शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
कलाकार

पहिलोपटक ‘करोड क्लब’ मा पुग्ने लोकगायक राजन गुरुङ

एउटै गीतले युट्युबबाट ५० लाख रुपैयाँ कमायो
आइतबार, १३ जेठ २०८१, ११ : ०७
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । लोक गायक राजन गुरुङले जीवनमा थोरै तर गुणस्तरीय गीत गाए । जति गीतमा उनले स्वर भरे, ती सबै सुपर हिट छन् । 

उनले स्वर भरेका गीत नेपाली दर्शक तथा श्रोताहरूको मन–मनमा बसेका छन् । ‘उही खोलीमा पानी’, ‘साँझको बेला’, ‘मै जन्मेको घान्द्रुक गाउँ’, ‘आकाशै माथि’, ‘बेसीमा गौ, लेकैमा जौ’, ‘सम्झना बिर्सना’, सबै गीत सुपर हिट छन् ।

WhatsApp Image 2024-04-28 at 10.46.37_79c0ef17

गुरुङका गीतमा गाउँघरको जनजीवन, संस्कृति, मौलिक भाका, माया प्रेम समेटिएको हुन्छ । आफू चर्चाका लागि भन्दा पनि खुसी र आत्मसन्तुष्टिका लागि गाउने गायक भएको उनी बताउँछन् । २०६१ सालमा साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका राजनले रेकर्ड गरेको पहिलो गीत थियो, पारी शीतल बनैमा, पिरती लगाउने धोको मनैमा ।

  • करोड क्लबमा ‘उही खोलीमा पानी’

लोक गायक राजन गुरुङले स्वर भरेका गीतहरू युट्युबमा लाखौँ श्रोता तथा दर्शकहरूले हेरेका छन् । त्यो मध्ये सबैभन्दा सुपर हिट गीत हो, ‘उही खोलीमा पानी’ । सन् २०१६ को १५ नोभेम्बरमा युट्युबमा अपलोड भएको यो गीतले हालसम्म साढे २ करोड ५० लाख ४४ हजारभन्दा बढी भ्युज पाएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा पहिलो पटक करोड क्लबमा परेर राजनकै गीतले रेकर्ड राख्यो । 

आफ्नो गीत करोड क्लबमा परेपछि राजनले विशेष रूपमा सेलिब्रेट गरे । उनले लोकप्रिय गायक प्रेमराज महतलगायत राष्ट्रिय लोक तथा लोक दोहोरी प्रतिष्ठान मस्यौदा समितिको विधान मस्यौदा संयोजक हरिप्रसाद न्यौपानेलाई निम्तो दिएर विशेष कार्यक्रमको आयोजना नै गरे । 

‘उही खोलीमा पानी’ गीतको लय सिर्जना गरेबापत बसन्त थापालाई ५५ हजार ५ सय ५५, म्युजिक एरेन्जर आशिष अविरललाई १० हजार, गायिका देवी घर्तीलाई १५ हजार, नृत्यबापत करिश्मा ढकाल र रश्मि तामाङ १० हजार रुपैयाँ खुसीले थमाए । र, गीतको शब्द सिर्जना गर्ने केशव पौडेललाई सम्मान प्रदान गरियो । 

राजनले ‘उही खोलीमा पानी’ बोलको एउटै गीतले युट्युबबाट ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको दाबी गरे । प्रोत्साहन स्वरूप आफ्नो टिमका सबैलाई उनले केही रकम बाँडे । ‘उहाँहरू पनि खुसी हुनुपर्‍यो, म मात्र रमाएर भएन नि,’ उनी भन्छन् । यस गीतमा उनको लगानी ४ लाख रुपैयाँ थियो । उनलाई चिनाएको र हिट बनाएको यसै गीतले हो । देश, विदेश भ्रमण गर्न पाएको यही गीतले हो । यति भएर पनि उनलाई आफू चर्चित गायक हो भन्ने घमण्ड, लोभ, लालच कहिल्यै भएन । र, अझै छैन । 

राजनलाई अन्य गायक गायिकाहरूबाट गीत गाउनका लागि प्रस्ताव आए पनि उनले चित्त नबुझ्दासम्म गाएनन् । उनले जस्तो पायो त्यस्तै गीत गाउँदैनन् । छानेर, मनपर्‍यो भने मात्र गाउने गर्छन् । पहिला–पहिला गीत संगीतमा रोयल्टी भन्ने हुँदैनथ्यो । अहिले युट्युबबाट कमाई हुन्छ । स्टेज कार्यक्रम पायो भने त्यहाँबाट पनि कमाई हुन्छ । 

WhatsApp Image 2024-04-26 at 17.22.59_0a75844d

फिल्म बनाउनतिर लाग्नु भएन ? राजनलाई सोधियो ।

‘सोच छ ।’ उनी भन्छन्, ‘तर, अलि पछि बनाउँछु ।’ 

उनी जीवनप्रति प्रष्ट र सन्तुष्ट छन् । उनको कोहीसँग प्रतिस्पर्धा छैन । मेरो प्रतिस्पर्धी अरू कोहीसँग छैन । आफ्नो प्रतिस्पर्धा आफैसँग हो । उनी भन्छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो परिवार रहेछ । बाहिरका सम्बन्धहरू स्वार्थमा बढी चल्छन् ।’ उनले थपे ‘पैसा र फेक मानिस एउटै–एउटै लाग्छन् ।’  

  • राजनको विदेश यात्रा

गायक राजनले हालसम्म जापान, कोरिया, अस्ट्रेलिया, बेलायत, कतार, मलेसिया लगायतका देश घुमिसके । साङ्गीतिक कार्यक्रमका सिलसिलामा उनी पहिलो पटक सन् २०१७ मा बेलायत पुगेका थिए । दोस्रो पटक सन् २०१९ मा बेलायत पुगेका उनी यति बेला साङ्गीतिक कार्यक्रमकै सिलसिलामा बेलायतमै छन् । 

WhatsApp Image 2024-04-28 at 10.45.32_156ce7fa

घुमेका मध्ये सबैभन्दा सफा देश जापान लाग्यो । कोरियन फुडको स्वाद जिब्रोमै झुन्डिएको छ । बस्नका लागि भने बेलायत आनन्द लाग्यो ।

स्वदेशमा सिन्धुली, हेटौँडा, फापरबारी, मकवानपुर, दोलखा, चरिकोट पश्चिम नेपालगञ्ज, डोटी, डडेलधुरा सुर्खेत, रोल्पा, दाङ, धनगढी, पोखरा र बागलुङ जिल्लामा राजनले पाइला टेकेका छन् । घुमेका मध्ये उनलाई सबैभन्दा राम्रो आफ्नै गाउँ घान्द्रुक लाग्यो । अझै पुग्न मन लागेका थुप्रै ठाउँहरू छन् । मनको कुनामा उनले सगरमाथा चढ्ने इच्छा पनि पालेका छन् ।

  • कास्कीको घान्द्रुकबाट नवलपुर बसाइसराइ

राजनको पुर्ख्यौली घर कास्कीको घान्द्रुक हो । उनी भने नवलपुरमै जन्मे । नवलपुर नै उनको कर्मथलो बन्यो । नवलपुरमा धान, गहुँ, मकै बार्है मास उब्जनी हुन्थ्यो । खेतीपाती राम्रो हुन्थ्यो । त्यही सम्भाबना देखेर उनका पुर्खा कास्कीबाट नवलपुर बसाई सरेका थिए । 

  • १९ मै लभ म्यारिज 

राजनले १९ वर्षको उमेरमा प्रेम विवाह गरे । उनी अझै ती दिनहरू सम्झिएर भावुक बनिदिन्छन् । ती दिनहरूमा साइकल चढेर रोधी बस्न जाने चलन थियो । नवलपुरमै उनको विवाह भयो । 

अहिले पहिला जस्तो रोधी बस्ने चलन छैन । उनको मनबाट सम्झनाहरू पनि धुमिल हुँदै गइसके । उनका ठुला छोरा अजनले बीए पास गरिसके, कान्छो छोरा प्रज्वलले प्लस टु पास गरे । उनका २ छोरी छन् । प्रजिना र सुरजिना ।

WhatsApp Image 2024-05-19 at 11.37.12_7d1f1226

  • खेलकुदमा रुचि

राजन कुनै बेला एस के क्लबका सदस्य थिए । खेलकुद, सांस्कृतिक गतिविधिहरू पनि उनले सञ्चालन गरियो । नवलपुर फुटबल क्लबको स्ट्राइकर हुन् उनी । अहिले पनि खेल्छु । जिल्लास्तरीयमा कराँतेको ब्ल्याकबेल्ट हुन् । तेक्वान्दोका टु डान हुन् । उनी स्नुकर पनि खेल्छन् । फुटबलमा त धेरै पटक जितेका छन् । खेलकुदमा स्कुलदेखि नै रुचि थियो । एथ्लेटिक्समा पनि रुचि थियो । उनले सिकाएका गुभीराम घले हाल तेक्वान्दोका नेपालको राष्ट्रिय प्रशिक्षक छन् । 

  • राजनको भावि योजना 

लोक गायक राजनका घर परिवारलाई समय दिन चाहन्छन् । अझै मौलिक र राम्रा गीतहरू ल्याउने उनको रहर छ । अबको वर्ष गुरुङ भाषाका गीत बजारमा ल्याउने उनको सोच छ । यस्तै पर्यटन र कृषिमा समर्पित भएर लाग्ने उनको रहर छ । आफ्नै क्षेत्र नवलपुरलाई पर्यटकीय केन्द्र बनाउने उनको सपना छ । कति पूरा होलान्, नहोलान्, त्यो आफ्नो ठाउँमा छ । तर, उनको कोसिस जारी रहनेछ । 

राजनमा विदेश उति मोह छैन । नेपालमै बस्ने, केही व्यवसाय गर्ने उनको लक्ष्य छ । हामी जस्तो युवा बिदेसिनु देश कमजोर हुनु हो भन्ने उनको ठम्याई छ । अमेरिका गएको भए धेरै पहिले गइसक्थेँ । विदेश जाने अवसर पाएर पनि उनले त्यागिदिए । 

उनलाई नवलपुरबाट काठमाडौँ आउन खासै मन लाग्दैन । गाउँलेको माया, प्रेमले सबै कुरा भुलाइदिन्छ । गाउँको हरियालीले लोभ्याउँछ । गाउँमा अक्सिजनको मात्र पर्याप्त छ । सहरमा धुलो र धुवाँले दिक्क बनाउँछ । राजनलाई सहर भन्दा गाउँ नै प्यारो छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप