बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
३५ सयमात्रै चल्ला उत्पादन

सङ्कटमा ह्याचरी उद्योग : क्षमताको आधामात्रै उत्पादन

बुधबार, ०९ जेठ २०८१, ११ : २२
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । कोरोना महामारीपछि खस्किएको ह्याचरी उद्योग अझै उकालो लाग्न सकेको छैन । देशभरका कयौँ ह्याचरी उद्योग बन्द भएको नेपाल ह्याचरी उद्योग सङ्घले जनाएको छ ।

चलेका उद्योगले पनि क्षमताभन्दा आधा कम चल्ला उत्पादन गरिरहेका छन् । सङ्घका अनुसार देशभर एक सातामा करिब ५० लाख चल्ला उत्पादन गर्ने क्षमता भए पनि हाल करिब २२ लाख चल्लामात्रै उत्पादन हुन सकेको छ ।

सङ्घका केन्द्रीय उपाध्यक्ष बलराम सन्जेलले देशभरका तीन सय ५६ ह्याचरीमध्ये ७० वटा सामान्य अवस्थामा सञ्चालन रहेको र बाँकी ह्याचरी उद्योग निरन्तर घाटा सहन नसकेर बन्द भएको बताए ।

सञ्चालन भएका ह्याचरी उद्योगले पनि आफ्नो क्षमताभन्दा कम चल्ला उत्पादन गर्दै आएको सन्जेल बताउँछन् । ‘देशभर कोरोना महामारी अगाडि बजारमा झण्डै दैनिक ८ देखि १० लाख किलो कुखुराको मासु खपत हुन्थ्यो,’ उनले भने, ‘कोरोना महामारीपछि दैनिक ७ देखि ८ लाख किलो कुखुराको मासु खपत हुन्छ ।’

बजारमा कुखुराको खपत घट्दा लागतभन्दा कम मूल्यमा चल्ला बेच्नुपर्ने भएकाले अधिकांश ह्याचरी उद्योगीले ‘प्यारेन्ट’ राख्ने आँट गर्न सकेनन् । फलस्वरूप उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको सन्जेलले दाबी गरे ।

‘बजारमा उपभोक्ता घटेपछि खपत कम भयो र ६० प्रतिशत ह्याचरी बन्द भए,’ उनले भने ।

पोखरास्थित एसियन फिड ह्याचरी उद्योगले सातामा करिब १२ हजार चल्ला उत्पादन गर्थ्यो । सो उत्पादन खुम्चिएर हाल करिब ३५ सयमात्रै चल्ला उत्पादन भएको दाबी गरिएको छ । सो ह्याचरी उद्योगका म्यानेजर विपिन पाठकले बजारमा माग घटेसँगै १० वर्षदेखि सञ्चालित सो उद्योगको उत्पादन घटेको सुनाए ।

‘कोरोना महामारीमा लकडाउन भयो, त्यसपछि माग ह्वात्तै घटेको छ,’ उनले भने, ‘साढे दुई करोड लगानी छ, यो डुब्ने अवस्थामा पुगेको छ ।’

१५ रोपनीमा सञ्चालित सो उद्योग बजारमा सुधार आए पुनः लगानी गरी निरन्तरता दिने योजना रहेको पाठकले बताए ।

चल्लाको बजार नभएपछि ह्याचरी उद्योगबाट पोल्ट्री फार्म सञ्चालन गरेको धादिङको धुनिवेशी नगरपालिका–७ का उद्योगी नारायण उप्रेतीले बताए । ‘५ करोड लगानीमा ७० रोपनीमा ह्याचरी उद्योग सञ्चालन गरेँ,’ उनले भने, ‘पहिलो चरणमा ३ हजार चल्ला उत्पादनका लागि हालेँ तर कामदारको लपारबाहीले ती कुखुरा मरे, बजार पनि खुम्चियो । त्यसपछि मासु उत्पादनका लागि पोल्ट्री फर्मतिर लागेँ ।’

एक व्यक्तिले वर्षमा सरदर १४ किलोसम्म माछा–मासु खाँदा स्वास्थ्यका दृष्टिले उपयुक्त हुने अन्तर्राष्ट्रिय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को मापदण्ड छ । कोरोना महामारीपछि उपभोक्ताको क्रयशक्ति घट्दा मासु खपत घट्दै गएको सम्बद्ध अधिकारीको बुझाइ छ ।

कोरोना महामारीपछि नेपालमा मासु उत्पादन घटेको सरकारी तथ्याङ्कमा देखिन्छ । आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार त्यस वर्ष नेपालमा मासु उत्पादन ५ लाख १२ हजार मेट्रिक टन भएकोमा आर्थिक वर्ष २०७९/८० मा करिब साढे ३ लाख मेट्रिक टनमा सीमित भएको देखिन्छ ।

उद्योग बन्दको असर

मुलुकभर करिब ५ लाख बढीले ह्याचरी उद्योगमा रोजगारी प्राप्त गरेका थिए । तर उद्योगको कारोबार खुम्चिँदै र बन्द हुँदै जाँदा अधिकांशले रोजगारी गुमाएको उद्योगीहरूको भनाइ छ ।

‘५ लाखभन्दा बढीले रोजगारी पाएका थिए,’ उपाध्यक्ष सन्जेलले भने, ‘हाल ३ लाखले रोजगारी पाएका होलान्, ठ्याक्कै हिसाब गर्न बाँकी छ ।’

म्यानेजर पाठकले सामान्य अवस्थामा उद्योग सञ्चालन हुँदा एसियन फिड ह्याचरी उद्योगमा करिब १२ जनाले रोजगारी प्राप्त गरेका थिए । हाल ३ जनामात्रै कामदार रहेको उनले सुनाए ।

‘२० प्रतिशत बजार घटेको छ, कुखुरा बिक्री छैन,’ उनले भने, ‘उचित मूल्य छैन, बिचौलिया हाबी छ । धान्न सकुन्जेल जति सकिन्छ, चल्ला उत्पादन गरिन्छ ।’

मुलुकको आत्मनिर्भर व्यवसायमध्ये एक मानिएको पोल्ट्री÷ह्याचरी व्यवसाय सङ्कटमा पर्दा समेत सरकारी निकायले चासो नदिएको व्यवसायीहरूको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप