बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि क्यारेबियन टोली, विश्वकपअघि केही सिनियर खेलाडीलाई आराम

सोमबार, ०७ जेठ २०८१, १३ : ३३
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । वेस्ट इन्डिजले यसै साता खेलिने दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखलाका लागि आफ्नो टोलीको घोषणा गरेको छ । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको शृंखलाका लागि घोषित टोलीमा वेस्ट इन्डिजले केही महत्वपूर्ण खेलाडीलाई समावेश गरेको छैन ।

आईसीसी टी–२० विश्वकपको अन्तिम तयारीका क्रममा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले यो शृंखला खेल्न लागेका हुन् । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि घोषित क्यारेबियन टोलीमा ब्याट्सम्यान ब्रान्डन किङलाई कप्तानको जिम्मेवारी दिइएको छ । टोलीका नियमित कप्तान रोभमन पोवेललाई भने विश्वकप अघि आराम दिइएएको छ । यसैगरी अन्य दुई प्रभावशाली खेलाडी साई होप र निकोलस पुरणलाई पनि आराम दिइएको छ । तीव्र गतिका बलर अल्जारी जोसेफ र महत्वपूर्ण ब्याट्सम्यान सेरफन रुथरफोर्ड पनि दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि टोलीमा छैनन् ।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)का कारण पनि केही महत्वपूर्ण खेलाडी टोलीमा नरहेको बताइएको छ । क्यारेबियन टोली छनोट समितिका प्रमुख डेसमन्ड हायनेशले विश्वकपअघि खेलिने दक्षिण अफ्रिकाविरुद्धको शृंखलाले आफ्ना खेलाडीको मनोबल बढाउन मद्दत पुग्ने विश्वास ब्यक्त गरेका छन् ।

वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिचको पहिलो टी–२० खेल मे २३ तारिखमा खेलिने छ । दोस्रो खेल मे २५ तारिखमा खेलिने छ । तेस्रो तथा अन्तिम खेल मे २६ तारिखमा खेलिने छ । शृंखलाको तीनवटै खेल जमैकामा खेलिने छ ।

दक्षिण अफ्रिकाविरुद्धको शृंखलाका लागि घोषित क्यारेबियन टोलीमा ब्रान्डन किङ (कप्तान), रोस्टन चेज, फाबियन एलन, एलिक अथान्ज, जोन्सन चाल्र्स, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, जासन होल्डर, अकेल होसैन, सामर जोसेफ, कायले मायर्स, ओबेड म्याकोय, गुडाकेश मोटी, रोमारियो सेफर्ड र ह्याडन वाल्स जुनियर रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप