शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

लण्डनमा बुद्ध जयन्ती मनाउन साढे तीन फिटको बुद्धको मूर्ति ल्याइयो

सोमबार, ०७ जेठ २०८१, १३ : ५५
सोमबार, ०७ जेठ २०८१

लन्डन । बुद्ध फाउन्डेसन यूकेले २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर भव्य कार्यक्रम गर्ने भएको छ । आउँदो जुन २ तारिख आइतबार बुद्ध जयन्ती कार्यक्रमको छैटौँ संस्करण लण्डनको वुल्लीच (वुल्वीच) स्थित  जनरल गोर्डन स्क्वायरमा गर्न लागिएको जनाएको छ । 

विगतका वर्षमा सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा हुंदै आएको बुद्ध जयन्ती कार्यक्रम स्थान अभावका कारण यसपटक भने वुल्लीचमा गर्न लागिएको हो ।

आइतबार वुल्लीचस्थित लिटल काठमाडौँ रेस्टुरेन्टमा एक पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध फाउन्डेसनयूकेले भगवान् गौतम बुद्धको शान्ति सन्देश र नेपाल पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ ।

कार्यक्रमलाई थप आकर्षक र पृथक् बनाउने उद्देश्यले साढे तीन फिटको मूर्ति नेपालबाट मगाइएको छ र त्यसमा अतिथिहरूले मैनबत्ती बालेर कार्यक्रम उद्घाटन गर्ने योजना छ । बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति हृदय रत्न बज्राचार्यले बुद्धको जन्मदेखि मृत्युसम्मका विवरण समावेश गरि उक्त क्यानभास बनाएका हुन् ।

लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको समेत सहयोगमा आयोजना हुन् गइरहेको यस कार्यक्रमको मुख्य उद्देश्य विश्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मोत्सव विशेष रूपले मनाउन तयारी व्यापक भइरहेको जनाउँदै लुम्बिनीलाई पर्यटक गन्तव्यका रूपमा विकास गर्ने यसको लक्ष्य रहेको फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठले जनाए । नेपाली जहाँ रहे पनि आफ्नो जन्मभूमिको लागि केही गर्नुपर्ने सोचका साथ अघि बढ्नुपर्ने बताउँदै उक्त दिन सबै जनालाई उपस्थित हुन् श्रेष्ठले आग्रह गरे ।

कार्यक्रम संयोजक एवं फाउन्डेसनकी उपाध्यक्ष प्रसुना कँडेलले शान्तिको सन्देश फैलाउने एवं नेपाल र नेपाली कला संस्कृति प्रवर्धन गर्ने उद्देश्य रहेको र कार्यक्रममा सहभागी हुन नेपाली दूतावासले विदेशी कूटनीतिज्ञहरूलाई निमन्त्रणा पठाइएको पनि कँडेलले बताइन् ।

सल्लाहकार एवं रोयल बरो अफ ग्रीनवीचका उपमेयर जीत रानाभाटले आफ्नो ऐतिहासिक बरोमा हुन लागेको बुद्ध जयन्ती कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने बताउँदै यसले नेपाल पर्यटनलाई प्रवर्धन गर्न मद्दत पुर्‍याउने आशा पनि व्यक्त गरे ।

करिब ८ हजार पाउन्ड खर्च लाग्ने अनुमान रहेको र प्रायोजकमार्फत आर्थिक स्रोत जुटाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । दिउँसो २ देखि साँझ ७ बजेसम्म कार्यक्रम तय गरिएको कार्यक्रममा हिमाल, तराई र पहाडसहित नेपाल झल्कने सांस्कृतिक प्रस्तुति रहनेछ । नेपाली राष्ट्रिय कलाकारहरूले गीत पनि गाउनेछन् ।

बालबालिकालाई बुद्ध दर्शन सम्बन्धी जानकारी दिन पुस्तक र नेपाल सम्बन्धी पोस्टरलगायत नेपाली हस्तकला सामग्री पनि  प्रदर्शन गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप