बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
भन्सार

अर्थतन्त्र शिथिल बन्दा खुम्चियो वीरगञ्ज भन्सारको आयात

गत वर्षको तुलनामा ४५ अर्बले कमी
मङ्गलबार, ०८ जेठ २०८१, १४ : २२
मङ्गलबार, ०८ जेठ २०८१

बारा । देशको समग्र वैदेशिक व्यापार खुम्चिँदो अवस्थामा रहँदा मुख्य व्यापारिक नाकाका रूपमा रहेको वीरगञ्ज भन्सारबाट समेत आयात उल्लेख्य घटेको छ । चालु आर्थिक वर्ष (२०८०/८१) को १० महिनाको अवधिमा वीरगञ्ज भन्सारबाट हुने आयात ४५ अर्ब रुपैयाँले घटेको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु वर्षको १० महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयबाट ४ खर्ब ४७ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । जबकि, आर्थिक वर्ष २०७९/८० को यही अवधिमा सो नाकाबाट ४ खर्ब ९२ अर्ब ४० करोड रुपैयाँको आयात भएको थियो ।

birgunj bhansar (2)

यतिबेला देशको समग्र आयात नै २.३९ प्रतिशतले खुम्चिएको छ । यसको प्रभाव देशको सबैभन्दा बढी चलायमान नाकाका रूपमा रहेको वीरगञ्जमा समेत देखिएको हो । यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात हुन्छ । पेट्रोलियम पदार्थको आयात समग्रमा खुम्चिँदा नाकाबाट हुने आयात स्वतः घट्छ नै ।

वीरगञ्ज भन्सार नाकाबाट हुने कुल आयातको ४७ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको छ । भन्सार कार्यालयका अनुसार यस अवधिमा यो नाकाबाट पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घटेको छ । देशको अर्थतन्त्र शिथिल अवस्थामा रहँदा र विकास खर्च नहुँदा पेट्रोलियम पदार्थको आयातमा समेत प्रभाव परेको हो ।

मुख्यगरी पेट्रोलियम पदार्थको खपत विकास निर्माणका काममा हुन्छ । सार्वजनिक यातायातसँगै विकास निर्माणमा प्रयोग हुने ‘हेभी इक्यूपमेन्ट’मा ठुलो मात्रामा डिजेलको खपत हुन्छ । पछिल्ला केही वर्ष यता पेट्रोल, डिजेलको आयात घट्दो अवस्थामा छ । यस्तै खाना पकाउने एलपी ग्यासको आयातसमेत घटेको छ ।

v22

‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा विकासे काम प्रभावित बनिरहेका छन्,’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले भने, ‘पुँजीगत खर्चमा सुधार नहुँदा डिजेल, पेट्रोलको समेत आयात घटेको छ ।’

यसबाट राजस्व सङ्कलनको लक्ष्य नै प्रभावित बनिरहेको छ ।  चालु वर्षको वैशाख मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट १ खर्ब २८ अर्ब राजस्व सङ्कलन भएको छ ।

सरकारले चालु वर्षमा यो नाकाबाट २ खर्ब ४५ अर्ब ६८ करोड राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । कार्यालयका प्रमुख पन्थीका अनुसार यस अवधिसम्ममा लक्ष्यको ५१ दशमलव ८४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको छ । यो तथ्याङ्कले यो वर्ष पनि अर्थतन्त्र चलायमान बन्न नसकेको देखाउने कार्यालय बताउँछ ।

यो नाकाबाट वैशाख मसान्तसम्म ७८ अर्बको डिजेल (पाइपलाइनबाट) , २९ अर्बको पेट्रोल आयात भएको छ । यस्तै खाना पकाउने एलपी ग्यासको आयात २२ अर्बको भएको छ । गत वर्षको यही अवधिमा यो नाकाबाट ८३ अर्ब रुपैयाँको डिजेल भित्रिएको थियो । यो चालु वर्षको तुलनामा ५ अर्बले बढी हो ।

वीरगञ्ज भन्सारबाट आयात हुने कुल वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा ४७ प्रतिशत, सवारी साधनको १० प्रतिशत, फलामजन्य कच्चा पदार्थको ५ प्रतिशत, खाने तेलको कच्चापदार्थको हिस्सा ४ देखि ५ प्रतिशत छ । यस्तै कुल आयातमा उपभोग्य वस्तु आयातको हिस्सा ३० प्रतिशत आसपास छ ।

v1

यो अवधिमा खाने तेलको कच्चा पदार्थको आयात समेत खुम्चिएको छ । ‘खाने तेलको कच्चा पदार्थ आयात ६० देखि ६४ प्रतिशतले घटेको छ,’ पन्थीले भने, ‘यसबाहेक औद्योगिक कच्चा पदार्थको आयात पनि २१ प्रतिशतले घटेको छ ।’

यो नाकाबाट भित्रिने औद्योगिक कच्चा पदार्थ, कोइला लगायतको आयात समेत ६५ प्रतिशतले घटेको छ । यसले सो क्षेत्र आसपासमा रहेका औद्योगिक क्षेत्र चलायमान नबनेको देखाउँछ ।

बारा–पर्सा औद्योगिक कोरिडोरमा साना–ठुला गरी ८ सय उद्योग सञ्चालनमा छन् । जसमध्ये ३० देखि ३५ प्रतिशत उद्योगमात्रै अहिले सञ्चालनमा रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घ बताउँछ ।

कोरिडोरमा सञ्चालनमा रहेका फलाम र खाने तेलका उद्योग बढी समस्यामा परेको सङ्घको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप