चुरोट नियमनबाहिर, भेपमा प्रतिबन्ध !
काठमाडौँ । स्कुल र कलेजमा अध्ययनरत युवा–पुस्ताले लतका रूपमा ई–सिगरेट प्रयोग गर्न थालेपछि सरकारले त्यसलाई नियन्त्रणको पहल लिएको छ । इलेक्ट्रोनिक सिगरेट (ई–सिगरेट वा भेप) प्रतिबन्धको प्रयास स्वरूप स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सम्बद्ध निकायहरूलाई परिपत्र समेत गरेको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ अनुसार ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाउने छैन’ भनी उल्लेख भएकाले सो को पालना गराउन पत्राचार गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग तथा आपूर्ति मन्त्रालय र वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई परिपत्र गरिएको केन्द्रले जनाएको छ ।
स्वास्थ्यसम्बद्ध कुनै एक निकायको पहलमा मात्र प्रतिबन्ध सम्भव नभएकाले विभिन्न सरकारी निकायसँग समन्वय गरिएको केन्द्रका सूचना अधिकारी डा. भक्तबहादुर केसीले रातोपाटीलाई बताए । ‘सबैभन्दा पहिला त चेतना फैलाउनु आवश्यक छ,’ उनले भने, ‘यसको लागि स्वास्थ्य निकायको एक्लो पहल पर्याप्त नहुने भएकाले विभिन्न निकायसँग समन्वय गरेका हौँ ।
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनार्थ सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०७६, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को कार्यान्वयन फितलो छ । तसर्थ प्रचलित कानुनी प्रावधान लागू गर्न पहल लिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् ।
अहिले गरिएको परिपत्र भेपसँग मात्र सम्बन्धित छ, यसले सरकारी नियतमा प्रश्न उठ्न थालेको हो ।
‘लेखिएको विषय कार्यान्वयन भएन, ई–सिगरेट, भेप, हुक्काको नाममा सार्वजनिक स्थल र रेष्टुरेन्टहरुमा सेवन बढिरह्यो, यी वस्तुहरू सुर्तीजन्य पदार्थ कै श्रेणीमा पर्ने भएकाले नियम अनुसार नियन्त्रण गरिनु पर्छ भनेर पहल लिएका हौँ,’ उनले भने ।
विगतदेखि नै सुर्तीजन्य धूम्रपानको नियमन हुन नसकेको अवस्थामा ई–सिगरेटलाई प्रतिबन्ध लगाउने सरकारी पहल सफल होला त भन्ने प्रश्न उठेको छ । ह्याम्स अस्पताल अस्पतालका छातीरोग विशेषज्ञ डा. राजु पंगेनीले भेपमा रोक नलगाए भविष्यमा भयावह समस्या निम्तिने चेतावनी दिन्छन् ।
निर्देशिकामा उल्लेखित ‘चुरोट, बिँडी, सिगारको खिल्ली फुटकर वा खुद्रा बिक्री गर्न र इलेक्ट्रोनिक सिगरेटको उपभोग गर्न नपाउने’ भनेर लेखिए पनि अहिले गरिएको परिपत्र भेपसँग मात्र सम्बन्धित छ, यसले सरकारी नियतमा प्रश्न उठ्न थालेको हो ।
यद्यपि युवायुवतीमा भेपको आदत बस्दै गएको, स्वास्थ्यमा दीर्घकालीन असर पर्न थालेको लगायतका कारणले इ–सिगरेटतिर सरकारको आँखा गएको देखिन्छ ।
केन्द्रको परिपत्रमा नियमन निर्देशिका बमोजिम ‘सुर्तीजन्य पदार्थ ई–सिगरेट (भेप) को उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन निषेध कार्य कार्यान्वयनको लागि अनुरोध गर्दछु’ भनिएको छ ।
ह्याम्स अस्पताल अस्पतालले ‘भेप/ई–सिगरेट: बढ्दो गम्भीर स्वास्थ्य चुनौती’ विषयमा हालसालै गरेको अन्तरक्रियामा स्कुल तथा कलेजका किशोर किशोरीले आफ्नो अभिभावकबाट लुकाएर भेप प्रयोग गरेको सुनाएका थिए ।
केन्द्रका सूचना अधिकारी केसीले इलेक्ट्रोनिक सिगरेट उत्पादन, आयात, बिक्री वितरण र प्रचार प्रसार निषेध गर्नुपर्ने उल्लेख भएकाले परिपत्र पठाइएको बताए । केसीका अनुसार सुर्तीजन्य पदार्थ नियमनका लागि दुई थरी नियम छ । एउटा चित्रसहितको सन्देश दिने र अर्को निषेध गर्ने । ‘सुर्तीजन्य बट्टा वा र्यापर कसरी राख्ने वा कति प्रतिशत राख्ने भन्ने छ । यसलाई नियमन मात्रै गर्ने भनेर उल्लेख छ, सोही अनुसार अन्य धूम्रपानलाई नियमन गर्न सकिन्छ’ उनले भने, ‘तर इलेक्ट्रोनिक भेपलाई नियमन गर्न सकिँदैन, यसलाई निषेध नै गर्नुपर्छ ।’
इलेक्ट्रिक सिगरेटको स्वरूपहरू धेरै परिवर्तन हुने भएकाले बनाएका कानुनले सधैँ काम नगर्ने केसीको भनाई छ । ‘इलेक्ट्रिक सिगरेटले फरक–फरक खालको उत्पादन ल्याउँछ, नियमन गर्न सकिँदैन,’ उनले भने, ‘त्यसकारण यस निर्देशिकामा निषेध गर्नुपर्ने विषय उल्लेख गरेको रहेछ, सोही अनुसार निषेधको पहल गरिएको हो ।’
२० वर्षअघि चीनमा तयार पारिएको भेप नेपाल भित्रिएको ७ वर्ष भयो । यसको प्रयोगकर्ता किशोरकिशोरी र युवा–युवती हुन् ।
ह्याम्स अस्पताल अस्पतालले ‘भेप/ई–सिगरेट: बढ्दो गम्भीर स्वास्थ्य चुनौती’ विषयमा हालसालै गरेको अन्तरक्रियामा स्कुल तथा कलेजका किशोर किशोरीले आफ्नो अभिभावकबाट लुकाएर भेप प्रयोग गरेको सुनाएका थिए ।
अस्पतालका छातीरोग विशेषज्ञ डा. पंगेनीले नेपालमा भेपलाई गम्भीर रूपमा नहेरिएकाले कतिले प्रयोग गर्ने गरेका छन् भन्ने तथ्याङ्क नरहेको बताए ।
भेपको प्रभाव तत्काल नदेखिए पनि भविष्यमा यसले क्यान्सर, मुटु रोगलगायत विभिन्न स्वास्थ्य समस्या निम्त्याउने चेतावनी उनले दिए ।
‘भेपिङको धुवाँमा क्यान्सर गराउने तत्त्वहरू देखिएको छ, भेपमा कम मात्रामा क्यान्सर गराउने तत्त्व देखिन्छ । क्यान्सर गराउन सक्ने खतरा छ । धूम्रपानले निम्त्याउने असर नै भेपले गराउने खतरा छ’ उनले भने ।
- ऐन र निर्देशिका कार्यान्वयनमा किन अलमल ?
नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनेका ऐन तथा निर्देशिका दशकपछि मात्रै कार्यान्वयनमा ल्याइँदैछ । यसो हुनुमा उत्पादनकर्ताको हस्तक्षेप र सरकारी निकायको अलमल मुख्य कारण रहेको सरोकारवालाले बताएका छन् । ‘सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूले निर्देशिका मान्दैनौँ भनेर सर्वोच्च अदालतमा मुद्दा समेत हालेका छन्,’ केन्द्रका सूचना अधिकारी डा. केसीले भने, ‘पहिला नै कार्यान्वयनका लागि पहल गर्नु पर्थ्यो तर सुर्तीजन्य पदार्थको उत्पादनकर्ताको हस्तक्षेपलगायत बहुक्षेत्रको जिम्मेवारी भएकाले कार्यान्वयन हुन सकेन ।
- किन बन्द गर्ने ई–सिगरेट, के छ असर ?
भारतलगायतका ३४ मुलुकमा भेप पूर्णरुपमा रोक लगाइएको छ । कतिपय मुलुकमा भने प्रयोगमा नियमन गरिन्छ । नेपालमा भने यसको नियमन प्रभावकारी थिएन ।
निकोटिनले फोक्सोमा असर गरेर खोकी लाग्ने, छाती घ्यार घ्यार बज्ने, पछि गएर दम रोगसम्म हुन सक्ने सम्भवना ल्याउँछ ।
डा. पंगेनीले भेपले पार्ने असर यसरी स्पष्ट पारेका छन् :
–भेपमा निकोटिनको प्रयोग हुने भएकाले यसको आदत छिटो बस्ने हुन्छ । भेपलाई ‘गेट वे अफ एडिक्सन’ भनिएको छ । ड्रग्सको एडिक्सन हुने, धूम्रपानको एडिक्सन हुने खतरा बढ्छ ।
–निकोटिन आफैँमा पनि सुरक्षित छैन । यसले टाउको (मस्तिष्क) देखि खुट्टाको स्नायु प्रणालीको रगत जम्नेसम्मको समस्या ल्याउन सक्छ ।
–भेपले तुरुन्तै ल्याउने समस्या भनेको ब्लड प्रेसर बढ्ने, मुटुको चाल बढ्ने, हात खुट्टा काम्ने जस्तो समस्या हुन्छ ।
–मानिसको मस्तिष्क २५ वर्षसम्म विकास हुन्छ । किशोर किशोरीले बढी मात्रमा प्रयोग गर्ने भेपका कारण २०–२५ वर्षमा उनीहरूको व्यक्तित्वमा नै असर पर्छ । उनीहरू झिजो मान्ने, रिसाउने, बिर्सने जस्ता विभिन्न खालका समस्याहरू देखापर्छ ।
–निकोटिनले फोक्सोमा असर गरेर खोकी लाग्ने, छाती घ्यार घ्यार बज्ने, पछि गएर दम रोगसम्म हुन सक्ने सम्भवना ल्याउँछ ।
–भेपमा १५ हजार बढी स्वाद छन् । यसले पनि ‘फ्लेबरिङ एजेन्ट’ को करणले गर्दा फोक्सो बिगार्ने, निमोनिया हुने, अक्सिजनको मात्रामा कमी आउने समस्या देखिन्छ ।
- धूम्रपान नै नियमन बाहिर
सरकारले भेप प्रतिबन्ध लगाउने चाँजोपाँजो मिलाइरहेको छ । तर, ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१’ को नियम ‘२८’ मा ‘चुरोट, बिँडी, सिगारको खिल्ली फुटकर वा खुद्रा बिक्री गर्न र इलेक्ट्रोनिक सिगरेटको उपभोग गर्न नपाउने’ भन्ने प्रावधान अहिलेसम्म लागू गरिएको छैन ।
यसको नियमनमा कठिनाइ भइरहेको डा. पंगेनीले जनाए । उनले भने, ‘नियमावलीलाई कार्यान्वयन र नियमन गर्नुपर्यो ।’
निर्देशिकाको उपनियम (२) मा ‘उत्पादक लगायत कसैले पनि सिल तोडिएको चुरोट, बिँडी, सिगार र इलेक्ट्रोनिक सिगरेट जस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्यापर बिक्री वितरण गर्न पाउने छैन’ भनिएको छ ।
यस्तै, उपनियम (४) मा ‘कसैलेपनि करमुक्त पसलबाट चुरोट, बिँडी, सिगार, हुक्का, सिसा, कंकड, चिलिम, सूल्पा, खैनी, सुर्ती, गुट्खा जस्ता सुर्तीजन्य पदार्थ बिक्रिवितरण गर्न पाउने छैन’ भनिएको छ । यसको पनि नियमन हुन सकेको छैन ।
यतिबेला १८ वर्ष मुनिका बालबालिका, गर्भवतीले धूम्रपानजन्य वस्तु खरिद गर्न नपाउने, सार्वजनिक यातायात वा सार्वजनिक स्थलमा धूम्रपानजन्य पदार्थ सेवन गर्न नपाउने गरी पहल गरिएको केन्द्रका सूचना अधिकारी केसीले बताए ।
‘कतिपयलाई भेपमा निकोटिन हुन्छ भनेर थाहा छैन, पानीको बाफ लिइरहेको छु भनेर लिनुहुन्छ, उहाँहरूलाई यसको लत लाग्छ,’ उनले भनिन्, ‘निकोटिन लिने बित्तिकै १० सेकेन्डमा ब्रेनमा जान्छ, केमिकलले एकदम रमाइलोपन महसुस हुन्छ, यो एकदमै छिटो लत बस्ने खालको हुन्छ ।’
धूम्रपानजन्य वस्तुमा खतराको साङ्केतिक चिन्ह अनिवार्य राख्न पहल गरेको केसीले सुनाए । ‘धूम्रपानजन्य वस्तुमा अनिवार्य खतरा चिन्हको प्रयोग गर्नुपर्ने छ,’ केसीले भने, ‘जस्तो क्यान्सर गराउँछ भनेर फोक्सोको चित्र, निकोटिनको मात्रा लगायत विषयमा कडाइ गरी नियमन गर्दै आएका छौँ ।’
- के हो ई–सिगरेट ?
ई–सिगरेट वा भेप एक विद्युतीय चुरोट हो जुन ब्याट्रीबाट चल्छ । श्वास लिने बाफमा निकोटिन हुन्छ । स्वाद र विषाक्त पदार्थहरू समावेश हुने भएकाले यसले मस्तिष्क, फोक्सो, पाचनप्रणाली लगायत शरीरका विभिन्न अंगमा हानी पुर्याउँछ ।
- भेपको लक्षित समूह स्कुल र कलेजका विद्यार्थी
एक सर्वेक्षणले नेपालमा २४ वर्ष मुनिका ६ प्रतिशतले ई–सिगरेट नियमित सेवन गर्ने गरेको पाइएको छ । ह्याम्स अस्पतालमा कार्यरत पल्मोनरी एन्ड क्रिटिकल केयर विज्ञ डा. रक्षा पाण्डेका अनुसार सर्वेक्षणमा १८ देखि २४ वर्षका ४ सय जनाबिच गरिएको हो, जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषले भाग लिएका थिए ।
२० प्रतिशतले एक पटक वा सो भन्दा बढी भेप सेवन गरेको सर्वेक्षणले औँल्याएको छ । ८० प्रतिशतले साथीको लहैलहैमा लागेर भेप सेवन गरेको बताएका छन् । ई–सिगरेट अनलाइनमार्फत र भौतिक रूपमा किन्ने गरेको पाइएको छ ।
ई–सिगरेटमा निकोटिन हुन्छ । यसको आदत बसेमा छुटकारा पाउन मुस्किल हुने डा. पाण्डेले सुनाइन् । ‘कतिपयलाई भेपमा निकोटिन हुन्छ भनेर थाहा छैन, पानीको बाफ लिइरहेको छु भनेर लिनुहुन्छ, उहाँहरूलाई यसको लत लाग्छ,’ उनले भनिन्, ‘निकोटिन लिने बित्तिकै १० सेकेन्डमा ब्रेनमा जान्छ, केमिकलले एकदम रमाइलोपन महसुस हुन्छ, यो एकदमै छिटो लत बस्ने खालको हुन्छ ।’
- कति आयात हुन्छ भेप ?
चालु आर्थिक वर्ष २०८०/२०८१ को ९ महिनाभित्र १ करोड ५९ लाख रुपैयाँ बराबरको १६ हजार वटा भेप आयात भएको भन्सार विभागले जनाएको छ । जसबाट आलु आर्थिक वर्षको ९ महिनाभित्र ८७ लाख राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
गत आर्थिक वर्षमा २१ करोड ३९ लाख रुपैयाँ बराबरको ३२ लाख गोटा भेप आयात भएको थियो । जसबाट १३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का