बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकपका लागि वेस्ट इन्डिजका सिमोन्स पपुवा न्यु गिनीको प्रशिक्षण टोलीमा

बुधबार, ०९ जेठ २०८१, १२ : ०८
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट टोलीका पूर्वअलराउन्डर फिल सिमोन्स पपुवा न्यु गिनीको प्रशिक्षण टोलीमा आबद्ध भएका छन् । पपुवा न्यु गिनी क्रिकेट बोर्डले सिमोन्सलाई आफ्नो राष्ट्रिय टोलीको विशेषज्ञ प्रशिक्षकका रूपमा नियुक्त गरेको हो ।  

पपुवा न्यु गिनीले आईसीसी टी–२० विश्वकपलाई ध्यानमा राखी सिमोन्सलाई विशेषज्ञ प्रशिक्षकका रूपमा नियुक्त गरेको हो । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

पपुवा न्यु गिनी क्रिकेट टोलीको प्रशिक्षक भने जिम्बाबेका पूर्वखेलाडी तातेन्डा ताइबु हुन् । आगामी विश्वकपमा प्रशिक्षक ताइबुले सिमोन्सको सल्लाह अनुसार काम गर्नेछन् । सिमोन्सले वेस्ट इन्डिजका लागि एक सय ६० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

सिमोन्स आफ्नो समयका प्रभावशाली खेलाडी हुन् । उनले प्रशिक्षकको भूमिकामा पनि महत्त्वपूर्ण सफलता हात पारिसकेका छन् । वेस्ट इन्डिजले सन् २०१६ मा दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्दा पनि सिमोन्स नै क्यारेबियन टोलीका प्रशिक्षक थिए ।

उनले यसअघि जिम्बाबेको राष्ट्रिय टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । ‘म आफ्नो नयाँ भूमिकालाई सार्थक बनाउने प्रयास गर्नेछु । आगामी विश्वकपमा पपुवा न्यु गिनीले उत्कृष्ट प्रदर्शन गर्नेमा म विश्वस्त छु,’ उनले भनेका छन् ।

आगामी टी–२० विश्वकपमा पपुवा न्यु गिनी समूह ‘सी’ मा परेको छ । त्यो समूहमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान र युगान्डा पनि रहेका छन् । पपुवा न्यु गिनीले आफ्नो पहिलो खेल जुन २ तारिखमा सिमोन्सकै राष्ट्र वेस्ट इन्डिजसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप