को हुन् हेलिकप्टर दुर्घटनामा मृत्यु भएका इब्राहिम रईसी ?
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसी चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको खबरले विश्वभर हलचल मच्चाएको छ । सञ्चार माध्यमहरूका अनुसार हेलिकप्टरको भग्नावशेष फेला परेको छ ।
दुर्घटनास्थलमा रईसी समेत अन्य सवारहरू जीवित रहेको सङ्केत मिलेको छैन । इरानी सञ्चार माध्यमले दुर्घटनामा रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरिसकेका छन् । विमानमा सवार अन्य ७ जनाको पनि मृत्यु भएको बताइएको छ ।
को हुन् इरानी राष्ट्रपति रईसी ?
राष्ट्रपति इब्राहिम रईसीलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अली खोमेनीको उत्तराधिकारी मानिँदै आएको थियो । उनी सवार हेलिकप्टर दुर्घटनामा परेपछि चौतर्फी रूपमा अनेकौँ प्रश्न उठिरहेका छन् । इरान सरकारबाट पनि यसबारे खासै धेरै जानकारी आएको छैन ।
रईसीको जन्म सन् १९६० मा उत्तरपूर्वी इरानको मशहद सहरमा भएको थियो । राईसीका बुबा मौलवी थिए । उनी पाँच वर्षको हुँदा उनको बुबाको निधन भयो । सुरुदेखि नै धर्म र राजनीतितर्फ झुकाव भएका रईसी विद्यार्थीकालमा मोहम्मद रेजा शाहविरुद्ध सडकमा उत्रिएका थिए । रेजा शाहलाई पश्चिमी देशको समर्थक मानिन्थ्यो ।
पूर्वी इरानको मशहद सहरमा सिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र मानिने मस्जिद पनि छ । उनी सानै उमेरमा उच्च पदमा पुगेका थिए । आफ्नो बुबाको पाइला पछ्याउँदै उनी १५ वर्षको उमेरमा कोम शहरमा अवस्थित सिया संस्थामा अध्ययन गर्न थाले । विद्यार्थीकालमा उनले मोहम्मद रेजा शाहविरुद्ध पश्चिमा देशहरूले समर्थन गरेको प्रदर्शनमा भाग लिए । पछि अयातुल्ला रुहोल्लाह खोमेनीले सन् १९७९ मा इस्लामिक क्रान्तिमार्फत शाहलाई सत्ताबाट हटाए ।
सन् २०२१ मा राष्ट्रपति
केवल २० वर्षको उमेरमा उनी तेहरान नजिकै रहेको काराजको अभियोजक जनरल नियुक्त भए । रईसी सन् १९८९ देखि १९९४ सम्म तेहरानका अभियोजक जनरल र त्यसपछि सन् २००४ देखि अर्काे दशकसम्म न्यायिक प्राधिकरणका उपप्रमुख बने । सन् २०१४ मा उनी इरानको अभियोजक जनरल बने । इरानी न्यायपालिकाको प्रमुख रहेका रइसीको राजनीतिक विचारलाई ‘चरम कट्टरपन्थी’ मानिन्छ ।
उनी इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खोमेनीको नजिक मानिन्छ । रईसी सन् २०२१ को जुनमा उदारवादी हसन रुहानीको ठाउँमा इरानको राष्ट्रपति निर्वाचित भए । चुनावी अभियानका क्रममा रईसीले रुहानी शासनकालमा उत्पन्न भएको भ्रष्टाचार र आर्थिक सङ्कटसँग जुध्न आफूलाई उत्तम विकल्पको रूपमा प्रचार गरेका थिए ।
सिया परम्परा अनुसार रईसी सधैँ कालो पगडी लगाउँथे । कालो पगडीको अर्थ उनी पैगम्बर मुहम्मदको वंशज हुन् भन्ने हो । उनलाई ‘हुज्जातुल इस्लाम’ अर्थात् ‘इस्लामको प्रमाण’को धार्मिक उपाधि पनि दिइएको छ ।
मृत्यु समितिका सदस्य
इस्लामिक क्रान्ति पछि रईसी न्यायपालिकामा काम गर्न थाले । उनले कयौं शहरमा वकिलको रूपमा काम गरेका छन् । यस अवधिमा उनले इरानी गणतन्त्रका संस्थापक र सन् १९८१ मा इरानका राष्ट्रपति बनेका अयातुल्ला रुहोल्लाह खोमेनीबाट प्रशिक्षण पनि लिएका थिए । रईसी मात्र २५ वर्षका हुँदा उनी इरानको डेपुटी अभियोजक (सरकारको दोस्रो दर्जाका वकिल) बने । उनी पछि न्यायाधीश बने र सन् १९८८ मा गठन गरिएको गुप्तचर न्यायाधिकरणमा सामेल भए । यसलाई ‘मृत्यु समिति’ भनिथ्यो ।
यी न्यायाधिकरणले पहिला देखि नै जेल सजाय भोगिरहेका हजारौँ राजनीतिक बन्दीहरू (वामपन्थी र विपक्षी समूहका सदस्यहरू)माथि पुनः मुद्दा चलाए । न्यायाधिकरणहरूले मृत्युदण्ड दिइएको राजनीतिक कैदीहरूको कुल सङ्ख्या थाहा छैन । मानवअधिकारवादी समूहहरूले यसको सङ्ख्या महिला र पुरुषहरू गरेर ५ हजार आसपास भएको बताउँछन् ।
फाँसी दिएपछि यी सबैलाई अज्ञात सामूहिक चिहानमा गाडिन्थ्यो । यो कार्यको मानवअधिकारकर्मीहरुले मानवता विरुद्धको अपराध भनेका छन् । यस मामिलामा आफ्नो संलग्नता नरहेको रईसीले बताउँदै आएका छन् । एक पटक चाहिँ उनले इरानका पूर्व सर्वोच्च नेता अयातोल्ला खुमानीको फतवाअनुसार यी सजाय उचित रहेको अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
-
बक्सिङ डे टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा, भारतीय खेलाडीको हातमा कालो पट्टी
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा
-
पाँच महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च १३ प्रतिशतमात्र
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची