बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

नेपाल रत्न तथा आभूषण संघविरुद्धको मुद्दा न्यायाधीशद्वय ढुंगाना र श्रेष्ठको इजलासमा

आइतबार, १३ जेठ २०८१, ११ : २५
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघविरुद्ध दायर मुद्दाको सुनुवाइ न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ । ब्यु हर्श ज्वेलर्सको तर्फबाट निकेश गुप्ताले संघसहित ६ जनालाई विपक्षी बनाएर गत वैशाख २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए । 

अन्तरिम आदेश प्रयोजनका लागि जेठ ७ गते पनि पेशी तोकिएको मुद्दा हेर्न सो दिन हेर्न नभ्याइनेमा परेकामा आइतबार पनि पेशी पुछारतिर रहेकाले हेर्न नभ्याइनेमा पर्ने सम्भावना बढी  छ । 

रिटमा संघले कारबाहीको नाममा सुन नदिएर आफ्नो  सम्पत्तिको हक लगायत कम्पनीको उद्देश्य अनुरुप व्यापार गर्न पाउने र सुनुवाई तथा प्रतिरक्षाको र मौलिक हक कुण्ठित गरिएको उल्लेख छ ।  

विपक्षीहरुको कार्यबाट संविधानको धारा १७ (च) ले संरक्षित गरेको निवेदकको संवैधानिक हक तथा प्रतिरक्षाको हक समेतबाट विमुख वनाइएकाले उक्त निर्णय उत्प्रेषणको आदेशबाट वदर गर्न माग गरिएको छ ।  साथै व्यवसाय सञ्चालन गर्न खपतको अनुपातमा नियमित तथा “क” वर्गको वैंक मार्फत एलसी खोली वैध प्रक्रियाबाट सुन आयात गरी व्यवसाय सञ्चालन गर्न दिनु भनि परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गर्न माग गरिएको छ । 

यस्तै संघको निर्णय तत्काल कार्यन्वयन नगर्नु नगराउनु र प्रस्तुत मुद्दाको किनारा नभए सम्मका लागि कम्पनीबाट कानुन बमोजिम विक्री हुने अनुपातमा आवश्यक पर्ने सुन कानुन बमोजिमको वैध प्रक्रियाबाट निवेदकलाई सुन आयात गर्न दिन अन्तरिम आदेशको माग गरिएको छ । 

संघभित्रको बेथितिको विषय लगातार उठाउँदा संघका उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले आफूलाई साधारण सदस्यसमेत नरहने गरी संस्थापन पक्षले कारबाहीको घोषणा गरेको र सोही कारण देखाउँदै आफ्नो संलग्नता रहेको ब्यु हर्शसहितका कम्पनीलाई सुन नदिइएको जिकिर गर्दै आएका छन् । 

यसैबीच आइतबार संघले एक सार्वजनिक सूचना जारी गर्दै गुप्ताले विभिन्न सार्वजनिक सञ्चारमाध्यममार्फत संघविरुद्ध लगाएका आरोपहरुबारे प्रष्टीकरण दिएको छ । गुप्ताले भने अदालतमा विचाराधीन मुद्दा रहेकाले  संघको प्रष्टीकरणबारे केही प्रतिक्रिया दिन नचाहेकाे बताए । 

यद्यपि आफू समग्र सुनचाँदी व्यवसायीको हकहितका लागि लडिरहेको भन्दै उनले संघमा रहेको सिन्डिकेट  चिर्न जरुरी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप