बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

इङ्गल्यान्डसँग २३ रनले हार्‍यो पाकिस्तान

आइतबार, १३ जेठ २०८१, १० : ०७
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । पाकिस्तानविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली इङ्गल्यान्ड २३ रनले विजयी भएको छ । जितसँगै चार खेलको शृङ्खलामा इङ्गल्यान्डले १–० को अग्रता पनि लिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्गल्यान्डले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने १९।२ ओभरमा अलआउट हुनुअघि एक सय ६० रनमात्र बनाउन सक्यो ।

इङ्गल्यान्डको जितमा कप्तान जस बट्लरले ८४ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान बट्लरले केवल ५१ बलको सामना गरी तीन छक्का र आठवटा चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान विल ज्याक्सले पनि टोलीको खातामा ३७ रन थपे । 

जोनी बेयरस्टोले २१ रन बनाए भने ओपनर ब्याट्सम्यान फिल साल्ट १३ रन जोडे । लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका जोफ्रा आर्चरले अविजित १२ रन बटुले । पाकिस्तानका बलर साहिन शाह अफ्रिदीले तीन विकेट लिए । ईमाद वसिम र ह्यारिस रौफले दुई–दुई विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको पाकिस्तानका लागि फाखर जामनले सर्वाधिक ४५ रन बनाए । कप्तान बाबर आजमले पनि ३२ रन जोडे । ईफ्तिखार अहमदले २३ र ईमान वसिमले २२ रन बटुले । इङ्गल्यान्डका बलर रिसे टप्लीले तीन तथा मोइन अली र जोफ्रा आर्चरले दुई–दुई विकेट हात पारे । 

क्रिस जोर्डन, अदिल रसिद र लियाम लिभिङस्टोनले एक–एक विकेट लिए । इङ्गल्यान्डका बट्लर प्लेयर अफ दी म्याच घोषित भए । टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । शृङ्खलाको पहिलो खेल रद्द भएको थियो । तेस्रो खेल मंगलबार खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप