कार्यदल बैठक : संसदीय छानबिन समितिको ‘टीओआर’मा सहमति नजिक
काठमाडौँ । सहकारी ठगीको विषयमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा करिब करिब सहमति जुटेको छ । सिंहरदबारस्थित कानुन मन्त्रालयमा मंगलबार बिहान बसेको बैठक टीओआरबारे सहमति नजिक पुगेको हो।
कार्यदलका सदस्य जीवन परियारले बिचको बाटोबाट सहमति खोज्ने बैठकमा समझदारी बनेको हो । ‘सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछाने संलग्न हुनुहुन्छ भन्दै आएका थियौं, आज पनि त्यही कुरा उठायौँ’, उनले भने, ‘यस विषयमा साझा सहमति कसरी जुटाउन सकिन्छ भन्नेमा छलफल भयो ।’
उनले अर्को बैठकमा ठोस सहमति जुट्ने पनि विश्वास व्यक्त गरे । ‘जुन व्यक्तिका बारेमा प्रमुख प्रतिपक्षले अपचलन भयो भनेर प्रश्न उठाएका छौँ’, उनले भने, ‘त्यसको छानविन हुनुपर्छ । त्यो हाम्रो बटम लाइन भनेका छौ । विचको बाटोबाट सहमति खोजौ भनेका छौ । अर्को बैठकमा प्रस्ताव लिएर आउनुस् भनेका छौँ ।’
यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले धेरै कुरा सकारात्मक ढंगले अघि बढेकाले प्रतिपक्षी दलले सदन खुलाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । सदनमा हुने गतिविधिले कार्यदलको बैठक प्रभावित नहुने उनको धारणा थियो ।
रास्वपाका नेता तथा कार्यदलका सदस्य शिशिर खनालले सभापति रवि लामिछानेको विषय समेट्न आफूहरूलाई कुनै आपत्ति नभएको प्रतिक्रिया दिएका थिए । गृहमन्त्री समेत रहेका लामिछानेले पनि आफ्नो विषय समेट्न आफूलाई कुनै फरक नपर्ने भनेर भनेको उनको भनाइ थियो ।
उनले भने, ‘एउटा व्यक्तिमाथिको आरोपकै आधारमा संसदीय छानविन समिति बन्दैन भन्ने कुरा सिधा छ । तर समस्या समाधानमा हामी सकारात्मक छौँ भनेका छौँ । दिउँसो बस्ने मोटामोटी कुरा भएको छ ।’
सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो ।
नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
यसअघि आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको भन्दै छानबिन समितिको सामना गर्न तयार रहेको बताएका थिए । तर, आफूलाई सञ्चारमाध्यमको हेडलाइनको आधारमा जबरजस्ती दोषीजस्तो देखाउन खोजिएको गुनासो गरेका थिए ।
यसअघि प्रकाशित समाचारमा केही तथ्यगत त्रुटि देखिएकाले सच्याएर अध्यावधिक गरिएको छ-सम्पादक