संसद्मा प्रधानमन्त्री प्रचण्डको अङ्कगणित : सके मत बढाउने, नसके यथास्थितिमा राख्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभामा कम्तीमा १५७ भन्दा कम नहुने गरी विश्वासको मत लिने तयारीमा छन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी(जसपा) नेपाल वैशाख २४ गते विभाजन भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।
गत फागुन २१ गते एमालेसहितको नयाँ सत्ता समीकरण बदलिएपछि उनले दुई महिना ८ दिनमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।
कांग्रेससँगको सहकार्य भङ्ग भएपछि प्रचण्डलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा नेपाल र एकीकृत समाजवादीले समर्थन गरेका थिए । उनलाई सरकार बाहिर रहेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र दुई स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए ।
- बजेट अगाडि प्रचण्डको शक्ति परीक्षण
जसपा नेपाल विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए । संसद्मा सरकारको नीति तथा कार्यक्रम पेस भइसकेको छ भने संवैधानिक व्यवस्था बमोजिम जेठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यता छ । तर बजेट आउनु अगावै सरकारसँग बहुमत सिद्ध गर्न प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए । यो पटक प्रधानमन्त्रीले अघिल्लो पटकको भन्दा बढी मत पाउने सापकोटाको दाबी छ ।
‘यो पटक प्रधानमन्त्रीले अघिल्लो पटकको भन्दा बढी मत पाउनुहुन्छ । त्यही अनुसारको तयारी छ । नभए कम्तीमा १५७ मत कायमै रहन्छ’, आइतबार रातोपाटीसँग सापकोटाले भने, ‘सरकार अहिले पनि बहुमतमा छ । बजेटको मुखमा प्रतिपक्षले प्रश्न नउठाओस् भनेर उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।’
सापकोटाको मतसँग सहमत जनाउँदै माओवादीका अर्का सांसद लेखनाथ दाहालले यो पटक प्रधानमन्त्रीले अघिल्लो पटकको भन्दा बढी मत पाउने दाबी गरे ।
‘प्रमुख प्रतिपक्षी दलले विश्वासको मत नलिइ बजेट ल्यायो भन्ने आरोपबाट मुक्त हुन प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । सरकारसँग स्पष्ट बहुमत छ । तै पनि उहाँले सरकारमा सहभगाी दल विभाजन भएकाले संवैधानिक व्यवस्था बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो,’ उनले भने, ‘यसअघिको भन्दा प्रधानमन्त्रीले बढी नै मत पाउनुहुन्छ ।’
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विश्वासको मत दिन आफ्ना पार्टीका सांसदलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै १३ पटक लिनुपरे पनि आफूले विश्वासको मत पाउने बताएका थिए ।
उनले तेस्रोपटक मत लिँदा १५७ मत पाएका थिए । त्यतिबेला एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, जसपाको १२, एकीकृत समाजवादीको १०, नाउपाको ४ र आम जनता पार्टीका एक सांसदले विश्वासको मत दिएका थिए । जसपा नेपाल विभाजनपछि सरकारलाई अशोक राई नेतृत्वको जसापाका ७ जनाले समर्थन कायमै राखेका छन् । जसपा नेपालका ५ जना सांसदले समर्थन फिर्ता लिएकाले सरकारसँग १५२ जनाको समर्थन कायमै देखिन्छ ।
- प्रचण्डलाई उपेन्द्रको चुनौती
यद्यपि जसपा विभाजनको टुङ्गो नलागेको अवस्थामा प्रधानमन्त्रीले लिने विश्वासको मतले वैधता नपाउने ठहर गर्दै त्यसलाई रोक्न अध्यक्ष उपेन्द्र यादवले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । यसअघि पार्टी विभाजन अवैध भएको भन्दै यादवले अर्को रिट निवेदन दिएका थिए । उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही विषयमा छलफल गर्न अदालतले ८ गते दुवै पक्षलाई बोलाएको छ ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि कम्तीमा १३८ मत आवश्यक पर्छ । हाल प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १४, एकीकृत समाजवादीका १०, जसपाका ७, जनमत पार्टीका ६, जसपा नेपालका ५, लोसपा र नाउपाका समान चार÷चार सांसद छन् । यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीको समान एक÷एक र स्वतन्त्रका दुई सांसद छन् । तीमध्ये एमालेका देवराज घिमिरे सभामुख भएका र अर्का सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाले निलम्बनमा परेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत बढाउनका लागि विपक्षमा रहेका जनमत पार्टी र लोकतान्त्रिक जमाजवादी पार्टीका नेताहरूसँग छलफल गरेका छन् । सरकारलाई विश्वासको मत दिन जनमत पार्टी तयार भएको माओवादीका नेताहरूको दाबी छ । त्यसका लागि मधेस प्रदेशमा जसपालाई मुख्यमन्त्री बनाएर समीकरणमा समेट्ने प्रयास भइरहेको छ । माओवादीका महासचिव देव गुरुङले समीकरणमा जनमत पार्टीलाई पनि समेट्ने प्रयास भइरहेको बताए ।
‘प्रधानमन्त्रीले लिने विश्वासको मतका लागि विपक्षी दलहरूसँग छलफल जारी छ । जनमत पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक देखिएको छ । अन्य दलहरूसँग पनि छलफल जारी छ’, उनले भने ।
यसअघि प्रचण्ड सरकारमै सहभागी भएको जनमत पार्टीले समीकरण बदलिएपछि समर्थन फिर्ता लिएको थियो । जनमत पार्टीसँग ६ सांसद छन् । यस्तै सरकारलाई समर्थन गरेको नाउपाभित्र विवाद उत्कर्षमा पुगे पनि विश्वासको मत पाउनेमा प्रधानमन्त्री आशावादी छन् । सरकारको अर्को घटक एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइसकेको छ ।
आइतबार अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले विश्वासको मत दिनेमा कुनै शङ्का नगर्न आग्रह गरेका छन् ।
- बढ्ला त विश्वासको मत ?
माओवादीले दाबी गरे बमोजिम विश्वासको मत पाएमा प्रधानमन्त्रीको पक्षमा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, एकीकृत समाजवादीको १०, जसपाको ७, जनमत पार्टीको ६, नाउपाको ४ र आम जनता पार्टीको एक गरी कुल १५८ मत रहनेछ । जसपाको दुवै समूहले मत नदिएको अवस्थामा समेत प्रधानमन्त्रीले १५१ मत पाउने देखिन्छ । तीमध्ये नाउपाभित्रको विवादका कारण तटस्थ रहेमा पनि प्रधानमन्त्रीको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिन्छ । जसपा, जनमत पार्टी र नाउपाले मत नदिएको खण्डमा पनि प्रधानमन्त्रीमाथि सङ्कट हुने छैन । त्यो अवस्थामा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० र प्रभु साहको एक गरी १४१ मत हुनेछ ।
यता कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा ११३ जना सांसद छन् । जसमा कांग्रेस ८८, राप्रपा १४, जसपा नेपाल ५, लोसपा ४, नेमकिपा र राष्ट्रिय जनमोर्चाको एक÷एक सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता