको स्टक अत्यधिक बढ्दा किसानले भुक्तानी पाउन नसकेको अवस्था थियो भने उद्योगहरू उत्पादित वस्तु नबिकेर हैरान बनेका थिए । 

Ghiu (2)

‘हामीसँग आजको दिनमा पनि ७० हजार किलो नौनी छ । नियमित उत्पादन पनि भइरहेको छ । त्यति हामीले उत्पादन गरेर नियमित दिन सक्छौँ भन्ने हाम्रो प्रतिबद्धता हो,’ महिनाको ५ हजार किलो जापान पठाउन सक्नुहुन्छ भन्ने प्रश्नमा यादवले भने, ‘अहिलेका लागि हामीले आन्तरिक डिमाण्ड बढेको खण्डमा पनि त्यसलाई रोकेले विदेश पठाउने सोच बनाएका छौँ । किनकि बाहिरको बजार दिगो बनाउनु आवश्यक छ ।’

विगतका दिनमा डीडीसीले जापानमा घिउ पठाउने गरेको थियो । तर, माग अनुसारको पठाउन नसक्दा उक्त सम्झौता रद्द भएको आफूले थाहा पाएको यादवले बताए । ‘त्यसबाट पाठ सिकेर भएपनि हामीले उहाँहरूको डिमाण्डलाई पुरा गर्ने हाम्रो प्रतिबद्धता गरेका छौँ,’ उनले भने, ‘हामीले सिजनमा उत्पादन भएको नौनिलाई स्टक गरेर भएपनि डिमाण्ड पुरा गर्न सक्छौँ । हाम्रो क्षमताभन्दा ५० प्रतिशत कम मात्रै पठाउन लागेका हौँ । उहाँहरूले कति पुर्‍याउनु हुन्छ भनेर प्रश्न गर्नुभएको थियो । हामीले जति दिनसके पनि लैजाने भन्नुभएको छ । तर, हामीले जतिसक्छौं त्यति मात्रै दिन्छौँ भनेका छौँ ।’

जापानमा रहेको पद्मा कर्पोरेसन लिमिटेड जापानसहित ६–७ वटा देशमा सामान निर्यात गरिरहेको कम्पनी हो । सोही कम्पनीसँग घिउ निर्यातको सहमति भएको यादवले बताए । ‘जापानमा हामीले नियमित घिउ पठाउन सक्यौँ भने बंगलादेश, न्यूजिल्याण्डमा पनि सोही संस्थाले बजार खोजिदिने भन्नुभएको छ,’ यादवले भने । 

आफ्नो डेरी उद्योगमा दूध, दही, घिउ, बटर पनिर गरेर २० हजार लिटर दैनिक प्रशोधन गर्ने क्षमता रहेको यादवले दाबी गरे । त्यसमध्ये अहिले पनि उक्त उद्योगले पाउडर प्लान्ट २४ घण्टै चलाएको छ । ‘बजारमा अहिले ५–६ हजार लिटर दुधको माग छ । तर, दुध कलेक्सन चाहिँ १३–१४ हजार लिटर भन्दा बढी छ,’ उनले भने । विगत वर्षको जस्तो दुध बढी नभए पनि कम पनि नभएको उनले बताए । 

Ghiu (1)

प्रदेश सरकारले उक्त उद्योग खोल्दा २ करोड अनुदान दिएको थियो । प्रदेश सरकारले अहिले विदेश निर्यात गरेको अवस्थामा प्रतिकिलो घिउमा १२०, नौनीमा ९० रुपैयाँ, होलमिल्क पाउडरमा ८० रुपैयाँ र स्किम मिल्क पाउडरको लागि ७० रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ । त्यसका लागि कृषि मन्त्रालयले ४ करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । 

‘प्रदेश सरकारले निर्यातमा अनुदान दिने गरी बजेट पनि ल्यायो । त्यही प्रेरणाको कारणले अहिले हामीले अन्तर्राष्ट्रिय बजारसम्म जान सक्ने भएका छौँ,’ यादवले भने । पदमा कर्पोरेसन लिमिटेडले सुरुमा सो कम्पनीका ३२ वटै आउटलेटमा नेपालको घिउ लिइदिन्छु भनेको यादवले सुनाए । त्यसको लागि सुरुमा ४ वटा प्रोडक्ट चिया, मह, चिउरा र घिउको माग गरे अनुसार आफूले खरिद गरेर ३ हजार किलो चिउरा, तीन हजार किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह पठाउन लागेको उनले बताए । 

यादवले विदेशी बजारमा प्रतिस्पर्धा गर्नका लागि उत्पादन लागत घटाउन आवश्यक भएकोमा जोड दिए । त्यसका लागि पनि प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनले बताए । ‘यहाँ उत्पादन लागत १५ हजार पर्ने सामान भारतमा ८ हजारमा पाउँछ । ७ हजारको फरक भएपछि खुल्ला नाका हामीले कन्ट्रोल गर्न सकेकै छैनौँ,’ यादवले भने, ‘३ डलरमा न्यूजिल्याण्डबाट बंगलादेशमा प्रतिकिलो पाउर आएको छ । यहाँबाट त त्यतिमा पठाउन सक्दैनौं । हाम्रो उत्पादन लागत नै बढी छ । घिउ पनि भारतमा ४ सय किलोमा घिउ पाउँछ । तर, यहाँ त्यतिमा उत्पादन गर्नै सकिँदैन । त्यसकारण उत्पादन लागत घटाउनका लागि सरकारले सहयोग गर्नुपर्छ ।’

कोशी प्रदेश कृषि मन्त्रालयका सचिव डा. लेखराज दाहालले प्रदेश सरकारले विगतमा गरेको लगानीको प्रतिफल देखिन थालेको बताए । ‘जनताको डिमाण्ड दूध उत्पादन र विविधिकरणमा ठुलो लगानी गरेको छ । त्यही कारण इलाम, झापा, मोरङ सुनसरीमा उत्पादन बढेको छ । पहाडमा छुर्पी बनाएर विदेश निर्यात गर्ने गरिएको छ । त्यहाँबाट पनि घिउ निस्किने र तराईमा पाउडर बनाउँदा पनि घिउ निस्कन्छ । त्यसलाई बजारीकरण गर्न ठुलो चुनौती देखिँदै आएको थियो । आज जापान घिउ पठाउने कुरा सुन्दा अत्यन्तै खुसी लागेको छ,’ दाहालले भने, ‘पाँचथरमा ३५ रुपैयाँ लिटरले किसानले दुध विक्री गरिरहेका छन् । यसरी विदेश निर्यात हुन थाल्यो भने किसानले दुधको मूल्य अझै पाउने अवस्था छ । दुध भनेको गाउँको चिज शहरमा आउने र पैसा गाउँमा जाने गर्दछ । यसको ठुलो महत्व छ ।’

Ghiu (5)

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले घिउ निर्यात गर्ने आफूहरूको सपना पुरा भएको भन्दै खुसी व्यक्त गरे । उनले नेपालमा दैनिक ६२ लाख लिटरदूध उत्पादन भएको र त्यसमध्ये ३१ लाख लिटर दुध बजारमा आउने गरेको । त्योमध्ये १७ प्रतिशत मात्रै औपचारिक रूपमा विक्री हुने र ३३ प्रतिशत अनौपचारिक रूपमा विक्री भइरहेको बताए । ‘दुधको बजारबाट दैनिक ६ करोड रुपैयाँ सहरबाट गाउँमा पैसा जान्छ । ६ लाख कृषक परिवारले रोजगार पाएको अवस्था छ । उद्योग क्षेत्रमा ४० हजारले रोजगार पाएका छन् । यस्तै निजी क्षेत्रमाका डेरी उद्योगहरूमा ४५ अर्ब भन्दाबढी लगानी भएको छ,’ उनले भने, ‘अहिले विदेशमा पनि बजार खोज्ने र पठाउने जुन काम भएको छ यो गौरव गर्न लायक छ ।’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घिउ निर्यात गर्ने कुरालाई प्रदेश सरकारले गौरवको रूपमा लिएको बताए । ‘यसलाई हामीले गौरवको रूपमा लिनुपर्छ । यसलाई गुणस्तर कायम गर्नु सबैभन्दा ठुलो कुरा छ । उत्पादनलाई निर्यात गर्न सहयोग गर्ने गरी बजेट निर्माणमा प्रदेश सरकारले सहयोग गर्छ,’ कार्कीले भने, ‘घिउ, चिउरा, चिया र मह निर्यात गर्ने जुन काम भएको छ । यो एकदमै राम्रो कुरा हो । घिउ, चिया र मह प्रदेशको पहिचान पनि हो । यसलाई अझै धेरै निर्यात गर्ने गरी जान सक्यौँ भने गरिबी निवारणमा पनि सहयोग पुग्ने देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप