बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

प्रचण्डलाई एमालेको काँध, कांग्रेसको क्रोध

सोमबार, ०७ जेठ २०८१, १९ : ५४
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रतिनिधि सभा बैठकमा निकै झोक्किए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीका बिचमा संसद् बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका उनी प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा पनि नाराबाजी भइरहँदा झोक्किएका हुन् ।

‘म अवरोधमा रहेका खासगरी कांग्रेसका साथीहरूलाई भन्न चाहन्छु– तपाईंले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटकपटक साथ दियो । यो पटक पनि जुन प्रधानमन्त्रीले सहमति र संवादको बाटोमा ल्याउन मेहनत गरेको छ, त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभएको छ’, कांग्रेसलाई चेतावनी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘म त्यसको निम्ति गहिरो दुःख व्यक्त गर्न चाहन्छु । नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्नेछ । आजको यो तपाईंको गतिविधि कलङ्कको रूपमा नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ ।’

संसदमा विश्वासको मत पाएपछि हलबाट बाहिरिएका प्रधानमन्त्री प्रचण्डलाई सञ्चारकर्मीले उनकै अभिव्यक्तिका सम्बन्धमा प्रश्न गरे । कांग्रेसले चुकाउने मूल्य के हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘कस्तो मूल्य चुकाउँछ, आउने चुनावमा देखिन्छ । विश्वासको मत लिने नेपालमा मात्र होइन, विश्वमै रेकर्ड बनेको छ । आवश्यक परे एउटा होइन, १०/१२ पटक विश्वासको मत लिइन्छ ।’

गत फागुनमा एमालेसहित पाँच दल मिलेर नयाँ सत्ता समीकरण बनेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरोध जारी राखेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने एक सूत्रीय माग राख्दै कांग्रेसले दुई महिनादेखि लगातार संसद्को काम कारबाही ठप्प पारेको छ ।

तर प्रतिपक्षको यो व्यवहार अलोकतान्त्रिक र गैर राजनीतिक भएको ठहर गर्दै सत्ता पक्षले अब प्रतिपक्षलाई पेलेरै जाने रणनीति बनाएको देखिन्छ ।

प्रचण्डलाई एमालेको ढाडस

samsad

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले ०८४ सम्मै यही गठबन्धन कायम राखी चुनावी मैदानबाट कांग्रेसलाई हराउन खोजिएको स्पष्ट बुझ्न सकिन्छ । प्रचण्डलाई सत्ताघटक मुख्य दल एमालेको बलियो साथ देखिन्छ ।

प्रधानमन्त्रीले सदनमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई गठबन्धन दलहरूको तर्फबाट समर्थन गर्दै एमाले नेता विष्णु पौडेलले दह्रोसँग उभिन प्रचण्डलाई ढाडस दिए । पर्दाभित्रबाट सरकार ढाल्ने कांग्रेसको प्रयास माकुराको जालो जसरी त्यातिएको भन्दै उनले आगामी निर्वाचनसम्म वर्तमान सरकार कायमै रहने स्पष्ट पारे ।

‘यसबिचमा पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने कोसिस भए । तर त्यो कोसिस माकुरोको जालो जसरी च्यातियो । यो प्रतिनिधि सभाले सरकार परिवर्तन होइन, अझ बढी बल दिन्छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ,’ पौडेलले भने, ‘सरकार परिवर्तनको कोसिस माकुरोको जालो जसरी च्यातिएपछि स्वाभाविक रूपमा त्यसको प्रतिक्रिया सदनमा देखिएका छन् । प्रमुख प्रतिपक्ष लगायतका दलहरूबाट जे प्रतिक्रिया दिएका छन्, पर्दा पछाडिको सरकार परिवर्तनको खेल असफल भएपछि आएका प्रतिक्रिया हुन भन्ने कुरा बुझ्नका निम्ति कुनै कठिनाइ छैन ।’

उनले सम्बोधनकै क्रममा प्रधानमन्त्री प्रचण्डलाई भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईँ दह्रो कदमका साथ अगाडि बढ्नु होला । सिङ्गो सदन तपाईंको साथमा छ । सिङ्गो राष्ट्रले साथ दिनेछ । आम नेपालीले साथ दिनेछ । यही सदनले निर्वाचित गरेको सरकारले कार्यकाल पूरा गर्नेछ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिबारे माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुनै प्रक्रिया दिन चाहेनन् । उनले यस्तो प्रश्न नगर्न आग्रह गरे ।

‘के सुन्नुभयो, तपाईं आफैँ विश्लेषण गर्नुहोस् । त्यस्तो कुरा नसोध्नोस् । यसमा मैले थप व्याख्या गर्नु आवश्यक छैन’, रातोपाटीसँग उनले भने ।

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि एउटा च्याप्टर बन्द भएको भन्दै उनले संसद्को गतिरोध अन्त्यका गरी सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारी तहबाट पहल जारी राख्ने बताए ।

क्रुद्ध कांग्रेस थप सङ्घर्षको तयारीमा

samsad1

देशका प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दलमाथि दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । आइतबार सदनभित्रै गृहमन्त्री लामिछानेको अभिव्यक्तिबाट बिच्किएको कांग्रेस प्रधानमन्त्रीको अभिव्यक्तिबाट थप चिढिएको हो । प्रधानमन्त्रीलाई प्रतिप्रश्न गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘तपाईंलाई त जङ्गलबाट राजनीतिमा ल्याउने कांग्रेस हो, बिर्सिनु भयो ? हतियारकै बलमा यो सत्ता परिवर्तन गर्छु भनेर हिँड्नु भएको तपाईंलाई शान्तिमा कसले ल्याएको हो ? कसको नेतृत्वमा आउनु भएको हो, बिर्सिनु भयो ?’

आगामी योजना बनाउन कांग्रेसले ९ गते बिहान केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आइतबार प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले कांग्रेसका जिम्मेवार नेताहरूलाई लक्षित गरी गम्भीर आरोप लगाएपछि संसदीय छानबिन समिति गठन नभए सरकारको आगामी आर्थिक वर्षको बजेट पनि अवरोध गर्ने प्रमुख सचेतक लेखकले चेतावनी दिएका छन् ।

प्रचण्डको मध्यमार्गी प्रस्तावमा सत्ता पक्ष र विपक्षी कांग्रेस सहमति नजिक पुगेकै बेला गृहमन्त्री लामिछानेको अभिव्यक्तिले रन्थनिएको कांग्रेस प्रधानमन्त्रीको अभिव्यक्तिले थप आक्रोसित भएको देखिन्छ । संसदीय छानबिन समितिलाई दुवै पक्षले प्रतिष्ठाको लडाइँ बनाएकाले तत्काल संसद्को अवरोध हट्ने छाँटकाँट देखिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप