शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
कला

फलामे थैलीभित्र ढुङ्गाको कथा

शनिबार, १२ जेठ २०८१, २० : ५०
शनिबार, १२ जेठ २०८१

लाजिम्पाटस्थित ‘तक्पा कला ग्यालरी’मा यही २० अप्रिलदेखि ५ मेसम्म भुवन थापा ‘बहुवी’को ‘अर्थभित्रको अर्थ’ (मिनिङ विथइन् मिनिङ) नामक तेस्रो एकल कला प्रदर्शनी भयो । 

फरक विचार, फरक रूप र प्रस्तुतिमा देखापरेका उनका कामलाई भावकले अनौठो रूपमा थोरै रोमाञ्चित भएरै अवलोकन गरेका थिए । कला मात्र फरक ढङ्गबाट देखापरेका थिएनन्, विचार अनि कलागत दर्शन पनि फरक ढङ्गबाट आएका थिए । 

बाङ्गाटिङ्गा काठका टुक्रा र बन्द वा खुला ढुङ्गाका थुप्रालाई किसिम–किसिमबाट संयोजन गरिएको परिदृश्य यस कला प्रदर्शनीमा देख्न सकिन्थ्यो । अधिकांश कला कुनै न कुनै रूपमा फलामको परिधिभित्र वा फलामे थैलीभित्र अनेका रूपमा झुन्डिएका देखिन्थे । अलि परबाट हेर्दा कीरा–फट्याङ्ग्रा भित्ताभरि सलबलाएजस्तो देखिन्थ्यो ।

यो कला प्रदर्शनीमा प्रकृति, मेटालिक फर्म र आइडिया (विचार)लाई कसरी मिश्रण वा संयोजन गरिएको छ भन्ने अवलोकन गर्न सकिन्थ्यो । सग्ला ढुङ्गाले धातुसँग जोडिएर मूर्तिको रूप धारण गर्दा र भित्तातिर झुन्डिँदा अस्वाभाविकजस्तो लागे पनि मान्छे अवाक् भएर अवलोकन गरिरहेका थिए । यही नै यस कला प्रदर्शनीको सार्थक पक्ष रह्यो । यसर्थ पनि यो प्रदर्शनी नितान्त फरक ढङ्गबाट देखापरेको मान्नैपर्छ । 

Messenger_creation_9fb081e2-738f-4cff-921d-9a12465e61f8

  • को हुन् भुवन ? 

मूलतः भुवन ९० को दशकमा उदाएर स्थापित भएका आधुनिक मूर्तिकार हुन् । हरेकजसो मूर्तिकला प्रदर्शनी वा वर्कसपमा उनको सक्रिय सहभागिता देखिन्छ । आधुनिक मूर्तिकलाको एक मात्र संस्था ‘आरम्भ’को पूर्वअध्यक्ष उनी नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ बनिसकेका छन् । सरल स्वभावका भुवन सयौँ विद्यार्थीका मनपर्ने गुरु समेत हुन् । आफ्नो काममा निमग्न भएर लाग्ने समसामयिक मूर्तिकार भुवनले ‘इन्स्टलेसन’ पनि गर्छन्; यसर्थ उनलाई यी दुवैको समिश्रणका रूपमा हेर्ने गरिन्छ । 

यतिखेर नेपाली समसामयिक कलामा उनी सक्रिय, अब्बल र वैकल्पिक कला बनाउने मूर्तिकारका रूपमा चिनिन्छन् । उनका कलाबारे थुप्रै आलेख सार्वजनिक भइसकेका छन् । पश्चिम गुल्मीबाट काठमाडौँ छिरेका भुवन राम्रा कवि पनि हुन् । 

  • कामको स्वभाव 

अलि गहिरिएर अवलोकन गर्दा उनका काम स्थायी स्वभावका देखिन्छन् । यद्यपि उनको काम इन्स्टलेसन नै हो । वस्तुलाई प्रयोग गरी कला बनाएर प्रदर्शन गरिसकेपछि त्यसलाई भत्काइन्छ अर्थात् त्यस कलामा प्रयोग भएका वस्तुको पुनः प्रयोग गर्न सकिन्छ, यही नै ‘इन्स्टलेसन आर्ट’को मूल विशेषता हो । उनका कलामा भने पुनव्र्याख्या, कलात्मकता, संस्कार र संस्कृति आदिको समिश्रण देखिन्छ । यसर्थ उनको काममा मूर्ति अनि इन्स्टलेसनको समिश्रणले नौलो आकर्षण पैदा गरेको अनुभूत हुन्छ । 

प्रयोगात्मक काम बढी मात्रामा गर्ने उनको कलागत स्वभाव छ । यसो हुँदा उनका मूर्ति आफैँ पनि इन्स्टलेसन स्वभावमा बढी देखिन्छन् । प्राकृतिक वा मान्छे निर्मित वस्तु उनको कलाका पात्र भएर देखिन्छन् । यसो हुँदा उनको काममा इन्स्टलेसन जोडिन पुगेको छ । 

3 Bhuwan SirRabindra pic

  • यसपल्टका कला 

काम लाग्दैन भनेर फालिएका ढुङ्गा, सुके–डढेका काठका टुक्रा नै उनका यसपालिका कलाका मुख्य पात्र बन्न पुगेका छन् । यही वस्तुलाई कलाको रूप दिई जीवन्त पार्नु उनको ध्येय देखिन्छ । 

यसपल्ट उनले ढुङ्गाहरूलाई बन्दक बनाएजस्तो वा संरक्षणका लागि सुरक्षा दिएजस्तो पारेर कला प्रस्तुत गरेका छन् । प्रदर्शन कक्षको चारैतिरका भित्तामा यस्ता स–साना अनगिन्ती कलाले ठाउँ पाएका छन् । भुइँमा ‘पेड स्टल’माथि बसेका पृथक् ढाँचा र स्वरूपका आठवटा मूर्तिलाई स्थापित गरिएको छ । यस्तै चारवटा वस्तुलाई कृति वा कलाका रूपमा फलामे बारले बेरेर थुनेको दृश्य देखिन्छ । काठमा ढुङ्गा अड्याई त्यसलाई ठुलो गोलाकार रिङमा झुन्ड्याएर एउटा कला सिर्जना गरिएको छ । 

कलात्मक फलामका रड वा पाताले बेरिएका वा घेरिएका ढुङ्गा भित्ताभरि झुन्डिएको देख्दा थोरै अस्वाभाविक लाग्छ । सौन्दर्यको कसीमा घोटी हेर्दा यी कलाले गहिरो भाव बोकेको आभास हुन्छ । 

कतिपय कला स–साना छन्, ठुलोे भित्तामा सुहाएको जस्तो पनि देखिँदैनन्; मिनिएचर कला पनि होइनन् । यी कलाबारे उनी भन्छन्, ‘यी कलामा मोनुमेन्टालिटीका झलक छन् ।’ अर्थात् उनले कुनै ठुला कलाको सानो रूप सोचेका रहेछन् । ‘मोनुमेन्टालिटी’ उनको यसपल्टको अर्को प्रखर रूपमा देखापरेको कन्सेप्ट हो । भविष्यमा यी साना कलाकै विशाल रूपसँग पनि व्यक्तिको अचानक साक्षात्कार हुन सक्छ भन्ने उनको कल्पना रहेछ । 

यसपल्ट उनले आफ्ना कलामा ‘हेड, हर्ट अनि ह्यान्ड’लाई जोडेका छन् । यसलाई उनी यसरी अथ्र्याउँछन्— हेड अर्थात् विचार, हर्ट भनेको भावना अनि ह्यान्ड भनेको सीप, शिल्प–दक्षता हो । उनका कलामा टाउका र मुटुका आकृति समेत देख्न सकिन्छ । 

438299604_2311819415695305_3944400454196148345_n

पहिले नेपाली कलामा शिल्प दक्षताको बोलबाला थियो । यसैले कलाकारलाई शिल्पी भनिन्थ्यो । बिचमा भावना वा अभिव्यञ्जनाको कुरा आयो, हामीले यसलाई कलामा आधुनिक काल आएको भन्न थाल्यौँ । यसपछि कलामा विचारको कुरा आयो; अर्थात् सामाजिक र राजनीतिक मुद्दा पनि कलामा आउनुपर्छ भन्यौँ । भुवनका कलामा पुराना परम्परा, इतिहाससँगै मानिसका आन्तरिक भावना, पीडा र आकांक्षा उत्रिएको आभास हुन्छ । 

यसपल्ट उनको कला ‘ड्युरेबल’ (टिकाउ) र ‘पोर्टेबल’ (अन्यत्र लैजान मिल्ने) अवधारणामा आएका छन् । सामान्यतः इन्स्टलेसन कला तुरुन्तै भत्किने वा भत्काउनुपर्ने खालका हुन्छन् । यस्ता कलालाई पनि बचाइराख्ने अभ्यास विकसित राष्ट्रमा भइरहेका छन् । 

भुवनका यी कला लामो समय रहने खालका छन् । यी कलालाई अन्यत्र लैजान पनि सकिन्छ ।

  • कलागत अवधारणा 

यसपल्टको कलामा उनको वैचारिक आवेग खरो रूपमा आएको देखिन्छ । उनी भन्छन्, ‘वरिपरिका वस्तुगत अवयवहरूको आत्मपरक व्याख्या–विश्लेषण नै मेरो काममा आएका छन् । मेरा विचार, अनुभव र अनुभूति मेरा कलामा सलबलाइरहेका हुन्छन् । मेरा कलालाई यसरी नै अवलोकन गरिदिन भावकसँग मेरो आग्रह पनि छ ।’ 

केयु (काठमाडौँ युनिभर्सिटी)को कला सङ्कायमा गत १९–२० वर्षदेखि प्राध्यापनरत भुवन गहन अवधारणासँगै प्राविधिक सौन्दर्यलाई अनुशासित रूपमा प्रयोग गर्ने कलाकारमा गनिन्छन् । उनको कलामा प्रकृतिसँगको आलिङ्गन देखिन्छ । उनका कलामा यथार्थ र नैसर्गिक विम्ब छन्, यद्यपि समष्टिमा उनका कला अमूर्तनमा देखापर्छन् । उनले कलामा प्रयोग गर्ने ढुङ्गा कडा छन् तर समष्टिमा उनका कला नरम छन् । ढुङ्गाको कोमलतालाई उनको कलामा महसुस गर्न सकिन्छ । 

438230679_10233661055171834_1879049549085282364_n (1)

नदी किनार, गोरेटो, घोरेटो, सडकतिर फालिएका ढुङ्गा बटुल्ने उनको बच्चैदेखि बानी हो । राम्रो लागेका गोलाकार र चिल्ला ढुङ्गालाई घरभरि थुपार्दै गए, खै किन हो थाहा छैन । 

थाहा नभएरै आफू प्रकृतिसँग नजिक हुन खोजेको उनलाई बिस्तारै महसुस हुन थाल्यो । प्राकृतिक वस्तुहरूको सौन्दर्य–मूल्य (एस्थेटिक्स भ्यालु) कायम राख्न पनि उनले यी र यस्तै वस्तु आफूसँगै राख्न खोजेका रहेछन् । 

हरेक कुराको आ–आफ्नै भ्यालु (मूल्य) हुन्छ भन्नेमा विश्वस्त भएरै उनले फरक विचारका साथ कला निर्माण गरेका छन् । 

  • भुवनको कला यात्रा 

उनको पहिलो एकल कला प्रदर्शनी सन् २०१६ मा आर्ट काउन्सिलमा भएको थियो, ‘सेल्फ रिअलाइजेसन’ नाममा । जहाँ काठका ढङ्ग–बेढङ्गका टुक्रा प्रदर्शन कक्षको सिलिङमा झुन्डिएका जस्ता देखिन्थे । 

प्रदर्शन कक्षभित्र ठुुुल्ठुला फलामका खम्बा बनाई यसमाथि कलालाई झुन्ड्याइएको थियो, जुन अद्भुत अनि रोमाञ्चित देखिन्थ्यो । कलालाई झुुन्ड्याउने शैलीलाई उनले यसपालि पनि छाडेनन् । यसपालिका उनका कला केही न केहीमा झुन्डिएका देखिन्छन् । 

सन् २०२० मा दोस्रो सोलो प्रदर्शनी गरे, ‘नेचर एन्ड आर्ट’ नामक दिएर । त्यतिबेला उनले गुल्मीको सत्यवती गाउँको खुला चौरमा बाँसको रुखका हाँगामै डोको बुनेर प्रदर्शन गरेका थिए । 

उनका कलामा प्राकृतिक ढुङ्गा, काठ जोडिन आजबाट सुरु भएको होइन; यसको यात्रा लामो र निरन्तर छ । झन्डै १५ वर्षअघि उनले दाउरा र सिसा मिसाएर ‘मे यु एन्ड आई वेयर सेम बिफोर वी वेन्ट डाउन’ नामको कला बनाएका थिए । यस्तै, स–साना ढुङ्गा भरिएका १२ वटा बोतललाई मोटो फलामे रडले बाँधी ‘इन्टर लिङ्केज’ नाम दिएर अर्को कला बनाएका थिए । 

केही वर्षअघि तारागाउँ म्युजियम परिसरमा बाहिरबाट तार बाँधी तयार भएको ठुलो घडामा बग्रेल्ती ठुला–साना ढुङ्गा राखेर उनले कला बनाएका थिए । यही नै उनको ‘ड्युरेबल कन्सेप्ट’को सुरुवात थियो । 

उनका यी सबै काम इन्स्टलेसन नै हुन् तर म यसलाई ‘पार्टिसेपेटरी इन्स्टलेसन’ भन्न रुचाउँछु । उनको काम वा सोच ‘इन्स्टलेसन–कन्सेप्ट’ भन्दा अझ अगाडि बढेको छ भन्दा अतिशयोक्ति हुँदैन । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप