बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

संसद्‍मा रवि भर्सेस गगन, झनै आक्रामक

सोमबार, ०७ जेठ २०८१, ०६ : २७
सोमबार, ०७ जेठ २०८१

काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेले बोल्न पाए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको लामो समयको अवरोध खुलेसँगै लामिछानेले बोल्न पाएका थिए ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग उठाउँदै आएको थियो । उक्त मागमा कांग्रेस केही लचिलो भएपछि आइतबार सभामुख देवराज घिमिरेले रविलाई बोल्नका लागि समय उपलब्ध गराएका थिए ।

पछिल्ला बैठकहरूमा लगातार गगन थापाले सहकारी ठगी प्रकरणबारे बोलिरहेका छन् । वैशाख २८ गतेदेखि उनले सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि टिप्पणी गर्न थालेका थिए । गृहमन्त्रीले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरी आफ्नालागि पत्र लेख्न लगाएको आरोप थापाले त्यस दिन संसद्मा लगाएका थिए ।

महामन्त्री थापाले हरेक बैठकमा लामिछानेको नाम तोकेरै छानबिन समिति बनाउनुपर्ने अडान लिने गरेका थिए । बजेट अधिवेशनको पहिलो दिन नै थापाले पोखराको छानबिन समितिको प्रतिवेदनदेखि महान्यायाधिवक्ता कार्यालयको दुरुपयोगसम्मका विषय जोड्दै गृहमन्त्री लामिछानेलाई खुला चुनौती दिएका थिए । 

पछिल्ला केही दिनमा समिति गठनको कार्यादेश बनाउने कुरामा पनि यही कुरा उठ्दै आएको थियो । एमाले र रास्वपा भने गृहमन्त्रीको नाम किटेर छानबिन समिति बनाउन नसकिने पक्षमा उभिएका थिए भने नेपाली कांग्रेस त्यसको ठिक विपरीत अडानमा अडिग थियो ।

आइतबार संसद्मा बोल्ने मौका पाएपछि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री थापामाथि विभिन्न आरोप लगाए । बाख्राको अनुदान दुरुपयोगदेखि विदेशी एजेन्टसम्मको आरोप संसद् भवनबाट उनले कांग्रेस महामन्त्री थापामाथि लगाए । 

रवि र गगनका बिचमा यसअघि यो हदसम्मको ‘हेट’को सम्बन्ध थिएन । विगतमा दुवै नेता एक अर्काका प्रशंसक नै थिए ।  लामिछानेले केही महिना अघि संसद्बाट बाहिरिँदै गर्दा थापाको प्रशंसा गर्दै बचाउमा बोलेका थिए । उनले गगन थापाले बाख्रा काण्ड र आफूले सहकारी काण्डबाट कहिल्यै उन्मुक्ति नपाउने र यसमा दुवै जना संलग्न पनि नरहेको भन्दै आक्षेप मात्र खेप्न परेको टिप्पणी गरेका थिए । तर आइतबार गृहमन्त्री लामिछानेले गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप थापामाथि लगाए ।

‘कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई पनि बाहिर पठाऔँ, संसद्बाट हटाऔँ । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस्,’ संसद्मा बोल्दै उनले भने, ‘२०५५ सालमा स्ववियु सभापति हुँदा त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भ्रष्टाचार भएको ३० लाखभन्दा माथिको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको समाचार आएको, त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बनाउँछु भनेर ५ लाख पेस्की लिएर वेबसाइट नबनाएको समाचार आएको, व्यावसायिक कृषि आयोजना प्याक्टबाट सुनखानी कृषि फार्मको नाममा १५ करोड लिएर नुवाकोटमा बाख्रा फारम र काठमाडौँको गोल्फूटारमा मासु पसल खोलेको र अनुदान लिएपछि बन्द गरेको समाचार आएका थिए ।’

रकम हिनामिनाको आरोप लागेपछि प्याक्टलाई प्रभावमा पारेर रकम नलिएको विज्ञप्ति निकाल्न लगाइएको र सो विषयमा साउथ एसिया नामको संस्थाले फ्याक्ट चेक गरेको तर पछि वेबसाइटबाट गायब पारिएको आरोप पनि लामिछानेले लगाए ।

संसद्मा यसरी आरोप लगाएपछि कांग्रेस महामन्त्री थापाले पछि पत्रकार सम्मेलन गर्दै खण्डन गरेका थिए । लामिछानेले लगाएका आरोपको जवाफ दिँदै थापाले यी सबै विषयमा सरकारलाई छानबिन गर्न माग गरे । लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भएको उनको टिप्पणी थियो ।

उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसद्मा दिए लगत्तै महामन्त्री थापाले पत्रकार सम्मेलन गरी गृहमन्त्रीले फाइल खोलिदिऊँ भनेको सुन्दा आफू चकित भएको बताए । गृहमन्त्रीले त धमाधम फाइल खोल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

‘गृह मन्त्रालय भनेको त ठुलो जिम्मेवारी हो नि । हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘आज मैले उहाँले भन्दै गर्दा यसो सुनेको थिए– म तेरो फाइल खोलिदिऊँ, म तेरो अनुसन्धान गरिदिऊँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु ! अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र ? गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो । धमाधम अनुसन्धान गर्ने हो । त्यसपछि त्यसलाई गल्ती गरेको छ भने निर्णय गराउने हो । फैसला गराउने हो, कार्यान्वयन गराउने हो ।’ 

२०७४ सालको निर्वाचन अघि कांग्रेसबाटै रविलाई निर्वाचनमा उम्मेदवार बनाउने प्रस्ताव स्वयं गगन थापाले नै राखेका थिए । लामिछानेलाई काठमाडौँसहित रोजेको क्षेत्रमा उम्मेदवार हुन थापाले आग्रह गरेका थिए । लामिछानेले उक्त कुरा आफ्ना एक जना कानुन व्यवसायीलाई बताउँदै के गर्ने भनी सल्लाहसमेत मागेका थिए । उनले आफू नयाँ पार्टी बनाउने तयारीमा रहेको तर कांग्रेसका तर्फबाट थापाले यस्तो प्रस्ताव गरेको भन्दै सुझाव मागेका थिए । ती कानुन व्यवसायीले कांग्रेसभित्र उचाइमा पुग्न सहज नभएकाले नयाँ पार्टी नै राम्रो हुने सुझाव दिएका थिए ।

लगत्तै रविले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए । उनले निर्वाचनमा सफलता प्राप्त गरेपछि एमालेसँग मिलेर सरकार बनाए पनि थापाप्रति उनी यो हदसम्मको आलोचनामा उत्रेका थिएनन् । तर पहिलो पटक उनी यसरी भिड्ने मुडमा उत्रेको देखिन्छ ।

यही बुझेका थापाले पनि अलग्गै पत्रकार सम्मेलन गरेर चुनौती दिएका छन् । ‘लामिछानेले मेरो बारेमा बनाएको समितिमा म बस्न पर्दैन भन्नुभयो, तपाईं बस्नै पर्दैन, तपाईंको काम नेकपा एमालेले गरिदिन्छ,’ उनले भने, ‘तपाईंहरूको बिचमा राम्रो एउटा समझदारी बनेको छ । त्यसको बारेमा धेरै चिन्ताको विषय भएन ।’

यी दुई नेताका बिचमा सुरु भएको दोहोरी संसदको आगामी बैठकमा देख्न लायक हुने अनुमान गर्न सकिन्छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । त्यसको सम्भावित कार्यसूचीसमेत आएको छ । उक्त बैठक चल्छ कि चल्दैन भन्ने निश्चित छैन । बैठक चलेमा कांग्रेसले लामिछानेको प्रश्नको जवाफ संसदमै रेकर्ड गराउन सक्ने सम्भावना देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा दुलाल
दुर्गा दुलाल
लेखकबाट थप