जीतपुर सिमरा उपमहानगरले सार्वजनिक जग्गामा बनेका अवैध संरचना खाली गर्दै
बारा । जीतपुर सिमरा उपमहानगरले सिमरा बजार क्षेत्रको सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाउने भएको छ । उपमहानगरले सार्वजनिक सूचना निकालेर शनिवार बिहान जीतपुर सिमरा अस्पताल क्षेत्रसँगै रहेको सार्वजनिक जग्गामा बनेका अवैध संरचना खाली गर्ने जनाएको हो ।
यसअघि सो सार्वजनिक जग्गामा बनेका अवैध संरचनाहरूमा साना तथा मझौला व्यवसाय गर्ने व्यवसायीहरूबाट २० औ वर्षदेखि केही सीमित व्यक्तिले भाडा उठाएर खाँदै आएका थिए ।
एक वर्षअघि नै नगरप्रमुख राजन पौडेल नेतृत्वको कार्यपालिकाले सो सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाउन खोज्दा शेख जहिरले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा उपमहानगर विरुद्ध रिट निवेदन दायर गरेका थिए । तर वैशाख ३० गते न्यायाधीशद्धय हरिशचन्द्र ढुङ्गाना र खडानन्द तिवारीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने भन्दै सो रिट निवेदन खारेज गरेपछि उपमहानगरलाई सो सार्वजनिक जग्गा संरक्षण गर्न बाटो खुलेको हो ।
जीतपुर सिमरा उपमहानगर वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले सार्वजनिक जग्गामा बनेका अवैध संरचनाहरूबाट २० औ वर्षदेखि भाडा उठाएर केही व्यक्तिले हालीमुहाली गरेको बताएका छन् । ‘घर टहरा र उपमहानगरले बनाएको सटरहरू गरेर करिब ६०/६५ वटा सटरबाट आजसम्म उपमहानगर र वडालाई एक रुपैयाँ राजस्व आएको छैन, त्यहाँको भाडा उठाएर कसले खाएको हामीलाई थाहा छैन’ वडाध्यक्ष श्रेष्ठले भने ।
यसअघि स्व.कृष्ण पौडेलको कार्यकालमा सो क्षेत्रका सटरहरूलाई कानुनसम्वद्ध ढङ्गले भाडा लगाउने विषयमा छलफल हुँदा केही युवाहरूले वडा नं २ को वडा कार्यालयमा घेराउ गरेर अवरोध गरेका थिए ।
वडा नं २ का वडा सदस्य उद्धवप्रसाद गौतमले यसअघि २०४८ सालमा सो क्षेत्रमा बनेका संरचनाहरू हटाएर खाली गरे पनि पुनः अतिक्रमण भएको बताएका छन् । गौतमले करिब ६० वटा सटर तथा घर टहराबाट कसले कसरी भाडा उठाएर खाएको छ भन्ने विषयमा जानकारी नभएको बताए । ‘आधिकारिक हिसाबले वडा र नगरपालिकाले त्यहाँबाट एक रुपैयाँ पैसा लिएको छैन’ वडा सदस्य गौतमले भने ।
उपमहानगरले साबिक प्रिपा सिमरा गाविसको नाममा स्रेस्ता कायम रहेको कित्ता नं ८१६ को १ बिगाहा १ कट्ठा, कित्ता नं ८३१ को ३ कट्ठा ४ धुर र कित्ता नं. ८३२ को १५ कट्ठा, ३ धुर सार्वजनिक जग्गाभित्र अनधिकृत रूपमा बनेका घर टहराहरू शनिवार बिहान खाली गर्न लागेको हो ।
उपमहानगरले सार्वजनिक सूचना निकालेर सम्बन्धित व्यवसायीले स्वतःस्फूर्त रूपमा संरचना खाली नगरे प्रशासनको सहयोगमा हटाउने र हटाउन लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यवसायीसँग भराउने समेत जनाएको छ ।
उपमहानगरले पछिल्लो समय वडा नं ७ को गौशाला र वडा नं १२ फत्तेपुर सार्वजनिक जग्गामा बनेका अवैध संरचनाहरू खाली गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस