बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
विचार

जिउँदो युवा : खगेन्द्र संग्रौलाको दृष्टिमा युवाको सारभूत शब्दचित्र

आइतबार, ०६ जेठ २०८१, १३ : ३५
आइतबार, ०६ जेठ २०८१

युवाहरू चिनियाँ नेता माओका आस्था र आशाका केन्द्र थिए । तिनलाई फुर्क्याउँदै उनी भन्थे — ‘युवाहरू हो ! कलकलाउँदो झुल्के घामजस्तै हौ तिमीहरू । यो संसार तिमीहरूको हो, यो संसार हाम्रो पनि हो । तर अन्तिम विश्लेषणमा यो संसार तिमीहरूकै हो ।’ 

जिउँदो युवामा उत्ताल आवेग हुन्छ । ऊ रङ्गिन सपना देख्छ । विवेक र साहसले सम्भावनाको क्षितिज उघार्न ऊ कम्मर कस्छ । सढाउ परम्परा, पत्रु रीति र दुर्गन्धमय रूढिहरूका बार–बन्देजहरू तोड्न जोशका साथ खुट्टो उचाल्छ ऊ । ऊ श्वेत वा लाल सबै खालका तानाशाहसँग आँखा जुधाउन आँट गर्छ । 

ऊ न्याययुक्त, सभ्य, सहकारितायुक्त र सद्भावमय समाज बनाउने आदर्शको ध्वजा बोक्छ र त्यो आदर्शलाई साकार रूप दिन परिआए ऊ जीवनको आहुति दिन तत्पर हुन्छ । दृष्टि खुलेको, सच्चा र जीवन्त युवा जीवनको बनिबनाउ बासी बाटोमा बुढो गोरु मियो वरिपरि लखरलखर हिँडेझैँ किमार्थ हिँड्दैन । 

ऊ काँतर, लोभी र भोगी हुँदैन । ऊ जीवनका साँघुरा बाटालाई फराकिला पार्न ऊ सतत यत्न गर्छ । ऊ सोची–विचारी हुँदै नभएका बाटा बनाउने उद्यम गर्छ । ऊ कल्पित भावीले छैटीमा ललाटमा लेखिदिएको भाग्यमा विश्वास गर्दैन । ऊ कार्लमार्क्सको लौकिक र भौतिक भाग्यलेखनमा विश्वास गर्छ । मार्क्सको भाग्यलेखन भन्छ— मानिस जन्मको संयोगले दिएको परिस्थितिका सीमाभित्र आफ्नो भाग्यको निर्माता आफैँ हो । 

कलकलाउँदो उमेरले मात्र यस्तो युवा भइँदैन । बैसठ्ठी–त्रिसठ्ठीको फौजी ज्ञानतन्त्रविरोधी आन्दोलनमा सडकमा ओर्लिएर शाही तानाशाहीलाई हाकाहाकी ललकार्ने दैहिक दृष्टिले फुकिढल बुढा गिरिजाप्रसाद कोइराला जिउँदो युवासरह थिएनन् र ?

०००

आजको नेपाली समाज रोमरोममा राजनीतिमय भएको छ । राजनीति भने आदर्श र नैतिकता, इमान र निष्ठा, त्याग र लज्जा एवं अन्तर्दृष्टि र दूरदृष्टिबाट च्युत भइरहेछ । फगत जप्ने र ठग्ने सस्तो चिज बनेको छ सादा जीवन र उच्च विचारको सुन्दर आदर्श । विचार र आदर्शको यो सङ्कटमा खै कहाँ छ हाम्रो युवा पुस्ता ? 

जिउँदो युवामा हुनुपर्ने एकाध गुणको मैले माथि चर्चा गरेँ । चर्चा त मैले गरेँ तर के लाग्छ, त्यस्तो युवाको अनुहार हेर्न समाजमा सिला खोज्नुपर्ने अवस्था छ । हिजो विद्रोहकालमा आदर्शको प्रतीक मानिएको युवालाई आज मानौँ सत्तासीन पार्टीको संरचनाको खोपीमा मुन्टो लुकाउने दुलो पाए पुगेको छ । मानौँ उसलाई अब गर्नु केही छैन, पुग्नु कहीँ छैन । 

एउटा युवा सुतीसुती भन्दै छ— बुढाजति पाखा लाग, शासनको गद्दीमा म बस्छु ।

अर्को युवा पार्टीको गुटनायकलाई देउता मानेर सभक्ति पुज्दै हिँडेको छ । 

अझ अर्को युवा दातृनिकायको ख्वामितलाई बुझाउन खल्तीमा याचनामय रिपोर्ट बोकेर आत्महीन मुद्रामा उभिएको छ । 

अझ अर्को युवा फेसबुकमा आफैँलाई आफ्नो मुख देखाउन पाएर मक्ख छ । अझ अर्को युवा ठेक्कापट्टा कब्जा गर्ने होडमा आफ्नै कमरेडलाई हातपात गर्दै छ । 

अझ अर्को युवा सबै चोर हुन् भनेर निस्सार गनगनमा लिप्त छ । 

आफूसित मनग्गे दाम हुने युवालाई रातारात ठूलो नाम चाहिएको छ । दाम कम हुने युवालाई रातारात थप दाम र तिलस्मी नाम चाहिएको छ । तथापि यिनै युवाले हाम्रो नारकीय जीवनलाई तैबिसेक जिउन लायकको बनाउन ढिलोछिटो केही न केही गर्लान् कि भनी गर्धन तन्काएर हामी यिनलाई हेरिरहेछौँ । 

  • आदर्शप्रेमी, जिउँदो, कर्मठ र हस्तक्षेपकारी युवाको सारभूत शब्दचित्र करिबकरिब यस्तो हुन्छ : 

१) यस्तो युवा आफ्नै विचार र विवेकबाट निर्देशित हुन्छ, ऊ कोर्राको इसारामा चल्ने कसैको घोडा हुँदैन ।

२) यस्तो युवा आफ्नै सीप र श्रमको फलबाट गुजारा चलाउँछ, प्राण धान्न कसैको कृपा, दान वा भिखको मुख ताक्दैन । 

३) यस्तो युवा अरुका बासी पदचिह्न टेकेर हिँड्दैन, जीवनपथमा आफ्नै पदचिह्नका छाप बनाउने यत्न गर्छ ।

४) यस्तो युवा झटपट दाम र भुइँफुट्टा नामको पछि दगुर्दैन । 

५) यस्तो युवा सादा जीवन, उच्च विचारको सच्चा अनुयायी हुन्छ । 

६) यस्तो युवा सभ्य समाज र सुन्दर जीवन निर्माण गर्ने उच्च आदर्शको वेदीमा जीवनधरी अर्पण गर्न तत्पर हुन्छ । 

७) यस्तो युवा मन मिल्ने युवा जमातलाई एकताको मालामा उन्न यत्न गर्छ र सङ्घबद्ध शक्तिले संसार फेर्न आँधीको गतिमा ऊ अघि सर्छ । 

तब न आदर्शको प्रतीक जिउँदो युवा ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप