सभामुख र कांग्रेस सांसदबिच प्रतिनिधिसभामा रोचक जुहारी, प्रतिपक्षीलाई बोल्न दिइएन
काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्न निकै जोडबल गरे ।
तर, सभामुख देवराज घिमिरेले उनीहरूलाई बोल्न दिएनन्, बरु दोहोरीमा उत्रिए । प्रतिपक्षीले बोल्न पाउँ भनिरहने र सभामुखले बोल्न नदिने दृश्य दोहोरिइरहेको थियो । अन्त्यमा प्रतिपक्षीले सहयोग नगरेको भन्दै सभामुखले कार्यसूचीबाट कार्यक्रम हटाएर बैठक जेठ १३ गतेसम्मका लागि स्थगित गरे ।
सभामुखले बैठक सुरु गर्नासाथ कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेका थिए। अवरोध जारी रहेकै बेला घिमिरेले शून्य, विषय र आकस्मिक समय केही पनि नराख्ने निर्णय भएको सुनाए ।
घिमिरेले प्रतिपक्षी कांग्रेसले सहकारीसम्बन्धी विषय उठान गर्दै आएको र कार्यदलमा त्यसबारे छलफल जारी रहेकोले सदन बैठक पनि सँगसँगै अघि बढाउन आग्रह गरेका थिए । तर, प्रतिपक्षीले बोल्न पाउनु पर्छ भन्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री विश्व प्रकाश शर्माको निरन्तरको अडानपछि सभामुखले बैठक नै स्थगित गरिदिए ।
यसरी चल्यो सभामुख र कांग्रेस सांसदहरूको जुहारी
सभामुख घिमिरे– माननीय सदस्यहरू हामी नियमावली अन्तर्गत नै कार्यक्रमलाई अघि बढाउन गइरहेका छौँ । त्यसले गर्दा हाम्रो कार्य व्यवस्था समितिमा पनि परिस्थितिलाई सहज बनाउनका लागि अगाडि लैजाने र यो बिचमा बसेरै छलफलहरू टुङ्ग्याउनका लागि सहयोग पुर्याउने कुराहरू भएको पनि जानकारी गराउन चाहन्छु ।
रमेश लेखक– सभामुख महोदय, बसेर छलफल गर्ने कुरा छँदै छ । हाउसमा त बोल्न पाउनुपर्यो नि प्रतिपक्षले ।
विश्वप्रकाश शर्मा– सभामुख महोदय, प्रतिपक्ष बोल्नु भनेको परिस्थितिलाई असहज बनाउने भन्ने कोणबाट बुझ्नुहुँदैन ।
सभामुख घिमिरे– माननीय सदस्यहरू आसन ग्रहण गरौँ । म नियमित कारबाहीलाई अघि लानको लागि सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।
बोल्न पाउनुपर्यो भन्दै सांसदहरूको होहल्लासँगै शर्मा– प्रतिपक्षले जनताको कुरा राख्न चाहँदा बोल्न नदिएर कस्तो नजिर बसाउन चाहँदै हुनुहुन्छ सभामुख महोदय ? हामी समय चाहन्छौँ ।
सभामुख घिमिरे– विषयवस्तुलाई अगाडि लैजान सहयोग गरिदिनुस् ।
लेखक– प्रतिपक्षलाई सदनमा बोल्न नदिने यो लोकतान्त्रिक अभ्यास होइन सभामुख महोदय । मेरो आग्रह छ, सदनमा बोल्न पाएन भने प्रतिपक्षले बोल्ने कहाँ हो ?
सभामुख घिमिरे– झर्कँदै, माननीय सदस्यहरू सभा नियमअन्तर्गत नै चलाउने हाम्रो कर्तव्य हो । माननीय सदस्यहरूको बोल्न पाउनपर्छ भन्ने मागलाई सभामुखले बोल्न दिएन भनेर प्रचार गर्ने कुरा होइन । बोल्ने वातावरण कसरी अगाडि लैजाने भन्ने कुरामा सत्तापक्ष पनि प्रतिपक्ष पनि त्यतिकै जबाफदेही छ । त्यतिकै जिम्मेवार छ । त्यो जिम्मेवारीका साथ लैजानका लागि म माननीयजीहरूलाई आसन ग्रहणका लागि अनुरोध गर्छु । आसन ग्रहण गरेर वातावरण बनाइदिनुस् । सभा विधिसंगत ढङ्गबाट बोल्ने छलफल गर्ने निष्कर्ष निकाल्ने हो भन्ने कुरा म अवगत गराउन चाहन्छु ।
लेखक– बोल्न पाएन भने बोल्न दिएन भन्नै पर्ला नि सभामुख महोदय । प्रतिपक्षले सदनमा बोल्नै पाएन भन्न नपाइने हो अब ?
सभामुख घिमिरे– माननीय सदस्यहरू हामीले यो भन्दा अगाडि यही सत्रमा पटक–पटक बोल्नका लागि आग्रह गरेको कुरालाई पनि म स्मरण गराउन चाहन्छु । तलबाट बोल्दा खेरी नपुग्दा माथि आएर बोल्नुस् भनेको कुरा पनि आग्रह गर्न चाहन्छु । कार्यसूची सम्भावित वितरण गरेको, त्यसपछि आज फाइनल कार्यसूची वितरणमा गरेकोमा आज नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि नाम टिपाउनका लागि आह्वान गरिएकोदेखि लिएर संशोधन हाल्नसम्मका लागि गरिएको छ । यी सबै कुरामा माननीयजीहरूको साथ सहयोगका साथ नै यो सांसदलाई बहस गर्ने, छलफल गर्ने र निष्कर्षमा पुर्याउनका लागि नै नीति तथा कार्यक्रममा छलफल हुने भएकाले अहिले आसन ग्रहण गरेर माननीयजीहरूले समय सदुपयोग गर्ने काममा साथ गर्नुहुनेछ । आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु ।
लेखक– सम्माननीय सभामुख महोदय विपक्षी दलले नबोल्दा अनि संसदीय अभ्यास ठिक तरिकाले अघि बढ्छ कि बढ्दैन । यस कारणले विपक्षीले सदनमा आफ्नो कुरा राख्न पाउनुपर्छ ।
सभामुख घिमिरे– माननीय सदस्यहरू यहाँहरूले सभा सञ्चालन गर्न सहयोग गर्नुहुनेछ । समस्या समाधानका लागि कार्यदललाई सहयोग पुर्याउनुहुने छ र हामीले अब पूरा गर्नुपर्ने खास गरी यो सत्रमा गर्नैपर्ने महत्त्वपूर्ण जिम्मेवारीमा भूमिका निर्वाह गर्नुहुनेछ भन्ने आशा राखेको छु । विधिसंगत ढङ्गबाट सांसदलाई छलफलको केन्द्र बनाऔँ ।
र पनि कांग्रेसका सांसदहरूको बोल्न पाउँ भन्ने आवाज निकालिरहे । सभामुखले बोल्न दिएनन् । बरु प्रतिपक्षीको सहयोग नरहेको भन्दै कार्यसूचीबाट कार्यक्रम हटाएर बैठक जेठ १३ गतेसम्मका लागि स्थगित भएको घोषणा गरिदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनै लोभ्याउने मर्दी ट्रेक (तस्बिरहरू)
-
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
-
जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दै एमाले
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत