शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
साहित्य

नर्मदेश्वरी सत्यालका १२ कविताकृतिको अन्तर्वस्तु र शिल्प

शनिबार, १२ जेठ २०८१, १८ : २०
शनिबार, १२ जेठ २०८१

समकालीन नेपाली वाङ्मयका फाँटमा कविता, बालकविता, निबन्ध, समीक्षा लगायत विधामा निकै सक्रियताका साथ कलम चलाउँदै आएकी नर्मदेश्वरी सत्याल (२०१२, सङ्खुवासभा) जीवनका अनेकौँ उतारचढावसँग पौँठेजोरी खेल्दै र विषम परिस्थितिसँग सङ्घर्ष गरी सार्थक जीवन बिताउँदै आएकी स्रष्टा हुन् । 

सामाजिक रूपान्तरण भन्ने कुरा घर–परिवारबाटै सुरु गर्नुपर्छ अनि मात्र असल समाजको स्थापना गर्न सकिन्छ भन्ने सकारात्मक सोचका साथ सिर्जनाकर्ममा यिनी लागिपरेकी छन् । नेपाली विषयमा एमए र शिक्षाशास्त्रमा एमएड गरी शिक्षण पेसामा रही ३५ वर्ष लामो सेवाको अनुभव सँगालेकी यी स्रष्टा दर्जनौँ साहित्यिक, सामाजिक, राजनीतिक सङ्घसंस्थमा आबद्ध रहेकी छन् । विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै डेढ दर्जनभन्दा बढी सम्मान एवं पुरस्कारद्वारा पुरस्कृत र सम्मानित भइसकेकी सत्यालका आमाछोरी (कविता संग्रह संयुक्त प्रकाशन, २०५८), छुनुमुनु छुनुमुनु (बालकविता संग्रह– २०६१), नयाँ नेपालको चित्र (गद्य कविता संग्रह), काकाकुल सहरमा रोएको आत्मा (निबन्ध संग्रह २०६३), भूमिका र समीक्षा (२०७६), जीवेन्द्र गिरीको जीवनी व्यक्तित्व र कृतित्व (२०७८) प्रकाशित भएका छन् भने यिनका विविध विधाका थुप्रै कृति प्रकाशोन्मुख अवस्थामा रहेका छन् । 

यसरी विविध विधामा निकै सक्रियताका साथ कलम चलाउँदै आएकी सत्यालले थुप्रै कृति र पत्रपत्रिकाको समेत सम्पादन गरेकी छन् । हाल सेवानिवृत्त जीवन बिताइरहेकी र साहित्य साधनामा निरन्तर लागेकी यी नारी स्रष्टाले आफ्ना रचनाका माध्यमबाट प्रगतिशील विचारलाई सम्प्रेषण गर्दै आएकी छन् । 

अविरल जनसाहित्य यात्रा अन्तर्गत कवि सत्यालबाट बाह्रवटा प्रतिनिधि कविता वाचन गरिएका थिए– १) विवाहअघि र पछि । २) आमा हुँ । ३) समता फुलाऊ । ४) प्रतिफल र भावना ।  ५) यो राष्ट्र हामी भरौँ । ६) बालहत्या । ७) सफल गुरु बनेर । ८) आमा । ९) लोडसेडिङ । १०) मेरी छोरी । ११) नयाँ नेपालको चित्र र १२) आपसी सद्भाव शीर्षकका कविताका बारे यो लेख अन्तर्वस्तु र कविताले आत्मसात् गरेका शिल्पका बारे अनुशीलन गरिएको छ । 

२) कविताहरूको अन्तर्वस्तु

अविरल जनसाहित्य यात्रा शृङ्खलामा वाचित फुटकर कवितामा विविध विषयवस्तु प्रयोग गरिएको छ । प्रेम, जीवन, देशभक्ति, मातृप्रेम, पारिवारिक सद्भाव, नारी जागरण आदिलाई मुख्य विषय बनाई प्रस्तुत गरिएका थिए भने यिनै विषयअन्तर्गत थुप्रै सहायक विषय पनि समेटिएका छन् । 

विषय छनोटका दृष्टिले व्यापक रूपमा दृष्टिगत गर्दा जीवन सौन्दर्य, पारिवारिक सौन्दर्य, प्रणय सौन्दर्य, दाम्पत्य जीवनका राग र विरह तथा आनन्द, राष्ट्रियता र देशभक्ति, माटोप्रतिको प्रेम, सामाजिक असङ्गति र विकृति, ह्रासोन्मुख हुँदै गएका मूल्य–मान्यता, जीवनगत लक्ष्य आदिलाई यहाँ प्रस्तुत कवितामा विषयवस्तुका रहेको पाउन सकिन्छ । सारमा भन्दा विषयगत विविधता यहाँ प्रस्तुत कविताहरूको विषय छनोटको विशेषता मान्न सकिन्छ । 

सामाजिक रूपान्तरण भन्ने कुरा घर–परिवारबाटै सुरु गर्नुपर्छ अनि मात्र असल समाजको स्थापना गर्न सकिन्छ भन्ने सकारात्मक सोचका साथ सिर्जनाकर्ममा यिनी लागिपरेकी छन् । नेपाली विषयमा एमए र शिक्षाशास्त्रमा एमएड गरी शिक्षण पेसामा रही ३५ वर्ष लामो सेवाको अनुभव सँगालेकी यी स्रष्टा दर्जनौँ साहित्यिक, सामाजिक, राजनीतिक सङ्घसंस्थमा आबद्ध रहेकी छन् ।

‘विवाहअघि र पछि’ शीर्षकको शिखरिणी छन्दमा संरचित पहिलो वाचन गरिएको कवितामा कविले एउटी युवतीको विवाहअघिको मनोविज्ञान कस्तो चञ्चलमय र तरङ्गित हुन पुग्छ भन्ने सन्दर्भलाई उप्काएकी छन् । परम्परागत समाजमा हुर्किएकी र बढेकी युवतीलाई विवाहको रोमाञ्चक पक्षले आन्दोलित बनाउनु स्वाभाविक मानिन्छ । 

कर्मघरका बुहार्तनका र आफ्ना पतिका अपहेलनाका कथा–व्यथाले पनि कतिपय नारीहरू जीवनदेखि हार खाएका सन्दर्भको प्रत्यक्ष द्रष्टा र भोक्ता बनेकी कवि सत्यालको विवाहका समयमा जतिसुकै त्रसित र आन्दोलित भए पनि मन दह्रो बनाएर कर्मघरमा जाने कुरामा कुनै विमति नरहेको जनाउँछिन् । 

जन्मघरमा पनि आफ्नो खासै ऐश्वर्यले भरिभराउ जीवन पाएकी थिइनन् । पक्कै पनि उनलाई परम्परागत सामाजिक कुरीति र कुसंस्कारको पूर्वस्मृतिले बारम्बार नसताएको भने होइन । जब उनले सिन्दुर पोते पाइन् तब तन र मन दुवै रोमाञ्चित बन्यो । उनलाई समाज र परिवारका तथाकथित बन्धनबाट मुक्त भएको अनुभव भयो । क्षणमै माइतीघरबाट अन्मिएर नववरसँग कर्मघरमा प्रवेश गर्दै गर्दा शान र मान थपिँदै गयो र उल्लासमय वातावरणमा सबैको सकारात्मक व्यवहारले खासै दुःखदायी घटनाहरू व्यहोर्नुपरेन । पढाइलेखाइ सहजै अघि बढ्यो । आफूले हकहित प्राप्त गर्नुका साथै छोराछोरीकी आमा बन्न पाएकोमा गर्वानुभूति समेत भयो । कर्मघरका बारेमा यसअघि सुनेका अनेक बुहार्तनका कथाले मनका तह–तहमा डेरा नजमाएको पनि होइन । आफ्नो व्यावहारिक कुशलता र पतिको सकारात्मक सोचका कारण आफू असल गृहिणी वा आदर्श नारीको परिचय दिन सफल भएको सगर्व उल्लेख गरेकी छन् । 

यसरी यो कविता समाज र परिवारलाई सकारात्मक सोचका साथ अघि बढाउन र जीवनमा सफलता हासिल गर्न नारीको अहम् भूमिका रहने सन्देश सम्प्रेषण गर्ने उद्देश्यका लेखिएको पाइन्छ । 

दोस्रो वाचित ‘आमा हुँ’ शीर्षकको अनुष्टुप् छन्दमा संरचित कवितामा लैङ्गिक विभेदका विरुद्ध कविले ठुलो आक्रोश व्यक्त गरेकी छन् । आमा सबकी साझा हुन् । उनले आफ्ना सन्तानलाई समान रूपमा वात्सल्य प्रेम दिएर हुर्काउँछिन् तर एक्कासि सामाजिक विभेदका कुराले कवि सत्यालको मनमस्तिष्क आन्दोलित बन्न पुग्छ ।

जीवनचक्र दृष्टिले छोराछोरी समान भए पनि धर्मका नाममा समाजमा विभेद मात्र गरिँदैन, शोषण गर्ने माध्यम बनाइन्छ । कवि सत्याल यस्तो विभेद चिर्दै अघि बढ्नमा गौरवबोध गर्छिन् । उनी सबै मिलेर काम गर्दा खुसी हुन्छिन् । आमाको बोली बोली भए पनि उनी त्यसै मक्ख पर्न चाहन्नन् । 

उनी विभेदकारी समाजलाई हाँक दिँदै छोरीले गर्ने कामहरू जुन–जुन परिभाषित गरिएका छन् तिनमा कहाँ कमी भटिन्छ र राष्ट्र सजाउनमा पनि छोरीहरूको अग्रणी भूमिका रहेको बताउँछिन् । जो प्रगति वा उन्नति चाहन्छ त्यसले छोरीलाई अर्काको भरमा बाँच्ने निर्घृणी वा कमजोर पटक्कै ठान्दैन । आफू आमा भएका कारण छोराले छोरा र छोरीको विभेद गरेको पनि पटक्कै सहन नसक्ने बताउँछिन् । 

आमा मात्र भनेर पुग्दैन भन्दै छोरीलाई घरभित्र रमाउने वातावरण सिर्जना गरे मात्र शक्तिआर्जन गर्न सकिने कुरामा उनको विश्वास छ । जीवनको वास्तविकता नबुझी इहलोक र परलोक सपार्नेजस्ता कुराहरूप्रति उनलाई विश्वास छैन । विशेष गरी नारीले मात्र आमा बन्ने सुनौला अवसर गर्भैदेखि पाएको कुरा मनन गरी मनमा साहस अनि व्यवहारमा समभावलाई आत्मसात् गरी अघि बढेका खण्डमा मात्र लैङ्गिक विभेदको अन्त्य हुनेछ भन्ने कुरामा कवि विश्वस्त रहेको पाइन्छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. फणीन्द्रराज निरौला
डा. फणीन्द्रराज निरौला
लेखकबाट थप