शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सरकार बदलाको भावनामा गए लोकतन्त्र नष्ट हुन्छ :  सिटौला

आइतबार, १३ जेठ २०८१, १३ : २५
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार बदलाको भावनामा गएको बताएका छन् । आइतबार परिवर्तन अभियान नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सिटौलाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशय राखेर पक्राउ गरिएको बताए ।

‘सहकारी ठगीको विषयमा समाचार लेखेको लेख्यै गर्‍यो । कान्तिपुरका  कैलाश सिरोहियालाई पक्राउ परेर थुनामा हुनुहुन्छ । पक्राउ गर्ने तरिका, पक्रेको तरिका, लगेको तरिका, थुनामा राखेको तरिकाको मूल्याङ्कन मैले गरेको छु । दुराशय बाहेक केही छैन । गृहमन्त्रीलाई झोक चल्यो । आफ्नै कार्यकर्ता पठाएर मुद्दा हाल्न लगाउनु भयो,’ उनले भने । 

प्रहरीले सिरोहियालाई पक्राउ गर्न पाउ भनेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको उनको भनाइ छ । ‘यस्तो केसमा अदालतको आदेशका पक्राउ गरियो भन्न मिल्दैन । कानुनको दुराशयपूर्ण तरिकाले प्रयोग गरिनु हुँदैन । यस्तो गर्दा कहाँ जान्छ लोकतन्त्र ? प्रेसको मुख बन्द गर्नु भनेको जनताको आवाज बन्द गर्नु हो । सरकार बदलाको भावनामा गयो । बदला लोकतन्त्रको विपरीत कुरा हो । दुराशयले लोकतन्त्रलाई नष्ट गर्छ ,’ सिटौलाले भने ।

अहिले प्रतिपक्षले सहकारी ठगीबारे संसदमा जनताको आवाज बुलन्द गरिरहेको बताए । ‘गृहमन्त्रीले संसदको रोष्टममा उभिएर असंसदीय कुरा बोलेको उनको भनाइ छ । संसदीय व्यवस्थामा सत्ताले जनताको हितामा काम गर्ने हो । प्रतिपक्षले जनताको हितमा काम गर है भनेर भन्ने हो,’ उनले भने, ‘प्रतिपक्षले सहकारी बचतकर्तामाथि अन्याय भयो । त्यसको छानबिन गरे भनेको हो । जनताको आवाज प्रतिपक्षले निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले जनताको कुरा उठाएन । प्रतिपक्ष सिद्धियो । जनताको पक्षमा काम गरेन सरकार सिद्धियो । सरकारले प्रतिपक्षको आवाजलाई सम्बोधन गर्नुपर्छ ।’

सरकारले पेलेरै जान चाहेको हो भने आफूहरू प्रतिकार गर्न तयार रहेको सिटौलाको भनाइ थियो । ‘नेपाली कांग्रेस सहेर बस्न सक्दैन । जनतामाथि यत्रो अन्याय हुँदा कांग्रेसले कुरा उठाएको हो । सहकारी ठगीमा प्रहरीले कसरी छानबिन गर्न सक्छ आफ्नै गृहमन्त्रीमाथि ? प्रश्न यत्ति त हो  । त्यसैले संसदीय छानबिन समिति बनायौँ । संसदीय समितिले सुझाव राख्ने हो, अभियोजन गर्ने होइन,’ उनले भने ,‘संसदमा उठेको कुरालाई प्राथमिकतामा राखेर अन्य सहकारीमाथि पनि छानविज गरौं । कुनै पार्टी र नेताकाप्रति पूर्वाग्रह राख्दैनौँ । हामी सबैलाई साथमा लिएर देश बनाउँछौँ भन्ने हाम्रो विश्वास हो ।’

यस्तै उनले तीन वर्षभित्रमा संविधान कार्यान्वयनमाथि समीक्षा गर्नुपर्ने बताए । ‘त्यसपछि हामी एक पटक संविधान, कानुन पुनरावलोकन गर्न पनि तयार हौँ । हामीले संविधान हाम्रा लागि होइन जनताका लागि ल्याएको हो । कांग्रेस र कम्युनिस्टहरू आफ्ना लागि जन्मिएका होइनन्  । तर आज नेता आफ्नो स्वार्थमा लाग्दा समस्या उब्जिएको छ,’ उनले भने ।

परिवर्तन अभियान नेपालका सभापति सुशील भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्रलाई बलियो बनाउन सबै गणतन्त्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप