सीडीओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन
काठमाडौँ । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै जान निर्देशन दिएका छन् ।
गृहसचिव अर्यालले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरू समेत समावेश गरी प्रतिवेदन तयार गरेर नयाँ आउने प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र गृह मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
‘अन्य कर्मचारीहरूको हकमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित शाखा÷फाँटको कामको अद्यावधिक विवरण लिएर मात्र रमाना दिने प्रबन्ध मिलाउने,’ गृहसचिवस्तरीय निर्णयमा भनिएको छ ।
मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको गृहमा रेकर्ड सिस्टम कायम गर्न र थप व्यवस्थित तथा मजबुत बनाउन प्रतिवेदन अनिवार्य गरिएको गृह सचिव अर्यालको भनाइ छ । ‘यसले नयाँ सरुवा भई जाने सीडीओलाई जिल्लाको वस्तुस्थितबारे तत्काल जानकारी हुनुका साथै बुझ्न नै महिनौं लाग्ने समस्याको अन्त्य गर्छ’ गृह सचिव अर्यालले भने, ‘जसले सेवा प्रवाहमा एकरूपतासँगै चुस्ततासमेत ल्याउँछ ।’ रेकर्ड सिस्टमले जिल्लासँगै मन्त्रालयमा समेतको प्रजिअले के कसरी काम गरेको छ भन्ने बारेसमेत जानकारी रहने र सोको आधारमा मूल्याङ्कनसमेत हुने उनको भनाइ छ ।
गृह मन्त्रालय वा अन्तर्गतका एक निकायबाट अर्को निकायमा सरुवा भएका कर्मचारीहरूलाई तत्काल रमाना दिई सरुवा भएको निकायमा हाजिर हुन पठाउन साथै तलब भत्ता सरुवा भएकै निकायबाट भुक्तानी हुने व्यवस्था मिलाउन पनि सचिव अर्यालले निर्देशन दिएका छन् ।
सेवा प्रवाहलाई निरन्तरता कायम राख्न प्रमुख जिल्ला अधिकारी बाहेक गृह मन्त्रालय वा अन्तर्गतबाट अन्यत्र मन्त्रालयमा सरुवा भई जाने कर्मचारीहरूलाई सो स्थानमा सरुवा भई आउने कर्मचारी हाजिर नभएसम्म रमाना नदिने व्यवस्था मिलाउन पनि गृहसचिव अर्यालको निर्देशनमा उल्लेख छ ।
मन्त्रालय अन्तर्गतका सबै महाशाखा, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै गृहले यस्तो निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको उपनिर्वाचनमा जनमतले १६ सिटमध्ये कतिमा मार्ला बाजी ?
-
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
-
कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
-
चार महिनामा १४२ देशसँग पौने ६ खर्बको व्यापार
-
बीआरआई लक्षित प्रधानमन्त्रीको टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा