सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, ०६ जेठ २०८१, २१ : ४९
आइतबार, ०६ जेठ २०८१

आज २०८१ जेठ ६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा संसदमा बोल्ने अनुमति पाएपछि कांग्रेसप्रति प्रश्नको वर्षा गरे रविले, कांग्रेसको आरोप– एमाले र रास्वपाबिच सहकारी र गिरीबन्धु मुद्दा नउठाउने सहमति, संसदीय छानबिन समितिको ‘टीओआर’ मा लफडा, प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न उपेन्द्रको कसरत, किशोरीलाई आँखा झिम्क्याएको निहुँमा प्रहरी जवानको हत्या, पूर्वराजालाई ललितपुरमा शक्ति प्रदर्शनसहित स्वागतको तयारीमा राजावादीहरू लगायत छन् ।

१. संसदमा बोल्ने अनुमति पाएपछि कांग्रेसप्रति प्रश्नको वर्षा गरे रविले
लामो गतिरोधपछि अन्ततः आइतबार प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले उनीमाथि संसदीय छानबिन समिति गठन गरी अनुसन्धान गर्नुपर्ने माग गर्दै लगातार संसदमा अवरोध गर्दै आएको थियो । तर आइतबार लामिछानेले विभिन्न प्रकरणमा कांग्रेसका नेताहरू मुछिएको भन्दै तिनमा छानबिनका लागि समिति गठन गर्ने कि नगर्ने भनेर प्रश्न गरे ।

२. कांग्रेसको आरोप– एमाले र रास्वपाबिच सहकारी र गिरीबन्धु मुद्दा नउठाउने सहमति
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र रास्वपाबिच सहकारी र गिरीबन्धु टी–स्टेटको मुद्दा नउठाउने सहमति भएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् । 

३. संसदीय छानबिन समितिको ‘टीओआर’ मा लफडा
सहकारी बचतकर्ताको रकम अपचलन, हिनामिना र ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत भएका प्रमुख दल समितिको कार्यादेश (टीओआर) मा पुगेर अड्किएका छन् । सत्ता र प्रतिपक्षबाट चार सदस्यीय कार्यदल समेत गठन गरेर आइतबार दिनभर कार्यदलस्तरमा समितिको कार्यादेश बनाउन नेताहरू जुटे पनि सफल हुन सकेनन् ।

४. प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न उपेन्द्रको कसरत
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत लिनबाट रोक्न कसरत गरेका छन् । प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । जसपा नेपालका अध्यक्ष यादवले आफ्नो दल विभाजन भएको र सर्वोच्च अदालतले यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको भन्दै यो अवस्थामा विश्वासको मत लिन नमिल्ने जिकिर गर्दै सर्वोच्च अदालत र सभामुखसमक्ष निवेदन दिएका छन् ।

५. किशोरीलाई आँखा झिम्क्याएको निहुँमा प्रहरी जवानको हत्या
किशोरीलाई आँखा झिम्क्याएको निहुँमा भएको विवादमा एक प्रहरी जवानको हत्या भएको रहस्य खुलेको छ । जेठ ४ गते साँझ ट्राफिक प्रहरी वृत्त दरबारमार्गमा कार्यरत जवान युवराज घिमिरे मृत भेटिएका थिए । तारकेश्वर नगरपालिका–९ स्थित बासुकीटोलमा निर्माणाधीन घरसँगै उनी मृत भेटिएका हुन् । मनमैजु क्षेत्रमा सडक पेटी र निर्माणाधीन घरमा आश्रय लिएर बस्ने ७ जना मिलेर उनको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

६. पूर्वराजालाई ललितपुरमा शक्तिप्रदर्शनसहित स्वागतको तयारीमा राजावादीहरू
पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुर भ्रमणमा पुग्दा राजावादीहरूले शक्ति प्रदर्शनको तयारी गरेका छन् । उनको स्वागतका क्रममा राजावादीहरूले मोटरसाइकल ¥यालीसहित शक्ति प्रदशर्नको तयारी गरेका हुन् । 

७. मधेसमा नयाँ सरकार गठन प्रक्रियामा लाग्यो ‘ब्रेक’
मधेस प्रदेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउने योजनामा केही समयका लागि ब्रेक लागेको छ । एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिच नयाँ सरकारका लागि पहल गर्ने सहमति भएको थियो । तर अब केही समय त्यो प्रक्रिया अगाडि नबढ्ने माओवादी मधेस प्रदेशका संसदीय दलका नेता भरत साहले बताए । 

८. भ्रष्टाचारविरुद्ध नेविसंघको प्रदर्शन
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार नेविसंघले माइतीघर मण्डलादेखि बिजुली बजारसम्म ¥यालीसहित प्रदर्शन गरेको हो । नेविसंघले सहकारी ठगी र गिरीबन्धु टी–स्टेटमा भएको भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । 

९. ४५.६९ अङ्कले सेयर बजारमा वृद्धि
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा निकै उत्साह छाएको छ । नेप्से परिसूचक ४५.६९ अङ्क बढेर २०६४.४५ विन्दुमा पुगेको छ भने यसै दिन ५ अर्ब २५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

१०. बारले उठायो प्रश्न
सर्वोच्च अदालतको पुनर्संरचनादेखि चोलेन्द्र शमशेर राणाको महाअभियोगसम्मका कुरा नेपाल बार एसोसिएसनले आगामी दिनमा आन्दोलनको मुद्दा बनाउने भएको छ । न्यायपालिका पुनर्संरचनाको मुख्य मुद्दा बनाउँदै देशभरका अदालतमा पेसी तोक्न अटोमेशन लागु गराउने अनि न्यायाधीश नियुक्ति पारदर्शी  तथा निश्चित मापदण्ड बनाउन दबाब दिने निष्कर्षमा कानुन व्यवसायीहरूको छाता सङ्गठन बार पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप