बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
सम्पत्ति विवरण

घडीका सौखिन युवा तथा खेलकुद मन्त्री

मङ्गलबार, ०८ जेठ २०८१, १६ : ३२
मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो सम्पत्ति विवरणमा काठमाडौँ महानगरपालिका वडा नम्बर २४ मा इन्द्रचोकमा दुई आना जग्गामा घर र काठमाडौँ महानगरपालिका वडा नम्बर १३ ताहाचलमा चार आना जग्गामा घर रहेको देखाएका छन् ।  

इन्द्रचोकमा रहेको जग्गा र घर वीरेन्द्रभक्त श्रेष्ठको नाममा तथा ताहाचलमा रहेको जग्गा र घर विकास श्रेष्ठको नाममा रहेको उल्लेख छ । खेलकुद मन्त्रीको स्थायी घर इन्द्रचोक र हाल बसोबास रहेको स्थान ताहाचल हो । उनले आफ्नो सम्पत्ति विवरणमा यी दुवै स्थानमा रहेका जग्गा र घर सगोलको पैतृक सम्पत्ति बिक्री गरेर प्राप्त भएको उल्लेख गरेका छन् । 

यसैगरी श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरेका छन् । सुन र चाँदी पैतृक सम्पत्ति र विवाहबाट प्राप्त भएको बताएका छन् । उनले विभिन्न बैंकमा आफ्नो श्रीमतीको नाममा नगद रहेको पनि उल्लेख गरेका छन् । 

उनले आफ्नो नाममा लुम्बिनी विकास बैंकमा ३५ लाख ३० हजार चार सय सात रुपैयाँ, एभरेष्ट बैंकमा चार सय १८ रुपैयाँ, सिटिजन्स बैंकमा पाँच हजार रुपैयाँ, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा चार लाख ९१ हजार आठ सय ४६ रुपैयाँ, नबिल बैंकमा चार हजार ८३ रुपैयाँ र सिनर्जी कोअपरेटिभ लिमिटेडमा तीन लाख ४१ हजार रुपैयाँ जम्मा रहेको उल्लेख गरेका छन् ।

यसका अतिरिक्त आफू र श्रीमती सृष्टी सिंहको संयुक्त नाममा सिनर्जी कोअपरेटिभ लिमिटेडमा २५ लाख रुपैयाँ रहेको पनि उनले उल्लेख गरेका छन् । यी सबै रकम स्वआर्जन र पैतृक सम्पत्तिबाट प्राप्त भएको उनले उल्लेख गरेका छन् । 

यसैगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत रहेका विभिन्न कम्पनीमा आफ्नो नाममा एक करोड नौ लाख ८० हजार पाँच सय नौ रुपैयाँ बराबरको १५ हजार नौ सय ६ कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उनले उल्लेख गरेका छन् । 

यसैगरी उनले सम्पत्ति विवरणमा आफूसँग आठ लाख ५० हजार मूल्य बराबरको टोयोटा ल्यान्ड क्रुजर, दुई लाख ४६ हजार मूल्य बराबरको स्कुटर र १९ लाख ७५ हजार मूल्य बराबरको विद्युतीय सवारी रहेको पनि उल्लेख गरेका छन् । 

यसैगरी उनले आफूसँग टिसोट, स्वाच, आर्मानीलगायत विभिन्न ब्रान्डका तीन लाख रुपैयाँ मूल्य बराबरको घडीहरु रहेको पनि उल्लेख गरेका छन् । उनले सम्पत्ति विवरणमा बुवाबाट २० लाख र नबिल बैंकबाट ३० लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप