मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेशसभा बैठक साेमबार तीन बजे सम्मका लागि स्थगित

आइतबार, १३ जेठ २०८१, १८ : १७
आइतबार, १३ जेठ २०८१

सुर्खेत। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरुद्ध पश्चात् आधा घण्टाका लागि स्थगित भएको कर्णाली प्रदेश सभा बैठक सूचना टाँस गरेर भोलिका लागि सारिएको छ। सत्ता साझेदार दल र प्रतिपक्षबिच सहमति हुन नसक्दा बैठक बस्न नसकेको हो ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सोमबार तीन बजे बस्ने गरी बैठक स्थगित गरिएको रातोपाटीलाई जानकारी दिए । आज बसेको बजेट अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष दलले रातो किताबमा उल्लेखित भई सभाबाट पारित भएका १५ लाख मुनिका योजनाहरू कार्यान्वयन गर्नुपर्ने माग राख्दै सदन अवरुद्ध गरेको हो ।

०८० असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग १५ लाख मुनिका योजनाहरू कार्यान्वयन नगर्ने भनेर सम्झौता भएको थियो । यस्तै सडक र भवनतर्फ ३० लाख मुनिका योजना कार्यान्वयन नगर्ने निर्णय भएको थियो । अहिले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा उक्त प्रकृतिका ५७४ वटा योजनाहरू छन् ।

गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले १५ लाख मुनिकालाई १५ लाख पुर्‍याएर र ३० लाख मुनिका सडक तथा भवनका योजनामा ३० लाख रकम पुर्‍याइ कार्यान्वयनमा लैजाने‌ निर्णय भएको थियो ।

असारमा प्रतिपक्ष दलसँग सम्झौता गर्दा पनि सोही‌ अनुसार गर्ने भनेर उल्लेख गरिएको थियो । तर बजेट थप गरेर कार्यान्वयनमा लैजान एकातिर बजेट अभाव भएको र कर्मचारीले खाका नबनाउँदा अहिलेसम्म पनि ती योजनाबारे अन्यौलता कायम छ।

मुख्यमन्त्रीको रूपमा यामलाल कँडेल आएसँगै ती योजनाहरूमा हात नहाल्न भन्दै मन्त्रीहरूलाई निर्देशन दिएका छन्। कांग्रेसले ती योजना जसरी हुन्छ कार्यान्वयन गर्नुपर्ने बताएको छ। कांग्रेस सांसद सुरेश अधिकारी र प्रमुख सचेतक हिक्मत विष्टले ती योजना कार्यान्वयन गर्नुपर्ने बताउँदै संसद् अवरुद्ध गरेको हो । 

यद्यपि यो विषयमा कांग्रेसको पनि कमजोरी देखिएको छ। तत्कालीन अवस्थामा कांग्रेस सांसद बेदराज सिंह नै अर्थमन्त्री थिए भने उनी गत फागुन २२ गते मात्रै मन्त्रालयबाट बाहिरिएका थिए । कांग्रेस सत्तामै रहेका बेलासम योजना कार्यान्वयनबारे खासै चासो नदिएको कांग्रेसले अहिले सरकारलाई असफल पार्नका लागि हतियार बनाउन खोजेको सत्तारुढ दलका सांसदहरू बताउँछन्।

शनिवार अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य, प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेका थिए । आजदेखि ‘प्रि–बजेट’ छलफल हुने कार्यसूची थियो । यद्यपि पहिलो दिनमै कांग्रेसले बैठक अवरुद्ध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप