टीओआरको ड्राफ्ट ‘फाइनल’ गर्नुअघि कार्यदलका सदस्यले आन्तरिक छलफल गर्ने
काठमाडौँ । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलका सदस्यहरूले आआफ्नो पार्टीमा छलफल गरेर टीओआरको ड्राफ्टलाई अन्तिम रूप दिने भएका छन् ।
मङ्गलवार बिहान बसेको कार्यदलको बैठकमा सत्ता र प्रतिपक्षका कार्यदल सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । बैठकपछि दुवै पक्षका नेताहरूले छलफल सहमति नजिक पुगेको बताएका छन् ।
उनीहरूले पार्टीका शीर्ष नेताहरूसँग पुनः छलफल गरेर दिउँसो बस्ने कार्यदलको बैठकमार्फत समितिको कार्यादेश (टीओआर) लाई टुङ्ग्याउने बताएका छन् ।
एमाले प्रमुख सचेतक समेत रहेका महेश बर्तौलाले टीओआरमा मध्यविन्दु खोज्न दुवै पक्ष सहमत भएको बताए ।
‘आजको छलफलमा हामी धेरै विषयमा अगाडि बढेनौँ । तर असहमतिका विषय न्यारोडाउन गर्न भने सहमत भयौँ’, बर्तौलाले भने, ‘मिडप्वाइन्ट खोज्न सहमत भयौँ ।’ उनले कार्यदलका सदस्यहरूले आआफ्ना नेताहरूसँग आन्तरिक छलफल गरेर पुन बैठक बसेर सहमति हुने बताए । ‘आन्तरिक छलफल गर्ने र त्यसपछि पुन कार्यदल बैठक बस्ने सहमति भएको छ’, बर्तौलाले भने, ‘छलफल अत्यन्त सकारात्मक भएको छ । कार्यदलमा सहमति गरेर हाउसको गतिरोध पनि अन्त्य गर्ने सहमति भएको छ ।’
कांग्रेसबाट कार्यदलमा सहभागी नेता जीवन परियारले सहमति कसरी जुटाउन सकिन्छ भनेर साझा बिन्दु खोज्ने काम भएको बताए । ‘आज पनि हामीले जे भन्दै आएका थियौँ, त्यही कुरा उठायौँ’, परियारले भने, ‘यस विषयमा साझा सहमति कसरी जुटाउन सकिन्छ भन्नेमा छलफल भयो ।’
परियारले जुन व्यक्तिका बारेमा सहकारीको रकम अपचलन भयो भनेर प्रश्न उठाएको हो त्यसबारे छानबिन हुनुपर्छ भन्ने आफूहरूको बटमलाइन भएपनि बिचको बाटो खोज्न सकिने बताए । ‘हाम्रो बटम लाइन यो हो भनेर विगतदेखि नै भन्दै आएका हौँ तर बिचको बाटोबाट सहमति खोज्न सकिन्छ भन्ने कुरा पनि आएका छन्’, परियारले भने, ‘कार्यदलको अर्को बैठकमा सत्तापक्षलाई त्यो बिचको बाटो अर्थात् मध्यविन्दुको प्रस्ताव लिएर आउनुस् भनेका छौँ ।’
सत्तारुढ दल रास्वपाका नेता शिशिर खनालले एउटा व्यक्तिमाथिको आरोपकै आधारमा संसदीय छानबिन समिति बन्दैन भन्ने कुरा भनिरहेको र सोही कुरा आजको छलफलमा पनि राखेको बताए । ‘तर समग्र सहकारीको समस्या समाधानमा हामी सकारात्मक छौ’, खनालको भनाइ छ । उनले आआफ्ना पार्टीका नेताहरूसँग छलफल गरेर दिउँसो कार्यदलको बैठक पुनः बस्ने मोटामोटी सहमति भएको पनि बताए ।
कार्यदल सदस्य खनालले रास्वपाकै कारणले समिति बन्दैन भन्ने जस्तो लागे आफूहरू समितिमा नै नबस्ने बताएको जानकारी दिए ।
‘उहाँहरूले रवि लामिछानेको नाम राख्नुपर्छ भन्ने आफ्नो कन्सर्न भएको कुरा राख्नुभएको छ । अस्ति हाम्रो सभापतिले पनि भनिसक्नुभएको छ कि हामी बस्दा टीओआर बनाउन अप्ठेरो हुन्छ भने हामी नबस्न पनि तयार छौ । आज मैले त्यो कुरा पनि राखेँ । हाम्रो कारणले टीओआर बन्ने कुरा रोकिँदैन’, परियारको भनाइ छ ।