शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय
शान्तिश्रीलाई १५ प्रश्न

म भनेपछि बच्चादेखि बुढासम्म मरिहत्ते गर्छन् : शान्तिश्री परियार

बुधबार, ०९ जेठ २०८१, १० : २४
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । शान्तिश्री परियार पछिल्लो समयकी हिट लोकदोहोरी गायिका हुन् । गत वर्ष उनका ‘अरेली काँडैले मलाई च्वास्सै–च्वास्सै’, ‘तिमी र म जाम माया,’ ‘गोर्खे खुकुरी,’, ‘डाँडैको टुनी’ र ‘दमाई महाराज’ लगायत थुप्रै गीत हिट भए ।

गीत हिट भएसँगै उनी स्वदेश तथा विदेशी कार्यक्रममा व्यस्त बनिन् । रोल्पाको विकट गाउँमा जन्मिएर सानैदेखि गीत–सङ्गीतमा निकै लगाव राख्ने परियारले दोहोरी साँझबाट गायन थालेकी थिइन् । त्यसपछि ‘घर छ तीन तले’ एल्बम ल्याएर व्यावसायिक गायन थालेकी उनका ‘एकतर्फी माया’, ‘गाईलाई दाम्लो माछीलाई फुरुलुङ्ग’, ‘मुग्लिनको बाटोमा’, ‘बुहारी सुत्केरी भइछ’ लगायत गीत आए । तर साङ्गीतिक क्षेत्रमा उनलाई चिनाउने काम भने  ‘बोल माया’ले ग¥यो । त्यसपछि ‘गलबन्दी’ गीतबाट थप उचाइ पाएकी उनले भर्खर गाएको गीत ‘करिम’ चर्चामा छ ।

यतिबेला साङ्गीतिक कार्यक्रमका लागि दुबई पुगेकी परियारले आफ्नो व्यस्तताका बाबजुद रातोपाटीसँग टेलिफोन वार्ता गरेकी छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • विभिन्न कार्यक्रममा तपाईं सहभागी भएका तस्बिर दैनिकजसो देखिन्छ । मेला–महोत्सव कमी भएको छैन र ?

अहिले मेला–महोत्सवको अफ सिजन हो । तर पनि केही कार्यक्रम आयोजना भइरहेका छन् । गत वर्षभन्दा यो वर्ष म स्वदेश तथा विदेशका कार्यक्रममा व्यस्त भइरहेकी छु । गत वर्षहरूमा नेपालको पश्चिम भेगमा मेरो डिमान्ड धेरै हुन्थ्यो । यो वर्ष पूर्वीय भेगमा पनि बढेको छ । अहिले एक साङ्गीतिक कार्यक्रममा लागि दुबई आएकी छु ।

  • गायक/गायिकाको लागि मेला–महोत्सव कति महत्त्वपूर्ण छ ?

एउटा कलाकारले प्रत्यक्ष रुपमा अडियन्स भेट्ने भनेको मेला–महोत्सव कार्यक्रम नै हो । अडियन्सको मायाका लागि धेरै सङ्घर्ष गरिएको हुन्छ । त्यसको अलावा कलाकार चल्ने, आम्दानी गर्ने बाटो पनि यस्ता कार्यक्रम हुन् ।

  • कार्यक्रममा कस्ता गीत बढी खोजिन्छ ?

गीतको डिमान्ड ठाउँ अनुसार हुन्छ । देशको पूर्वीय भेगमा प्रायः साँझतिर कार्यक्रम आयोजना हुन्छ । त्यहाँ युवापुस्ता दर्शक बढी हुन्छन् । त्यहाँ युवापुस्ताले रुचाउने खालको गीत खोजिन्छ । पश्चिमतिर दिउँसो कार्यक्रम हुने भएकाले बालकदेखि वृद्धसम्मको सहभागिता रहन्छ । यस्तो ठाउँमा सबैले रुचाउने लोकगीत खोजिन्छ । बोलमाया, गलबन्दी, लाउन दाजै पिरती, अरेली काँडैले लगायतका मेरा गीत स्टेजमा बढी खोजिन्छ ।

  • स्टेजमा गाउन सजिलो कि स्टुडियोमा गाउन ?

मलाई दुवै सजिलो लाग्छ । स्टेजमा थुप्रै अडियन्सका अगाडि गीत गाउन पाइन्छ । यो गाह्रो हुने कुरै भएन । स्टुडियो गीत निर्माणको प्रोसेस हो । यहाँ सबै मिलाएर धक फुकाएर गाउन पाइन्छ । हाम्रो कला स्टुडियोबाटै बाहिर आउने हो । त्यसैले म एक नम्बर स्टुडियो नै मान्छु ।

  • स्टेज कार्यक्रममा दलालीको चलखेलका कुरो बाहिर आइरहेका छन् नि ?

त्यो सत्य हो । पहिले सङ्घर्षको समय अलिअलि म पनि त्यसको मारमा परेको थिएँ । धेरै कलाकार अहिले त्यसको मारमा छन् । तत्काललाई मेरो कार्यक्रममा डिमान्ड राम्रो भएकाले त्यो मारबाट म टाढा छु ।

  • स्टेज कार्यक्रमबाट वार्षिक कति कमाउनुहुन्छ ?

अहिलेसम्म मैले आफ्नो आम्दानी मिडियामार्फत सेयर गरेको छैन र गर्दिनँ पनि ।

  • पछिल्लो समय गीत–सङ्गीतका दर्शक घटेका हुन् ?

अहिलेको परिस्थिति गम्भीर छ । सबै क्षेत्रका लागि समस्या छ । त्यो प्रभाव गीत–सङ्गीतमा पनि परेको छ । दैनिक थुप्रै गीत अहिले पनि बजारमा आइरहेको छ । पहिलेदेखि नै वर्षमा २/४ वटा गीत चल्ने हो । त्यो क्रम अहिले पनि छ ।

445027142_1006434164177319_3520656884955064107_n (1)

  • एउटी गायिकाको फ्यान कस्ता–कस्ता हुन्छन् ?

मेरा सानादेखि वृद्धसम्मका फ्यान छन् । सबैले माया गर्नुहुन्छ । म भनेपछि साना बच्चादेखि बुढा आमाबुबासम्म मरिहत्ते गर्छन् । मेरो सबै प्रकारको फ्यान भएको पाएकी छु ।

  • फ्यानबाट प्राप्त गरेको अहिलेसम्मको राम्रो उपहार के ?

फ्यानबाट धेरै उपहार प्राप्त गर्ने सेलिब्रेटीमा म पर्दिनँ । केही अगाडि म कोरिया गएको थिएँ । त्यो बेला भर्खर मेरो गीत बोलमाया चल्न थालेको थियो । त्यो समय राप्ती समाज कोरियाले राम्रो मूल्यपर्ने एउटा सामसुङ मोबाइल गिफ्ट गर्नु भएको थियो ।

  • कलाकारलाई फ्यान प्रेम र विवाहको प्रस्ताव पनि राख्छन् रे हो ?

म गीत–सङ्गीतमा जम्नु अगाडि नै विवाहित थिएँ । त्यो कुरो धेरैलाई थाहा छ । अहिले बच्चा छ भन्ने बाहिर आएको विषय हो । त्यसैले फ्यान मलाई विवाह, प्रेमभन्दा पनि एउटा प्रतिभालाई दिनुपर्ने मायामात्र दिइरहनु भएको छ ।

  • कस्तो रहेछ कलाकारको जीवन ?

कलाकारको जीवन रमाइलो पनि छ, दुःख पनि । अहिले म बिरामी छु । बिरामी हुँदाहुँदै पनि दुबई कार्यक्रममा आएको छु । औषधि खाएर कार्यक्रम गरिरहेको छु । अस्वस्थ हँुदा पनि कार्यक्रममा सहभागी हुनुपर्छ । किनभने पहिले नै कार्यक्रमको बचन दिइएको हुन्छ । मनमा पीर पर्दा परिवारसँग समय बिताउँभन्दा पनि पाइँदैन । सरसर्ती भन्ने हो भने कलाकारको जीवन पीडा र खुसीले मिश्रित छ ।

  • गायनमा लागेर दुःख लागेको क्षण ?

अहिलेसम्म गायनमा लागेर दुःख महसुस भएको छैन । गायन मैले आफ्नो खुसीले रोजेको क्षेत्र हो । कसैको फोर्स र लहलहैमा आएको पनि होइन ।

  • पुराना गायक–गायिका अहिले वैकल्पिक पेसातिर देखिएका छन् । तपाईंको पनि त्यस्तो योजना छ कि ?

अहिले म गायनमा राम्रै चलेकी छु । यसैमा व्यस्त भएसम्म विकल्प किन रोज्ने ? जब यसमा व्यस्त हुन छाड्छु, त्यसपछि केही गर्नुपर्छ । अहिले नै विकल्प सोच्न भ्याएकी छैन । कतै लगानी गरौँ भने पनि अहिलेको परिस्थिति राम्रो छैन ।

  • नयाँ गीतहरू कति आउँदैछ ?

अहिले मेरो गीत धमाधम आइरहेको छ । भर्खरमात्र करिम भन्ने गीत आयो । त्यो अहिले निकै चर्चामा छ । अर्जुन सापकोटासँगको बस्यौ अलग्गै, भागीरथ चलाउनेसँग महजस्तो बोली, खेम सेन्चुरीसँग तलबाट लगायत मेरो भर्खर आएको गीत हो ।

  • भर्खर आएको करिम गीत भिडियोका कारण विवादित भएको छ नि, हैन न र ?

त्यो गीतमा रहेको भिडियोको कथा कुनै समयको यथार्थ भोगाइ थियो । यदाकदा त्यो चिज अझै बाँकी छ । त्यसमा राज्यको पनि ध्यान जानुपर्छ । स्वयम् हामीले पनि आफ्ना लागि ख्याल गर्नुपर्छ । पेट पाल्नकै लागि त्यो बाध्यतामा मानिस नफसोस् भन्ने लाग्छ । कसैले आफूलाई त्यसमा ‘इन्जोय’ गरेको छ भने म नराम्रो देख्दिनँ ।

भिडियोले देखाएजस्तो सुत्केरी, बिरामी अवस्थामा पनि बाँच्नका लागि त्यो बाध्यतामा कोहीमा छ भने त्यो हुट्नुपर्छ । त्यो समुदायमा, भेगमा जातमा धर्ममा भन्दा पनि कुनै पनि मानिस त्यो चिजमा नफसोस् भन्ने हाम्रो चाहना हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप