सडकमा पुगेर कांग्रेसले खोजेको समाधान
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी ठगीको मुद्दा लिएर सडकमा पुगेको छ । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि संसदीय छानबिन समितिको माग राखी संसदमा आवाज उठाइरहेको कांग्रेस सडकमा पुगेको हो ।
आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा ‘सत्ताको बलमिचाइँ र सहकारी ठगीविरूद्ध’को नारा दिएर विरोध प्रदर्शनको खुला सभा गरेको छ । काठमाडौँका १०, ललितपुरका ३ र भक्तपुरका २ निर्वाचन क्षेत्रबाट मान्छे भेला गराएर सरकारविरुद्ध कांग्रेसले भव्य विरोध सभा गर्यो । विरोध सभालाई सम्बोधन गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले सडकमा कांग्रेस आउनुको कारण खुलाए । ‘संसदमा सरकारको भूमिका बलजफती भयो । विश्वासको मत लिन २१ दिन बाँकी छदै मार्सल लगाएर लिएको विश्वासको मतको ओज रह्यो भन्ने मान्दैनौँ । त्यसैले प्रधानमन्त्रीलाई विनम्रता पढाउन र संयम बुझाउनका लागि प्रदर्शनी मार्गमा उपस्थिति भएका छौँ,’ उनले भने ।
सहकारी ठगीबारे सत्ता पक्षको झुटको बारेमा तथ्य राख्नका लागि सत्यको विवरण सार्वजनिक गर्न सडकमा पुगेको महामन्त्री शर्माको भनाइ छ । ‘आज यो देशमा झुटले सत्यको लुगा लगाएर गृह मन्त्रालय लगायत धेरै ठाउँमा रनवन चाहरिरहेको अवस्था छ । झुट अघि–अघि लागिराखेपछि सत्य बताउन आवश्यक भयो,’ उनी भन्छन्, ‘त्यसैले कांग्रेस आज प्रदर्शनी मार्गमा सत्य बताउन समाजका सामुन्ने आएर उभिएको छ ।’
सहकारी ठगीमा सत्ता पक्षले प्रचार गरेको झुटको छानबिन गर्न संसदीय समिति चाहिएको शर्मा बताउँछन् । ‘गृहमन्त्रीजी प्रमाण गर्ने सक्ने ठाउँमा हुनुहुन्छ । त्यसैले हामीले भन्यो संसदीय छानबिन समिति चाहिन्छ । तर, संसदीय छानबिन समिति चाहिँदैन भनेर एमाले अध्यक्ष केपी शर्मा बोल्नु भयो,’ उनले भने ।
ओलीले रविको बचाउ गर्नुका चार कारण
विरोध खुला सभामा करिब एक घण्टा लामो भाषण गरेका महामन्त्री शर्मा सत्ताको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिए । सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेको बचाउमा गरिरहेका ओली सहकारीमा ठगिएका श्रमजीवी नागरिकको विपक्षमा उभिएको शर्माको आरोप थियो । गृहमन्त्री लाछिमानेलाई कारबाहीको दायरामा ल्याउने गरी छानबिन समिति बनाउन ओली तयार नहुनुका चार कारण रहेको उनको भनाइ छ ।
शर्माका अनुसार लामिछानेको ओलीले बचाउन गर्नुको पहिलो कारण सत्ताको गणित हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार टिकाउन लामिछाने नेतृत्वको रास्वपाको साथ आवश्यक रहन्छ । संसदमा रास्वपाका २१ सांसद छन् । ‘रास्वपासँग जे गणित छ । अहिलेको सरकार बनाउनका लागि र टिकाउनका लागि उहाँ ९ओली० आवश्यक देख्नुहुन्छ । यहाँ लोकतन्त्रको होइन संख्यातन्त्रको प्रश्न छ,’ शर्माले भने, ‘त्यसैले ओलीजी रवि लामिछाने दण्डित हुने खालको छानबिन समिति बनाउन तयार हुनुहुन्न ।’
शर्माका अनुसार दोस्रो कारणमा गृहमन्त्री लामिछानेलाई जोगाउने बहानामा सहकारी ठग्ने आफ्ना कार्यकर्ता पङ्क्तिलाई संरक्षण गर्ने ओलीको ध्येय छ । ‘सहकारी प्रकरणमा जोडिएको एमालेका नेता–कार्यकर्ता जोगाउन खोजेर एमालेलाई नै बदनाम बनाउन केपी ओली उद्यत हुनुहुन्छ । दोष, आरोप र गाली रवि लामिछानेको भागमा थुपारिदिएर एमालेका सहकारी ठगको रक्षा गरिराख्नु भएको छ,’ उनले भने ।
तेस्रो कारणमा सहकारी प्रकरणमा लामिछानेलाई साथ दिने र गिरीबन्धु चिया बगानमा प्रकरणमा लामिछानेको साथ लिनेमा ओली रणनीति रहेको शर्मा बताउँछन् । ओली नेतृत्वको सरकारले २०७८ असार १३ गते झापाको गिरिबन्धु चिया बगानको जग्गा सट्टापट्टाका लागि नीतिगत निर्णय गरेको थियो ।
उक्त निर्णय बदनीयतपूर्ण रहेको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेपछि ओलीमाथि नीतिगत भ्रष्टाचारको आरोप लागेको छ ।
लामिछानेको बचाउमा ओली उत्रिनुको चौथो कारण दीर्घकालीन रहेको शर्माले सुनाए । ‘त्यो मिसन ०८४ सँग सम्बन्धित छ । चुनावको चिन्ता गरेर नेकपा एमाले र रास्वपाले मिसन ०८४ घोषणा गरेका छन्,’ उनी भन्छन्, ‘मिसन ०८४ घोषणा गर्ने नयाँ दललाई हामी पुरानोको कमजोरीभन्दा पनि ठुलो कमजोरीको दलदलमा धसाई दिऔँ । उस ९रास्वपा०लाई यसरी खुइल्याउँदै लैजाऊँ ०८४ सम्म उभिन सक्ने अवस्था नबनोस् ।’
गतिरोधको निकास
सम्बोधनको अन्तिममा महामन्त्री शर्मा अहिलेको गतिरोध अन्त्यका लागि सत्ता पक्ष चार कुरामा तयार हुनुपर्ने बताउँछन् ।
‘सरकार अनुदार व्यवहारबाट सच्चिनुपर्छ। अहिलेको सरकार अनुदार शैलीमा छ । संसदमा जुन ढंगले प्रस्तुत भएको छ, सरकारले यो शैलीलाई बदल्नुपर्छ र अनुदार शैलीलाई सरकारले सच्याउनुपर्छ,’उनले भने ।
गतिरोध अन्त्यका लागि प्रधानमन्त्री गठबन्धनको छाया बन्ने अवस्थाबाट मुक्त हुनुपर्छ’ भन्ने शर्माको दोस्रो कुरा छ । ‘प्रधानमन्त्रीजीले प्रतिपक्षीलाई आरोप लगाउने, सहकारीबन्धु गठबन्धनमा छाया बन्नेजस्तो दुब्लो अवस्थाबाट मुक्त बन्नुपर्छ,’ शर्माले भने, ‘सहकारीबन्धु गठबन्धनमा प्रधानमन्त्रीको अस्तित्व खोज्न चाहन्छु । गृहमन्त्रीको व्यतव्यको खण्डन गर्दै हिँड्नुपरेको छ । मलमलको रेशमी पिजडाभित्र बसिरहेको बालुवाटारमा देखिरहेको छु । प्रधानमन्त्रीको पद सान्दार छ । तर प्रधानमन्त्रीको पद सान्दार होइन दमबादर हो ।’
तेस्रो समाधान सभामुख देवराज घिमिरेसँग सम्बन्धित रहेको उनको भनाइ छ । ‘सभामुखबाट पदीय गरिमा र मर्यादाको पालना भएको छैन, सभामुख रिमोट कन्ट्रोलबाट मुक्त हुनुपर्छ,’ उनले भने । प्रमुख प्रतिपक्षीलाई बोल्न समय माग पनि सभामुखले नदिएको भन्दै कांग्रेस असन्तुष्ट छ । साथै सदनमा कुनै एक दल विशेषको आग्रहका आधारमा सभामुख चलेको कांग्रेस नेताहरूको आरोप छ । शर्माले सभामुखबाट सदनको गरिमा र मर्यादा कायम हुन नसकेको बताए । सरकारले संसदमा गर्ने व्यवहार रहेर प्रदर्शनलाई सातै प्रदर्शनमा लिने निधो गर्ने उनको भनाइ थियो ।
चौथो भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित विषय रहेको शर्मा बताउँछन् । ‘सहकारी ठगीमा मुछिएका गृहमन्त्रीमाथि गहिरो ढंगबाट संसदीय छानबिन हुनुपर्छ,’ शर्माले भने, ‘यति भयो भने मात्र अहिलेको समस्या समाधानतर्फ जान्छ ।’ सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे प्रश्नको भन्दै संसदीय समिति बन्दा नाम तोकेरै बन्नुपर्नेमा उनको तर्क थियो । गृहमन्त्री लामिछानेमाथि निष्पक्ष, इमानदार र गहिरो ढंगले छानबिन हुनुपर्ने शर्माको भनाइ छ ।
विरोध प्रदर्शनमा सम्बोधन गर्दै महामन्त्री शर्मा जस्तै बागमती प्रदेश सभापति, काठमाडौँ, ललितपुर र भक्तपुरको पार्टी नेतृत्व पनि ओली र लामिछानेमाथि खनिएका थिए । प्रदर्शनमा पार्टीका अन्य शीर्ष नेता सहभागी भएपनि सम्बोधन भने महामन्त्री शर्माले मात्र गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिक्न छाडे ठेका र मदानी
-
अध्यादेशबाट कति उत्साहित छन् रियल स्टेट व्यवसायी ?
-
फ्लोरेन्टिनो पेरेज थप चार वर्ष रियल म्याड्रिडको अध्यक्ष
-
ट्रम्पद्वारा अमेरिकालाई डब्ल्यूएचओबाट अलग्याउने आदेश जारी
-
बेलायतमा छायाङ्कन गरिएको कौडा गीत ‘सोल्टीनी सोल्टीज्यू’ सार्वजनिक
-
घरजग्गा व्यवसायको अन्योलमा अध्यादेशको सहजीकरण