बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

खस्कियो वैदेशिक व्यापार, मुख्य व्यापारिक नाकाबाट कति घट्यो आयात ?

आइतबार, १३ जेठ २०८१, ०६ : ५७
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार निरन्तर खस्कँदो अवस्थामा छ । चालू आर्थिक वर्ष २०८०-८१ को साउनदेखि वैशाख महिनासम्मको अवधिमा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले खुम्चिएको छ ।

आर्थिक वर्ष २०७८-७९ मा कीर्तिमानी १९ खर्ब २० अर्बको वस्तु भित्रिएको थियो । त्यसयता निरन्तर आयात खुम्चँदो छ । सो आर्थिक वर्षमा नेपालको आयात २४.७२ प्रतिशतले बढेको थियो । यस्तै निर्यात ४१.७४ प्रतिशतले बढेर २ खर्बमाथि पुगेको थियो ।

त्यसयता आर्थिक वर्ष २०७९÷८० मा आयात १६.०८ प्रतिशतले खुम्चियो । उक्त आर्थिक वर्षमा नेपालको आयात १९ खर्ब २० अर्बबाट खुम्चिएर १६ खर्ब ११ अर्ब रुपैयाँमा आइपुगेको थियो । यो पनि नेपालको स्वाभाविक आयातको तुलनामा अत्यधिक नै थियो ।

सर्वाधिक वस्तु आयातको कीर्तिमानी अवस्थाबाट निरन्तर घट्दो अवस्थामा रहेको आयात चालू वर्षमा पनि घटिरहेको छ । चालू वर्षको १० महिनाको अवधिसम्ममा २.३९ प्रतिशतले आयात खुम्चिएको छ । यस अवधिसम्ममा १३ खर्ब ३ अर्बको आयात भएको छ ।

समग्र आयात घटेपछि व्यापारिक नाकाबाट हुने आयात स्वभाविक रुपमा घट्ने नै भयो । सबैभन्दा ठूलो व्यापारिक नाकाकारुपमा लिइने वीरगन्जबाट समेत आयात उल्लेख्य रूपमा घटेको छ । यो नाकाबाट अघिल्लो वर्षको १० महिनाको तुलनामा ४७ अर्ब ३४ करोडले आयात घटेको छ ।

यसबाहेक देशका सबैजसो व्यापारिक नाकाबाट आयात खुम्चेको छ । विराटनगर नाकाबाट १७ अर्ब ६९ करोडले आयात खुम्चेको छ । गत वर्षको १० महिनाको अवधिमा यो नाकाबाट १ खर्ब ५६ अर्ब ३८ करोड रुपैयाँको आयात भएको थियो । जुन, यो वर्षको सोही अवधिमा १ खर्ब ३८ अर्ब ६९ करोड रुपैयाँको मात्रै आयात भएको छ ।

यस्तै भैरहवा नाकाबाट हुने आयात २ अर्ब ४ करोडले खुम्चेको छ । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब ९८ अर्ब ८५ करोड रुपैयाँको आयात भएकोमा चालू वर्षको सोही अवधिमा १ खर्ब ९६ अर्ब ८१ करोड रुपैयाँको आयात भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ ।

चालू वर्षको १० महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा कूल २९ वटा नाकाको प्रयोग भएको छ । यसमध्ये मुख्य व्यापारिक नाका अर्थात खर्बभन्दा बढीको आयात हुने नाकाबाट गत आर्थिक वर्ष र चालू वर्षको १० महिनाको अवधिको आयात तुलना गरिएको छ ।

यी ५ नाकाबाट यस अवधिमा साढे ११ खर्ब रुपैयाँ बराबरको आयात  भएकाे छ । अन्य २४ नाकाबाट झन्डै डेढ खर्ब रुपैयाँको मात्रै आयात हुने गरेको छ ।

कुन नाकाको आयात घट्यो ?

5353

स्रोत – भन्सार विभाग

यी मुख्य नाकामध्ये सुख्खा बन्दरगाह बाहेक सबैजसो भन्सारबाट हुने आयातमा उल्लेख्य गिरावट देखिएको छ । सुख्खा बन्दरगाहबाट हुने आयात भने ५ अर्बले बढेको छ । अघिल्ला आर्थिक वर्षको १० महिनामा १ खर्ब ६७ अर्ब रुपैयाँको आयात भएकोमा चालू वर्षको सोही अवधिमा १ खर्ब ७२ अर्बको आयात भएको हो ।

यसबाहेक सबैजसो भन्सारको आयात घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको आयात १४ अर्बले खुम्चिएको छ । वीरगञ्जको आयात ४५ अर्बले घट्दा विराटनगरबाट हुने आयात १८ अर्बले घटेको छ । यस्तै भैरहवा भन्सार कार्यालयबाट हुने आयात २ अर्बले घटेको तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप