शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

बेलायतमा गोर्खा कपको तयारी पूरा, ५० टिमबिच प्रतिस्पर्धा

सोमबार, ०७ जेठ २०८१, १० : ४१
सोमबार, ०७ जेठ २०८१

लन्डन । तमुधिं युकेको आयोजनामा यही मे २६ का दिन अल्डरसटस्थित क्वीन्स एभेन्यूमा हुन गइरहेको नेपालीहरूकै लोकप्रिय र वृहत् खेल इभेन्ट गोर्खा कपको २२औँ संस्करणको तयारी पूरा भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक तमुधिं यूकेले गोर्खा कपको तयारी पूरा भएको जनाएको हो ।  

यसपटकको गोर्खा कपमा विगतको तुलनामा पुरस्कार राशी बढाउनुका साथै खेलाडी टिम पनि वृद्धि गरिएको छ । २२औँ गोर्खा कपमा मेन क्याटेगोरिजमा ३२ टिमले प्रतिस्पर्धा गर्ने  छन् भने  भेट्रानमा गत वर्षको तुलनामा दोब्बर वृद्धि गरी १६ टिमबिच प्रतिस्पर्धा गराइने संयोजक तथा स्पोर्टस् सेक्रेटरी क्याप्टेन दीपकराज घलेले जानकारी दिए ।

मेन वर्गीकरणमा पहिलो हुने टिमले ३००० पाउन्ड, रनरअपले १८०० पाउन्ड, ट्रफी एवं सर्टिफिकेट पाउनेछन् भने भेट्रान टिम वीनरले १५०० पाउन्ड, रनरअप १२०० पाउन्ड, लेडिज वीनरले ६०० पाउन्ड र रनरअपले ४०० पाउन्ड पुरस्कार पाउने संयोजक घलेले बताए । वेस्ट प्लेयरलाई गोर्खा वाच दिइनेछ ।

करिन दश हजार मानिसहरू जमघट हुने अनुमान गरिएको यस पटकको गोर्खा कापमा ५५ हजार पाउन्ड खर्च हुने अनुमान छ । गोर्खा कपको लागि तीन सय भन्दा बढी स्वयंसेवक खटाइने आयोजकले बताए  । फुटबल खेलका साथै सयभन्दा बढी खाना, लत्ता कपडा, नेपाली हस्तकला,व्यापारिक स्टलहरू  राखिनेछ ।

सो अवसरमा व्यावसायिक फुटबलरहरू कविन राई, विभेस गुरुङ र गोरक घलेलाई निमन्त्रणा गरिएको छ । सांस्कृतिक कार्यक्रम पनि गोर्खा कपको मुख्य आकर्षण रहनेछ । विगतका वर्षहरुमा विशेष आकर्षकको रूपमा रहेको पारासुट जम्प यस पटक भने नहुने भएको छ । यसैगरी ठेलो खेल पनि यस पटक रद्द गरिएको छ ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले यसपटकको गोर्खा कपमा केही परिवर्तन गरिएको र नौलोपन दिने दुस्साहस गरेको बताउँदै गोर्खा कप सम्पूर्ण नेपालीको साझा कार्यक्रम भएकोले सबैलाई साथ र सहयोग गर्न आग्रह गरे ।

गोर्खा कपलाई खेलको रूपमा मात्र नभएर युवाहरूमा लागू औषध र मदिराको कुलत न्यूनीकरण, स्थानीय समुदायसँग अन्तरघुलन, कोष अभिवृद्धिलगायत उद्देश्यले संचालन गरिएको आयोजकले बताएका । खेलबाट बचत भएको रकम च्यारिटीको लागि खर्च गर्दै आएको र भावी दिनमा पनि सोही लक्ष्य रहेको तमुधिं यूकेले जनाएको छ । संस्थाले नेपाल, बेलायतलगायत विश्वभरमा नै सहयोग गर्दै आएको र गत वर्षमात्र ३५ हजार पाउन्ड नेपाल पठाएको थियो ।

कार्यक्रममा तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गर्दै ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ गरेका थिए ।

सो अवसरमा मिडिया सेक्रेटरी एस के गुरुङले पत्रकारहरूको परिचय गराएका थिए भने अध्यक्ष गुरुङ लगायतले खेलमा निमन्त्रणा गर्दै उनीहरूको सम्मान गरे ।

अन्तमा सहारा युकेका अध्यक्ष लेप्टेन कुसाङ गुरुङ र पूर्व अध्यक्ष कुमार गुरुङले गोरखा कपमा भाग लिने टोलीहरूको टिम ड्र गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप