आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’

आइतबार, ०६ जेठ २०८१, २३ : २७
आइतबार, ०६ जेठ २०८१

नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले सुनको कोटा प्रणाली र यसबाट देखापरेको सिन्डिकेट प्रवृत्तिको विरोध गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकको अहिलेको प्रावधानले समेत गहना व्यवसायी समस्यामा परेको बताएका छन् ।

‘नेपाल राष्ट्र बैंकले जारी गरेको सुन खरिद तथा विक्री वितरण सम्वन्धी कार्यविधि २०६८ मा गहनाको पसल संचालन वा सुनको कारोवार गर्न राष्ट्र बैंकले तोकेको ३ वटामध्ये कुनै एउटा महासंघको अनिवार्य सदस्य बन्नुपर्ने र उक्त महासंघको सिफारिसमा मात्र तोकिएको बाणिज्य बैंकबाट काँचो सुन खरिद गर्न पाउँने व्यवस्था छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्र बैंकको उक्त प्रावधानको कारण स्वतन्त्र रुपमा गहना पसल सञ्चालन गर्ने अवस्था नरहेको कारण देशभरका २० हजार व्यवसायी मर्कामा परेको बिषयलाई मैले नेपाल सरकार र नीति निर्माताको ध्यानाकर्षण गर्न खोजेको हुँ ।’

राष्ट्र बैंकको कोटा प्रणालीले गहना व्यवसायमा सिन्डिकेट सिस्टम कायम भएको भन्दै उनले यसमा कोटा वितरणमा जिम्मेवार संघ र महासंघका पदाधिकारी संलग्न रहेको आरोप लगाएका छन् । यस बिषयलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न राज्यका निकायमा आफूले उजुरी समेत दिएको उनको भनाइ छ ।

उनले बेथितिका विरुद्ध आवाज उठाएको नाममा आफू र परिवारका सदस्य आवद्ध रहेका फर्म तथा कम्पनीलाई संघको साधारण सदस्य समेत नरहनेगरी नेपाल रत्न तथा आभुषण संघले गत फागुन २३
गते हटाएको सूचना थाहा पाएको भन्दै यसविरुद्ध जिल्ला प्रशासन कार्यालय कठमाडौमा उजुरी दिएको पनि बताएका छन् ।  

नेपालको संविधानको मौलिक हकसम्वन्धी धारा १७ मा भएको व्यवस्था तथा उपभोक्ता संरक्षण ऐन २०७५ एवं अन्य प्रचलित कानून विपरित नेपाल रत्न तथा आभुषण संघले गहना पसललाई सुन खरिद गर्न नपाउने गरी बन्देज लगाएको विरुद्ध आफू अदालत समेत गएको उनले जानकारी गराएका छन् ।

उनले भनेका छन्, ‘नेपाल सरकारलाई बार्षिक अर्बौँ रुपैयाँ राजश्व नोक्सान हुनेगरी नेपाल राष्ट्र बैंकबाट जारी भएको सुन खरिद तथा विक्री वितरणसम्वन्धी कार्यविधि २०६८ खारेज गरी देशभरका गहना व्यवसायले स्वतन्त्र रुपमा सुन खरिद गर्न पाउने कानूनी सुनिश्चिताको लागि नेपाल सरकार र सम्वन्धीत निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।’

उनले यस्तो विज्ञप्ति जारी गर्दा संघको संस्थापन पक्षले भने पदीय मर्यादा र संस्थाको विधानविपरीत गुप्ताले गतिविधि र अभिव्यक्ति दिएकै कारण कारबाही गरिएको जनाएको छ । कारबाहीमा परेपछि उनले संघका पदाधिकारी, पूर्वपदाधिकारी र मन नपरेका व्यवसायीविरुद्ध गलत हल्ला फैलाउन थालेको संस्थापन पक्षले विज्ञप्तिमार्फत जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप