सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, ०७ जेठ २०८१, २१ : ५१
सोमबार, ०७ जेठ २०८१

आज २०८१ जेठ ७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा प्रधानमन्त्रीले पाए विश्वासको मत, सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलायो आन्तरिक बैठक, ललितपुरका धार्मिक स्थलमा पूर्वराजा ज्ञानेन्द्रले गरे पूजाअर्चना, वैदेशिक व्यापारतर्फका सबै सूचक ओरालोतिर, बालेनले फोहोर बोकेका गाडी माओवादीको कार्यालयमा पठाएपछि.., सुदूरपश्चिम प्रदेश सभामा कसको हाजिर कति ? लगायत छन् ।

१. प्रधानमन्त्रीले पाए विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका बिच प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि मतविभाजन हुँदासमेत कांग्रेसका सांसदहरूले संसदमा नाराबाजी गरिरहेका थिए । प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको पक्षमा १५७ सांसदले मत दिएका थिए ।

२. सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको भूमिकाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँच वटा विपक्षी दलले आपत्ति जनाएका छन् । प्रतिनिधि सभामा भएको नाराबाजीका बिच सभामुखले नियमावलीको धज्जी उडाउने गरी बैठक सञ्चालन गरेको विपक्षी दलको ठहर गरेको हो ।  

३. कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलायो आन्तरिक बैठक
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आन्तरिक बैठक बोलाएको छ । जेठ ९ गतेका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । 

४. ललितपुरका धार्मिक स्थलमा पूर्वराजा ज्ञानेन्द्रले गरे पूजाअर्चना
पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व र पहिचान बोकेको ललितपुरस्थित पाटनको विभिन्न धार्मिक क्षेत्रहरूमा यात्रा गरेका छन् । सोमबार पूर्वराजाले पाटन क्षेत्रमा पूजा तथा अवलोकन गरेका हुन् । उनले बङ्गलामुखी मन्दिर, हिरण्य वर्ण महाविहार र कृष्ण मन्दिरमा पूजाआजा गरेका छन् ।

५. वैदेशिक व्यापारतर्फका सबै सूचक ओरालोतिर
वैदेशिक व्यापारतर्फका सबैजसो सूचक ऋणात्मक देखिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०८०/८१) को १० महिनाको अवधिसम्मको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा आयात, निर्यात, व्यापार घाटा, कुल वैदेशिक व्यापारसहित सबैजसो सूचक ओरालो लागेका हुन् ।

६. बालेनले फोहोर बोकेका गाडी माओवादीको कार्यालयमा पठाएपछि...
काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) शाहले फोहोर बोकेका चार वटा गाडी माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पठाएपछि प्रहरीले ती गाडीसहित चालकलाई केही समय नियन्त्रणमा लिएर रिहा गरेको छ । 

७. बैंकहरूको खराब कर्जाको दर बढ्यो
बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर (एनपीएल) झन् बढेको छ । अघिल्लो महिना ३.७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा वृद्धि भएर ३.९८ प्रतिशत पुगेको हो । 

८. सुदूरपश्चिम प्रदेश सभामा कसको हाजिर कति ?
सुदूरपश्चिम प्रदेश सभामा तेस्रो अधिवेशनका क्रममा १० वटा बैठक बसेको छ । प्रदेश सभा सचिवालयले उपलब्ध गराएको हाजिर रेकर्ड अनुसार प्रमुख दलका मुख्य मानिएका नेता÷सांसद नै बैठकमा कम उपस्थित देखिएका छन् ।

९. सेयर बजारमा वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार २७.५४ अङ्कको वृद्धि आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.३३ प्रतिशतले बढेर बन्द भएको हो ।

१०. बागमतीमा मन्त्रालय विभाजन : नैतिकताको प्रश्नले घेरियो एमाले
बागमती प्रदेशमा मन्त्रालय विभाजन गरेसँगै सत्ता साझेदार एमालेमाथि नैतिकताको प्रश्न खडा भएको छ । मन्त्रालय विभाजनको विरुद्ध रहेको एमाले यतिबेला आफ्नै समर्थनमा प्रदेशमा १३ मन्त्रालय बनाउन सहमत बनेसँगै नैतिकताको प्रश्नले घेरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप