मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
संसद् बैठक

संसद् बैठकमा देखिएका ५ रोचक दृश्य : कांग्रेसका पुरुषभन्दा महिला सांसद चर्का

आइतबार, १३ जेठ २०८१, २० : ०५
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बिच आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार मध्यान्न १२ बजे बसेको प्रतिनिधि सभाको बैठकमा अघिल्ला दिनमा झैँ गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको थियो । 

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीलाई बोल्न समय दिएका थिए । सांसद शाहीले आफ्नो दलकी सांसद गीता बस्नेतमाथि सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएकोमा आक्रोश व्यक्त गर्दै गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने बताए । लामिछाने प्रतिपक्षमा हुँदा सहकारीका विषयमा छानबिन समिति बनाउनुपर्छ भनेर माग गर्ने तर सरकारमा पुगेपछि भने फरक भएको कुराको विरोध गरे । 

पुरुष भन्दा महिला सांसद चर्का

congress sadan

एक घण्टा १० मिनेट चलेको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले नारा लगाइरह्यो । यसरी नारा भट्ट्याउने र साथ दिनेमा महिला सांसदहरू सक्रिय थिए । अघिल्ला दिनमा झैँ आइतबारको बैठकमा पनि संसद् अवरुद्ध गर्न कल्पना चौधरी सबैभन्दा पहिला दगुर्दै सभामुखको आसन अघि नारा लगाउन पुगेकी थिइन् । संसद्को पुरै समय चलेको नाराबाजीमा महिला सांसदहरूले मात्र भट्ट्याए भने भट्याउनेलाई साथ दिने महिला सांसदको आवाज चर्को सुनिएको थियो । पुरुष सांसदको आवाज मधुरो सुनिएको थियो । 

सभामुखको आसन अगाडि (बेल) घेराउ गर्नपनि सबैभन्दा पहिला महिला सांसदहरू नै दगुरेर पुगेका थिए । नाराबाजीमा पुरुष सांसदहरू सहभागी भएपनि महिला सांसदहरू अवरोधका लागि निकै सक्रिय देखिएका थिए । 

सत्तापक्षका सांसदहरू मिलेर अर्थमन्त्रीलाई रोष्टममा उकाले

pun

संसद् बैठकमा सभामुख घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेस गर्न समय दिए । त्यतिबेला कांग्रेस सांसदहरू नारावाजी गर्दैै बेल घेराउ गरिरहेका थिए । वर्षमान पुन रोष्टमतर्फ अघि बढ्दा कांग्रेस सांसदहरूले बाटो छेके । अर्थमन्त्रीलाई बाटो छेकेको देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले मन्त्री पुनलाई डोहोर्याएर रोष्टमतर्फ लैजान खोज्दा उनलाई पनि कांग्रेस सांसदले छेके । त्यसपछि सत्तापक्षका सांसदहरू जनार्दन शर्मा, अशिम शाह, माधव सापकोटा, महेन्द्रराय यादव लगायतका सांसदहरुदले घेरा हालेर मन्त्री पुनलाई रोष्टममा जाने बाटो तय गरे । कांग्रेसको नाराबाजीका बिच अर्थमन्त्रीले रोष्टमबाट आफ्ना भनाई राखे ।  

स्वर्णिमले बिपीको आदर्श सुनाएपछि कांग्रेसको होहल्ला 

swanm

विगतमा कांग्रेसका बौद्धिक नेतामा गनिने गरेका डा.स्वर्णिम वाग्ले यतिबेला रास्वपाको उपसभापति एवं सांसदको भूमिकामा छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि बोल्न समय पाएका वाग्ले रोष्टम पुग्नेवित्तिकै कांग्रेस सांसदहरूले होहल्ला सुरु गरे । 

सांसद वाग्लेले संसदीय छानबिन समिति बनिसकेको अवस्थामा कांग्रेसले गरिरहेको संसद् अवरुद्ध औचित्यहीन र कर्मकाण्डी विरोध रहेको टिप्पणी गरे । उनले बिपीको आदर्शलाई कांग्रेसले त्यागेको र संसदमा लज्जास्पद औचित्यहीन विरोध गरेको भनेपछि कांग्रेसका सांसदहरूमा आक्रोशको पारो बढेको देखिन्थ्यो । खासगरी महिला सांसदहरू वाग्ले बोल्दा नाराबाजी छाडेर ठुलो आवाजमा होहल्ला गर्न पुगेका थिए ।  

होहल्लाका बिच सांसद वाग्ले भने,‘६५ वर्ष अगाडि बिपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्याउनका लागि, यो लज्जास्पद औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ । संसद्को ओज गरिमा, उपादेयतालाई असान्दर्भिक बनाउने हो कि समाधान गर्ने हो ? ७४ लाख बचतकर्ताको समस्या समाधान उन्मुख हुने हो कि व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउने हो । संसदीय छानबिन समिति बनिसकेको छ, यो औचित्यहीन कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन ।’

सरकारको नीति तथा कार्यक्रममाथि नबोली राजनीतिक विषयमा प्रवेश गरेपछि सभामुख घिमिरेले उनलाई विषय केन्द्रित हुन पटकपटक सम्झाएका थिए । 

५ मिनेट समय पाएका चित्रबहादुर ३० सेकेन्ड मात्र बोले 

chitra kc

विगतमा शान्तिपूर्ण रूपमा बैठक सञ्चालन भइरहेका बेला बोल्नका लागि ३ मिनेट समय पाउने गरेका राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीलाई नीति तथा कार्यक्रममा राखेको संशोधन प्रस्तावमाथि बोल्न सभामुखले ५ मिनेट दिएका थिए । उनी अघिल्ला बैठकमा साना दल भनेर संसदमा हेपिएको र ३ मिनेटमा के बोल्ने भन्दै कटाक्ष गर्ने गर्दथे । तर आइतबारको बैठकमा भने उनले जम्मा ३० सेकेन्ड मात्र बोले र माइक राखेर कुर्सीमा नबसी उभिइराखे । 

सो क्रममा सांसद केसीले सहकारी ठगी प्रकरणका व्यक्तिलाई जोगाउन सत्ता पक्षले षडयन्त्र गरेको र यो लोकतन्त्र, गणतन्त्रमाथिको आक्रमण भएको बताउँदै नीति तथा कार्यक्रमको विरोध गर्ने बताएका थिए । 

संशोधन प्रस्ताव प्रस्तुत गर्ने एकमात्र सांसद–प्रेम सुवाल 

prem swal

अघिल्लो वर्ष आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गरेका थिए । तर यो वर्ष संसद्को नियमित कार्यक्रम प्रभावित भएका कारण राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवाल गरी जम्मा २ वटामात्र संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

सांसद सुवालले होहल्लाकै बिच आफूले राखेको संशोधन प्रस्ताव वाचन गरेर सुनाएका थिए । उक्त संशोधन प्रस्ताव फिर्ता लिन सभामुखले समय दिँदा दुवै सांसदले फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ पेस गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । 

सभामुख घिमिरेले यही जेठ १५ गते दिउँसो १ बजे आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको र त्यसका लागि पौने १ बजेभित्र संसद् भवनमा आइसक्न सांसदहरूलाई आग्रह गरेका छन् । 

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १५ गते अगाडिसम्म राजनीतिक सहमति गरेर बजेट सहज रूपमा संसदमा प्रस्तुत गर्ने वातावरणका लागि आफूले पहल गरिरहेको बताएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप