आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

साउदी अरबमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र

कम्पनीले तलब दिएन, उद्धारका लागि आग्रह
बुधबार, ०९ जेठ २०८१, ०८ : १९
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । साउदी अबरमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र परेका छन् । उनीहरुले कम्पनीले लामो समयदेखि तलब नदिएको र जसका कारण खानबस्न समेत समस्या भएको भन्दै उद्धारका लागि आग्रह गरेका छन् । 

काठमाडौँको नयाँ बानेश्वरस्थित इशान इन्टरनेशनल ओभरसिजबाट साउदी अरबको खोबरस्थित ‘एफएमएके कन्ट्रयाक्ट्रिङ ईस्ट’ मा गत अक्टोबरदेखि विभिन्न मितिमा त्यहाँ पुगेका नेपाली श्रमिकहरू अलपत्र परेका हुन् । 

कम्पनीले काम सुरु गरेयता कसैलाई ३ महिना र कसैलाई दुई महिनाको तलब दिएपनि त्यसपछि भने भुक्तानी नगरेको पीडितहरूले बताएका छन् । पीडितमध्येका एक नवीन रुम्बाले कम्पनीले काम नदिएर अहिले आफूहरूलाई कोठामा राखिरहेको रातोपाटीलाई जानकारी दिए । कोठा दुर्गन्धित, साँघुरो र भिडभाडयुक्त रहेको र खान पनि समस्या रहेको भन्दै उनीहरुले साउदीस्थित नेपाली दूतावास, सम्बन्धित मेनपावर तथा सरोकारवालासँग उद्धारका लागि हारगुहार गरेका छन् । 

उनीहरुले दूतावासमा दिएको निवेदनमा आफूहरूलाई छिटोभन्दा छिटो उद्धार गरेर नेपाल पठाउन आग्रह गरेका छन् । तर, दूतावासले अहिलेसम्म पहलकदमी नलिएको पाइएको छ । 

म्यानपावरलाई पनि उद्धारका लागि आफूहरूले पटक पटक आग्रह गर्दा ‘हामीले केही गर्न सक्दैनौँ’ भनेर जवाफ दिने गरेको पीडितमध्येका एक नेपालीले जानकारी दिए । 

मेनपावरका प्रतिनिधि जेबी सापकोटाले भने अधिकांशको समस्या समाधान गरिएको दाबी गरे । यस्तै केहीको समस्या समाधानको प्रक्रियामा रहेको उनको जिकिर थियो । 

 तर, पीडितहरूले भने मंगलबारसम्म कसैको पनि समस्या समाधान नभएको बताउँदै मेनपावर गैरजिम्मेवार बनेको आरोप लगाए ।

 अलपत्र पर्नेहरुमा सुकबहादुर थोकर, नवीन रुम्बा, बखानसिं मोक्तान, दिलाराम यादव, नरेश महरा, मुकेश कुमार शाह, प्रेम सागर महतो, अर्जुन परियार, बिकाउ साह, राजा पासवान, हरिन्द्र दास गणेश कुमार मण्डल, अरुण कुमार ठाकुर, गणेश भारती, सिताराम चमार, श्रीप्रसाद गणेश, साजरे आलम, अल्गु चमार, उमेश यादव, सुलिन्द्र गिरी, गगन भण्डारी र जनक चौधरी रहेका छन् । 

कम्पनीकै होस्टलमा बसेपनि उनीहरूलाई खाने जुटाउन हम्मेहम्मे परेको बताइएको छ । तत्कालका लागि उनीहरूलाई कमलेश ठाकुर नाम गरेका नेपालीले खानका लागि पैसा दिएको भएपनि सो पैसा पनि सकिने अवस्थामा रहेकाले चाँडोभन्दा चाँडो उद्धारको आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप