पूर्वी नवलपरासी (नवलपुर)को उत्तरी भेगमा पर्ने ग्रामीण पालिका मध्ये एक हो बुलिङ्टार गाउँपालिका । पर्यटकीय क्षेत्रका रूपमा चिनिएको महाभारत शृङ्खला अन्तर्गत समुन्द्री सतहदेखि १९३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाउँमा मगर जातिको बाहुल्यता रहेको छ । सुन्दर र शान्त यस गाउँमा २०७३ सालदेखि घरबास (होमस्टे) को सञ्चालन गरिएको हो ।
गाउँकै नाम र मगर समुदायलाई जोडेर 'चुलीबोझा मगर सामुदायिक होमस्टे' नाम दिइएको छ । पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दुरिमा उत्तर तर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ । बुलिङटार गाउँपालिका–४ मा अवस्थित छ चुलीबोझा सामुदायिक मगर होमस्टे । मगर होमस्टेमा मगर समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ । होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू रहेका छन् । होमस्टेमा तीन बटा हल कोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ ।
जिल्लाभित्र र नजिकका छिमेकी जिल्लाहरूबाट पनि आन्तरिक पर्यटकहरू बास बस्न र रमाइलो गर्न आउने गरेको होमस्टे सञ्चालक हेमलाल बराल बताउँछन् । जिल्लाकै अग्लो डाँडा देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक , तराइबाट गर्मी छल्न आउने गरेका छन् । चुलीबोझामै उत्पादन भएको कोदो , मकै, फापरको ढिँडो, लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो, सुन्तला , केरा, तरुल, पिँडालु, भट्ट, गहत लगायतका गेडागुडीको परिकारको स्वाद लिनका लागि पनि बजारमा बसोबास गर्नेहरू होमस्टेमा आउने गर्छन । मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच, झाम्रे नाच प्रस्तुत गर्ने गरिन्छ ।
चुलीबोझामा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा, उत्तरतर्फ धौलागिरी , माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य, धौवादीको फलामखानीको डाँडा समेत अवलोकन गर्न सकिन्छ । यस्तै यहाँका भिरमा रोपिएका अम्रिसो खेती र रमणीय वातावरणले जो कोहीको मन भुलाउँछ । पाहुनाहरूको सेवा शुल्क निर्धारण साथै व्यवस्थापन यहाँको होमस्टे समितिले गर्ने गर्छ । मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया