केन्द्रीय संस्करण

मिसन लिएर पाकिस्तान पुगे नेपाली ‘वजरङ्गी भाइजान’

person explore access_timeबैशाख १५, २०७५ chat_bubble_outline1

–एसके यादव
 

काठमाडौं–कहिलेकाहीँ फिल्मी पर्दाका दृष्यसँग मेलखाने घटना वास्तविक जीवनमा पनि भइदिन्छन् । कतिपय घटना फिल्ममा हेरिएको हुन्छ । तर त्यस्ता घटना प्रत्यक्ष जीवनमा पनि मानिसले भोगिरहेका हुन्छन् ।

त्यस्तै एउटा घटना छ यहाँ । हिन्दी फिल्म ‘वजरङ्गी भाइजान’ मा जस्तै ।

घटना यहाँ नेपालमा भएको छ । ‘वजरङ्गी भाइजान’ फिल्ममा नायक (सलमान) ले एउटा बच्ची फेला पारेका हुन्छन् । बच्चीको अभिभावकलाई खोज्ने प्रयास हुन्छ । तर, पछि पत्ता लाग्छ कि बच्ची पाकिस्तानी हुन् ।

पाकिस्तान पठाउने अनेक उपाय गर्छन् । तर, त्यसबाट सम्भव नभएपछि नायक आफै पाकिस्तान जान तयार हुन्छ । तर, भीषा लाग्न गाह्रो हुन्छ ।

कानुनी प्रकृयाबाट पाकिस्तान जान असमर्थ हुन्छन नायक ।

अन्त्यमा अनेक दुख कष्ट सहेर चोर बाटो हुँदै नायक पाकिस्तान छिर्छन् ।

बच्चीलाई उसको अभिभावकसँग भेटाउन नायकले अनेक प्रयास गर्छन् । त्यसका लागि उनले पाकिस्तानमै निकै संघर्ष गर्छन् ।

अन्त्यमा बच्चीलाई उसको अभिभावकसँग भेटाएर भारत फर्किन्छन् ।

यो हिन्दी फिल्म ‘वजरङ्गी भाइजान’ को कथा भयो । तर, यहाँ नेपालमा वास्तवमै यस्तै भएको छ । घटनाको प्रकृति एउटै भएपनि कथावस्तु चाहिँ अलि फरक छ ।

हत्याको आरोपमा साउदी जेलमा रहेका उमेश यादवलाई मृत्यु दण्ड दिएपछि उनलाई बचाउने प्रयास भयो । यो प्रयास सरोजराय यादवले गरेका छन् ।

उनी पाकिस्तान पुगेका छन् । छ दिनको लामो संघर्षपछि अन्ततः उनी सफल भएका छन् ।

समाजिक संजालमा सरोज रायलाई पनि ‘वजरङ्गी भाइजान’ जस्तै ‘सरोज भाइजान’ भन्न थालिएको छ । ‘सरोज भाइजान’ को कथा थाहा पाउन, घटना के हो ? यो जान्नुपर्छ पहिलो ।

धनुषाका उमेश यादव वैदेशिक रोजगारीका लागि साउदी गएका थिए ।

त्यहाँसँगै काम गर्ने एक पाकिस्तानी साथीको गरेको आरोप उनीमाथि लागेको छ ।

यो सन् २००७  को घटना हो । विवादपछि झडप भएको र त्यसबेला पाकिस्तानी कामदार मोहम्मद लतिफको मृत्यु भएको स्वीकार गर्छन्, उमेश ।
तर, त्यहाँको अदालतले आर्थिक लेनदेन विवादमा सुतिरहेको अवस्थामा लतिफलाई उमेशले रड हानेर हत्या गरेको फैसला सुनाएका छ ।

त्यसपछि उमेशलाई मृत्युदण्ड दिने फैसला बैशाख २ गते पुनरावेदन आदालतले गरेको हो ।

यसअघि  जनरल कोर्टले सन् २०१७ मार्च १५ मा उमेश यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा हान्ने र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो ।

तर, जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलले त्यहाँको पुनरावेदन अदालतमा रिट दायर गरेको थियो ।

सोही पुनरावेदन अदालतले उमेशका लागि अहिले मृत्युदण्डको फैसला सुनाएको हो ।

सोही मृत्युदण्डबाट उमेशलाई बचाउन लागि सरोजराय पाकिस्तान पुगेर संघर्ष गरिरहेका छन् ।

उमेश यादवबाट हत्या भएको भनिएका लतिफको परिवार भेट्न सरोजराय यादव पाकिस्तान पुगेका हुन् ।

साउदी जेलमा रहेका उमेश यादवलाई मृत्युदण्ड दिएको समाचार दुई महिना अघि नै विभिन्न सञ्चारमाध्यममा आएको थियो ।

समाचार पढेर सरोजले उमेश यादवको बारे खोजतलास थाले ।

र, सोही क्रममा उनी विभिन्न सरोकारबालाको सम्पर्कमा गए ।

सम्पर्कमा गएपछि उनले साउदीस्थित नेपाली दुतावासबाट सूचना पाए कि उमेशलाई अहिले मृत्युदण्ड दिइएको छैन, यी सब हल्ला मात्र हुन् ।

दूतावासले सो व्यहोराको विज्ञप्ति पनि जारी गरेको थियो ।

उमेशको सजायको बारेमा त्यहाँका पुनरावेदन अदालतले केही दिनमा फैसला गर्दैछ भनि सरोजरायले जानकारी पाएका थिए ।

पुनरावेदन अदालतले मृत्युदण्ड पनि दिनसक्छ भन्ने उनले विभिन्न स्रोतबाट सूचना पनि पाए ।

त्यसपछि उनी ‘उमेशलाई जसरी पनि बचाउनुपर्छ’ भनेर कम्मर कसेर लागे ।

फागुन पहिलो हप्तादेखि ‘उमेश बचाउ अभियान’मा लागेका सरोजले नेपालमा परराष्ट्र र श्रम रोजगार मन्त्रालय गएर कुरा राखे ।
काठमाडौंस्थित पाकिस्तानी दूतावास पुगे । साउदीका नेपाली राजदूत, पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री, राजनीतिक दलका नेतालगायत थुप्रैसँग भेटे ।

मिसन थियो, ‘उमेशलाई बचाउने ।’ यसैका लागि यी भेटमा उनले कहीँ परामर्श गरे । अनि कहीँचाहिँ हार गुहार ।’

एक महिनासम्म उनी निकै दौडधुप गरे । जसले जहाँ–जहाँ जान भने, सरोजराय त्यहीँ त्यहीँ पुग्थे ।

उमेश यादवले ‘कहाँबाट न्याय पाउन सक्छन् ?’

यहीँ प्रश्नको उत्तर खोज्दै उनले धेरै ठाँउ चक्कर लगाए ।

यहाँसम्म कि जेलमा रहेका उमेश यादवसँग समेत उनले फोनमा कुरा गर्न भ्याए ।

सबैतिरबाट उनले आश्वासन मात्र पाए ।
त्यतिबेलासम्म अर्थात बैशाख २ गते उमेशलाई मृत्यु दण्ड दिने निर्णय आयो ।
बचाउने अभियानमा लागेका सरोजराय त्यो निर्णय थाह पाएर बेचैन भए ।

अब के गर्ने ?

कसरी बचाउने ?

कुन उपाय लगाउने ?

सरोजरायसँग थप तनाव आइलाग्यो । उनीसँग एउटा मात्र विकल्प बाँकी थियो । त्यो हो, आममाफी ।

पाकिस्तानी पीडित परिवारले माफ गरेको खण्डमा उमेशको ज्यान बच्न सक्छ ।

यही कुरा बुझेपछि सरोज पाकिस्तान जाने तयारीमा जुटे ।

शुरुमा उनलाई नेपालस्थित पाकिस्तानी दूतावासले भीसा दिन नै मानेन ।

भारतीयजस्तो देखिने सरोज रायमाथि पाकिस्तानी दूतावासले केही शंका गर्यो । उनले दूतावासमा सबै कुरा भने ।

तैपनि एकजना व्यक्तिको ज्यान बचाउन अर्को व्यक्ति, जो परिवारको सदस्य पनि होइन, उसले किन यति धेरै प्रयास गरिरहेको छ ? दूतावासले यो विषयलाई चासोसँग हेर्यो ।

पछि तराई मधेश राष्ट्रिय परिषद्का सदस्य रियाज साफीले पाकिस्तानमा रहेका आफ्ना मित्रसँग सम्पर्क गरेर सहयोग मागे ।

रियाजले पाकिस्तानका अन्य साथीसँग सम्पर्क गराईदिए । 

भीषका लागि १५ दिनसम्म उनले मिहिनेत गरे । परराष्ट्रमन्त्रालय मात्रै नौ पटक पुगे । त्यस्तै पटक पटक उनी काठमाडौंस्थित पाकिस्तानी राजदूतावास पुगे । 

परराष्ट्र मन्त्रालयले चिठी लेखेर दियो । त्यसपछि मात्र उनले भीषा पाए । 

भीसा पाएपछि उनी पाकिस्तान जाने तयारीमा लागे ।

पाकिस्तान जानका लागि अमित श्रीवास्तव र अमेरिकामा रहेका केही मधेशी युथले सहयोग गरे उनलाई ।

वैशाख ९ गते नेपालबाट उडे उनी । अनि पाकिस्तानको कराँची पुगे ।

कराँची पुगेपछि नै उनलाई पाकिस्तानी साथी लिन आए ।

सरोजराय यादव रातोपाटीसँगको कुराकानीमा भन्छन्, ‘उनीहरु पनि सरोजराय जस्तै पाकिस्तानका सामाजिक अभियन्ता नै हुन् ।’

उनीहरुलाई उमेश यादव र उनका परिवारबारे सरोजरायले सुनाएका थिए ।

त्यहाँका अभियन्ता साथीको सहयोगमा उनी वैशाख १० गते नै इस्लामावाद पुगे । 

तर, पीडितको घर चाहिँ फैसलावाद हो, जो इस्लामावादबाट ३५० किमी टाढा छ । 

त्यहाँ गएर मृत्य भएका लतिफका परिवारलाई भेटे उनले ।

वैशाख ११ गते पीडित परिवारसँग उमेशले छलफल गरे ।

परिवारलाई सम्झाउन र चित्त बुझाउन सरोजरायलाई निकै समय लाग्यो ।

अन्ततः पीडित परिवारले उमेशलाई माफी दिन राजी भए ।

त्यसपछि सरोजले पाकिस्तानी सर्वोच्च अदालतका कानुन व्यवसायी मोहम्मद नुकससँग भेटे । सबै कागजी प्रकृया पुरा गरे ।

पीडित परिवारले माफी दिएपछि उमेश यादवको ज्यान जोगेनी सम्भावना बढेको छ ।

३० लाख ब्लडमनी पीडित परिवारले लिने भएका छन् । 

उमेश यादवको परिवारको तर्फबाट ३० लाख ‘ब्लडमनी’ दिने तयारी भयो ।

यो सहमतिपछि पीडित परिवार माफी दिन राजी भयो । सरोजरायले सहमति–पत्रमा औंठा छाप गरेका छन् ।

यदि कुनै कारणवश ‘ब्लडमनी’ दिन सकिएन सरोजरायमाथि मुद्दा लाग्न सक्छ ।

पीडित परिवारले मुद्दा दिएर पनि पैसा असुल गर्न सक्छ ।

यता, अब पीडित परिवारले पनि माफीबाट पछाडि हट्न पाउँदैन ।

एकचोटी माफी दिइसकेपछि फेरि पछाडि हट्न नमिल्ने गरि कागज भएको सरोज रायले बताए ।

अब सरोजरायको एउटै चिन्ता छ, ‘३० लाख कसरी जुटाउने ?

तर, उनले हार खाएका छैनन् ।

जति सक्दो चाँडो ३० लाख रकम जुटाएर पीडित परिवारलाई हस्तान्तरण गर्ने सरोजरायको योजना छ ।

सरोजराय वैशाख १४ गते नै पाकिस्तानस्थित नेपाली दूतावास गए । त्यहाँ उनले सहमति सम्बन्धी सवै कागजात बुझाए ।

साउदीस्थित नेपाली दूतावासले सो कागजात पाएपछि पुनरावेदन गर्नेछ ।

सो कागजात साउदीस्थित नियोगमा दिइने छ ।

चित्त नबुझे फैसला भएको दिनदेखि ४८ दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान छ ।

उता, साउदीमा रहेका नेपाली दूतावासले पनि पुनरावेदन गर्ने तयारी गरिरहेको सरोजरायले रातोपाटीलाई बताए ।

पाकिस्तानबाट पीडित परिवारले गरेको माफीको कागज साउदी पुगेपछि पुनरावेदन गर्न सजिलो हुने साउदीस्थित नेपाली राजदूत महेन्द्र सिंहले बताएको सरोज रायले बताए ।

आशा गरौँ, उमेशले मृत्युदण्डबाट मुक्ति पाउने छन् । यसका लागि नेपाल सरकारले पनि उत्तिकै प्रयास गर्नेछ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 22, 2020, 4:11 p.m. Shivji yadav
    Reyal hero aphno lagi t sabai bachxan aru ko lagi bachn daerae gharo hux BEST OCLAk
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.