कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे छलफल हुने
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बिहान ९ बजे बस्दैछ । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।
बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्दैछन् । कांग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए । कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधनमाथि समेत छलफल हुने जनाइएको छ ।
अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकले निर्णय लिने कांग्रेस नेताहरूले बताएका छन् । आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन् ।
संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबिच शनिवारै सैद्धान्तिक सहमति भइसकेको छ । तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन । कांग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने भन्दै आएको छ ।
आइतबारको सम्बोधनमा गृहमन्त्री लामिछानेले आफू निर्दोष रहेको मात्रै दाबी नगरेर धम्कीपूर्ण भाषामा कांग्रेस नेताहरूमाथि लाञ्छना लगाएका कारण संसद्मा कांग्रेस अब झन् कडारुपमा प्रस्तुत हुन सक्ने आङ्कलन समेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने