शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
खेलकुदमा बजेट

खेलकुद मन्त्रालयद्वारा प्रस्तावित बजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकता, यस्तो छ मन्त्रालयबाट प्रस्तावित बजेट

आइतबार, १३ जेठ २०८१, १२ : ३०
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा मुलपानी क्रिकेट एकेडेमीका लागि ५० करोड रुपैयाँ बजेट माग गरेको छ । पछिल्लो समय देशमा क्रिकेट नतिजामुखी खेलका रूपमा देखिएको र क्रिकेटको भौतिक पूर्वाधार कमजोर रहेकाले मुलपानी क्रिकेट एकेडेमीलाई प्राथमिकतामा राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

आफू मातहतका निकायलाई विभिन्न शीर्षकमा बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव पेश गर्ने मन्त्रालयको निर्णयमा खेलकुदका भौतिक पूर्वाधारलाई बढी प्राथमिकता दिइएको छ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट र डिजिटल स्कोर बोर्ड जडानका लागि २० करोड रुपैयाँ बजेट माग गरिएको छ ।

मन्त्रालयले मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाका लागि १० करोड, पोखरा क्रिकेट स्डेडियमका लागि एक करोड पाँच लाख, कोहलपुर क्रिकेट रङ्गशाला र महिला क्रिकेट एकेडेमी निर्माणका लागि एक करोड पाँच लाख, धनगढी प्रादेशिक रङ्गशाला र कभर्डहल निर्माण तथा मर्मतका लागि एक करोड पाँच लाख रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको छ ।

यसैगरी मन्त्रालयले खेलकुद विज्ञान प्रयोगशाला स्पापनाका लागि तीन करोड, त्रिपुरेश्वरमा बहुउद्देश्यीय कभर्डहल स्तरोन्नति तथा सबलीकरणका लागि तीन करोड, सातदोबाटोमा खेलाडी फिटनेस सामाग्री खरिदका लागि तीन करोड र पोखरा रङ्गशाला स्तरोन्नतिका लागि एक करोड पाँच लाख बजेट प्रस्ताव गरेको छ ।

मन्त्रालयले दशरथ रङ्गशाला, सातदोबाटो खेलकुद परिसर र लैनचौर कभर्डहल मर्मतका लागि एक करोड पाँच लाख, बर्दिवास र भंगाहलगायतका खेलकुद आयोजनाको डीपीआर र एनिमेसन तयार पार्न दुई करोड तथा खेलकुदका अन्य पूर्वाधार मर्मत–सम्भारका लागि एक करोड ५९ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

यसैगरी प्रदेश सरकारबाट कार्यान्वयन गरिने आयोजनाहरूतर्फ जुम्लाको पातारासी हाईअल्टिच्यूट तालिम केन्द्र निर्माणका लागि चार करोड तथा दोलखाको सैलुङमा तेक्वान्दो हाईलल्टिच्यूट कभर्डहल निर्माणका लागि तीन करोड बजेट प्रस्ताव गरिएको छ ।

खेलकुद मन्त्रालयले स्थानीय तहमा सशर्त अनुदान प्रदान गरिने आयोजनातर्फ गोरखाको पालुङ्टारमा पालुङ्टार रङ्गशाला निर्माणका लागि एक करोड पाँच लाख, गुल्मीको घ्यूवेसी रुरु गाउँपालिमा घ्यूवेसी क्रिकेट मैदान निर्माणका लागि एक करोड ५० लाख, सुनसरीको इटहरी रङ्गशाला स्तरोन्नतिका लागि एक करोड पाँच लाख तथा धादिङको धुनिवेशी खेलमैदान निर्माणका लागि एक रोड ५० लाख बजेट प्रस्ताव गरिएको छ ।

यसैगरी रुपन्देहीको देवदहमा सहिद नरबहादुर नेपाली खेलमैदानका लागि एक करोड पाँच लाख, काठमाडौँको दक्षिणकालीमा फर्पिङ खेलमैदान स्तरोन्नतिका लागि एक करोड ५० लाख, चुनिखेल कभर्डहलको निर्माण कार्य सम्पन्न गर्न एक करोड पाँच लाख, मुस्ताङको ठिनी खेलमैदान निर्माण गर्न एक करोड पाँच लाख, गुल्मीको चारपाला खेलमैदान निर्माण गर्न एक करोड पाँच लाख तथा रौतहटको चन्द्रपुरमा महिला फुटबल एकेडेमीको पूर्वाधार निर्माणका लागि एक करोड पाँच लाख बजेट प्रस्ताव गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

खेलकुद मन्त्रालयले सिन्धुपाल्चोकमा सुनकोशी फुटबल मैदान निर्माणका लागि एक करोड पाँच लाख, लम्जुङको बेशीसहरमा सहजी खेलमैदान निर्माणका लागि एक करोड पाँच लाख, रामेछापको सुनापातीमा राष्ट्रिय स्मृति कभर्डहल निर्माणका लागि एक करोड पाँच लाख, कपिलवस्तुमा कपिलवस्तु रङ्गशाला निर्माणका लागि एक करोड पाँच लाख तथा शंखुवासभाको खाँदबारीमा हिमालय मावि खेलमैदान निर्माणका लागि एक करोड पाँच लाख बजेट माग गरेको छ ।

यसैगरी यसै वर्ष आयोजना हुने परिस ओलम्पिक र पारा ओलम्पिक सहभागिताका लागि ९० लाख, थाइल्यान्डमा आयोजना हुने छैटौँ एसियन इन्डोर मार्सल आर्टस गेम्सको तयारी र सहभागिताका लागि दुई करोड, काभा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आयोजनाका लागि ५० लाख, काभा महिला राष्ट्रिय लिग भलिबल आयोजनाका लागि ५० लाख तथा मिसन–२०२६ विशेष प्रशिक्षणका लागि दुई करोड ५० लाख बजेट प्रस्ताव गरिएको छ ।

मन्त्रालयले एसियाली ई स्पोर्टस प्रतियोगिताका लागि ५० लाख, मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता आयोजनाका लागि २० लाख, राष्ट्रिय दिवस तथा पर्वहरूमा सञ्चालन गरिने कार्यक्रमका लागि पाँच लाख, खेलाडी आजीवन भत्ताका लागि आठ लाख, नेपाल कराँत महासंघद्वारा आयोजित प्रतियोगिताका लागि ३० लाख तथा पोखरा, नेपालगन्ज र काठमाडौँ म्याराथनका लागि १५ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद्को नियमावली, निर्देशिका र कार्यविधि निर्माणका लागि पाँच लाख, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित खेलाडी सम्मान कार्यक्रमका लागि १० लाख, खेलकुद पत्रकार मञ्चद्वारा आयोजित वर्ष खेलाडी अवार्ड कार्यक्रमका लागि १० लाख, सुनापाती शैलुङ अल्ट्रा म्याराथन प्रतियोगिताका लागि १० लाख, खेलकुद दिवस आयोजनाका लागि पाँच लाख तथा सेवा निवृत्त कर्मचारी, खेलाडी र प्रशिक्षक सम्मान कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

खेलकुद मन्त्रालयले राष्ट्रिय पुरुष लिग प्रतियोगिता आयोजनाका लागि १५ लाख, अन्तर्राष्ट्रिय तालिम आयोजना र सहभागिताका लागि २५ लाख, महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजनाका लागि ५० लाख, खेलकुद संस्था र क्लबहरूलाई प्रतियोगिता सञ्चालनका लागि २५ लाख, अन्तर्राष्ट्रिय पदकको सम्भावना बोकेका खेलको विदेशी प्रशिक्षकका लागि २० लाख तथा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि २० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

यसैगरी प्रधानमन्त्री कप पुरुष तथा महिला राष्ट्रिय लिग भलिबल प्रतियोगिता आयोजनाका लागि ४० लाख, खेलकुद चिकित्सा केन्द्रका लागि ३० लाख, प्रतिभावान खेलाडी पहिचान कार्यक्रमका लागि १० लाख, खेलाडी तन्दुरुस्ती परीक्षणका लागि १० लाख, प्रशिक्षक पुनर्ताजगी कार्यक्रमका लागि पाँच लाख, मोफसलमा आयोजना हुने १० वटा राष्ट्रियस्तरका भलिबल प्रतियोगितामा अनुदानका लागि २० लाख तथा खेलकुदका गतिविधि प्रचार प्रसारका लागि १५ लाख रुपैयाँ बजेट माग गरिएको छ ।

मन्त्रालयले ट्यालेन्टहन्ट कार्यक्रम सञ्चालन, प्रशिक्षण र छात्रवृत्तिका लागि ६० लाख, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट आयोजनाका लागि ४० लाख, ओलम्पियन खेलाडी भत्ताका लागि ५० लाख, १० वटा साहसिक तथा पर्वतीय खेलकुद विकास र प्रतियोगिता आयोजनाका लागि २० लाख, दुई सय ४७ जना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई मासिक भत्ताका लागि एक करोड ७८ लाख तथा राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताका लागि एक करोड ५० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

यसैगरी २५ वटा राष्ट्रिय संघलाई कार्यक्रम सञ्चालनका लागि दुई करोड, रग्बी प्रतियोगिता आयोजनाका लागि ४० लाख, राष्ट्रियस्तरका खेलाडी सहुलियत परिचयपत्रका लागि पाँच लाख, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र प्रशिक्षणका लागि खेल सामाग्री खरिद गर्न एक करोड १० लाख, रुकुममा मौराखारा म्याराथन आयोजना गर्न १० लाख, गोरखामा लिगलिग दौड आयोजनाका लागि १५ लाख, जुम्ला–रारा म्याराथनका लागि १५ लाख, स्पोर्टस कनक्लेभ कार्यक्रमका लागि २० लाख बजेट प्रस्ताव गरिएको छ ।

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजनाका लागि पाँच लाख, युवा गल्फ कार्यक्रम सञ्चालनका लागि २० लाख, राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका आयोजनाका लागि १५ लाख, राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजनाका लागि १५ लाख, पारा तेक्वान्दो प्रशिक्षण र प्रतियोगिताका लागि १५ लाख, राष्ट्रिय साइक्लिङ प्रतियोगिताका लागि पाँच लाख, यू–१४ विद्यालय खेलकुदका लागि एक करोड ५० लाख, खेलकुद दशक तयारी तथा घोषणका लागि ४० लाख, राष्ट्रियस्तरका खेलाडी दुर्घटना बिमाका लागि ५० लाख तथा खेलाडी प्रोत्साहन कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

यसैगरी राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि २० लाख, राष्ट्रिय फेन्सिङ प्रतियोगिताका लागि १० लाख, राष्ट्रिय खोखो प्रतियोगिताका लागि १० लाख, राष्ट्रिय कबड्डी प्रतियोगिताका लागि २० लाख, राष्ट्रिय जिमन्याष्टिक प्रतियोगिताका लागि २० लाख, राष्ट्रिय ह्यान्डबल प्रतियोगिताका लागि २० लाख, राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि २० लाख, राष्ट्रिय हाप्किडो प्रतियोगिताका लागि १० लाख तथा क्रिकेटको राष्ट्रिय प्रतिभा खोजी कार्यक्रमका लागि १७ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

यसका अतिरिक्त यसै वर्ष आयोजना हुने वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भने छुट्टै बजेट माग गरिने मन्त्रालय स्रोतले जनाएको छ । वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता पहिलो पटक कर्णाली प्रदेशमा आयोजना हुँदै छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप