बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य

‘एक एमएल भेपिङ बराबर ३० खिल्ली चुरोट बराबरको असर’

धूम्रपानमा ८ हजारभन्दा बढी क्यान्सर गराउने तत्त्व हुन्छ : डा. राजु पङ्गेनी (भिडियो)
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । सरकारले इलेक्ट्रोनिक सिगरेट (ई–सिगरेट/भेप) प्रतिबन्ध गर्ने तयारी गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ अनुसार ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाउने छैन’ भनेर उल्लेख छ ।

सो निर्देशिका अनुसार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले वैशाख १७ गते सरोकारवाला निकायलाई कार्यान्वयनका लागि पहल गरेको हो । नेपालमा भेप रोक लगाउन बहस भएको छ । भारत लगायत ३४ मुलुकमा भेपलाई रोक लगाइएको छ । यसले स्वास्थ्यमा पार्ने हानि, यसको कारोबारमा रोक लगाउनुको कारण लगायतका विषयमा केन्द्रित रहेर ह्याम्स अस्पतालमा कार्यरत छातीरोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पङ्गेनीसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • के हो इलेक्ट्रिक सिगरेट ?

ई–सिगरेट वा इलेक्ट्रोनिक सिगरेटलाई चलनचल्तीको भाषामा भेपिङ पनि भनिन्छ । साधारणतया धूम्रपानमा लत बसाउने निकोटिन भन्ने तत्त्व हुन्छ । त्यसमा हजारौँ अन्य केमिकल हुनाले चुरोट बाल्दा धुवाँबाट निस्कने भयो । इलेक्ट्रोनिक चुरोटमा निकोटिनलाई तरल पदार्थको रूपमा एउटा डिभाइसमा राखिन्छ । त्यसमा एटोमाइजर हुन्छ, जुसले धुवाँ निकाल्छ । त्यो धुवाँ मान्छेले प्रयोग गर्ने हुन्छ । भेपमा तरल पदार्थका रूपमा रहेको निकोटिनलाई मान्छेले वाफको रूपमा प्रयोग गर्ने हुन्छ । निकोटिन वाफको रूपमा प्रयोग गर्ने साधनलाई ई–सिगरेट वा इलेक्ट्रिक सिगरेट भन्छौँ ।

  • इलेक्ट्रिक सिगरेटको इतिहास कस्तो छ ? के उद्देश्यका लागि इलेक्ट्रिक सिगरेट बनाइएको थियो ?

इलेक्ट्रिक सिगरेट चिनियाँ फार्मासिस्ट होन लिले सन् २००३ मा बनाएका थिए । धूम्रपानका कारणले उनका बुबाको मृत्यु भयो । होन लिलाई पनि धूम्रपानको लत थियो । तर बुबाको डरलाग्दो मृत्यु भएकाले धूम्रपानमा रहने विभिन्न खालका रासायनिक तत्त्वबाट जोगिन उनले निकोटिनको मात्रै प्रयोगले इलेक्ट्रोनिक सिगरेट बनाएका थिए । नियत राम्रो हो । एकदुई वटा अध्ययनमा धूम्रपान र इलेक्ट्रोनिक सिगरेटबिच तुलना गरेर हेर्दा धूम्रपानको लत छुटाउन सक्ने भनेर देखाएको छ । तर यसलाई गलत रूपमा प्रयोग गरियो । प्रयोग गर्नेहरूको नियतमा खोट र लालच पनि थपियो ।

dr. raju pangeni  (1)

  • इलेक्ट्रिक सिगरेटले कस्तो खाले समस्या देखिन्छ ?

कसैलाई धूम्रपानको लत छ भने पछि गएर लत पनि छुटोस् भनेर पनि इलेक्ट्रिक सिगरेट बनेको हो । तर कसै–कसैलाई धूम्रपान र भेप दुवैको लत लाग्ने हुन्छ । ‘डिउल एडिक्सन’ हुने भयो ।

हाल किशोरकिशोरीलाई भेपको लतबाट छुटाउन गाह्रो छ । भेपमा निकोटिनमात्रै भन्ने ठानिएको थियो । तर यसमा निकोटिनमात्रै नभएर अरू पनि हानिकारक तत्त्व हुँदारहेछन् भन्ने पाटो खुल्न थाल्यो ।

धूम्रपान र इलेक्ट्रोनिक व्यापारीहरूको उपभोक्ता एउटै परे भने व्यापार फस्टाउँदैन । त्यसैले इलेक्ट्रोनिक सिटरेटले कलेज जाने किशोर किशोरी र स्कुल जाने बालबालिकालाई लक्षित गर्‍यो । कलेज, स्कुल जाने बालबालिकाहरूलाई निकोटिनको लत छिटै बस्छ । अरूलाई केही दिन, केही महिनामा लत लाग्न सक्छ । तर विशेष गरी डेभलोपिङ ब्रेनमा घण्टाभरमै लत लाग्न सक्छ । मार्केटिङको डिजाइन यसरी आकर्षित बनाइयो कि जसले कहिले पनि धूम्रपान गरेको छैन, उनीहरूलाई लत बसाल्न यसमा १५ हजारभन्दा बढी फ्लेभर हुन्छ । इस्ट्रबेरी, एप्पल, मेन्थल अनेकथरी फ्लेभर पाइन्छ । यसका साथै आकर्षक डिभाइस बनाइयो । घरमा बस्ने आमाबुबालाई छोराछोरीले भेप प्रयोग गरेको जानकारी हुँदैन ।

‘पेन ड्राइभ’ जत्रो ‘डिभाइस’ । सुरुवाती चरणमा सजिलो टेस्टमात्रै हुने राखिन्छ । सेलेब्रेटीलाई प्रयोग गरेर मार्केटिङ गर्न थाल्यो । भर्खरका प्रयोगकर्ता आफूलाई मन पर्ने सेलेब्रेटीले खाएको देखेर आकर्षित हुन थाले । लत बसिसकेपछि विभिन्न तत्त्वको मिसावट गर्न थालियो । ३ प्रतिशत, ५ प्रतिशत हुँदै पछिपछि बढी मिसावट आउन थाल्यो । यसले हाल किशोरकिशोरीलाई भेपको लतबाट छुटाउन गाह्रो छ । भेपमा निकोटिनमात्रै भन्ने ठानिएको थियो । तर यसमा निकोटिनमात्रै नभएर अरू पनि हानिकारक तत्त्व हुँदारहेछन् भन्ने पाटो खुल्न थाल्यो ।

  • इलेक्ट्रिक सिगरेटमा के–कस्ता हानिकारक तत्त्व हुन्छन् ?

भेपमा पहिलो हानि भनेको लत हो । यसमा रहेको तरल निकोटिनलाई वाष्पीकरण गर्नुपर्‍यो । त्यसमा अटोमाइजरहरू हुन्छ । ब्याट्री हुन्छ । कोइल हुन्छ । तताउने सिस्टम हुन्छ । यसमा ‘फ्लेबरिङ एजेन्ट’हरू हुन्छ । निकोटिन राख्ने एरिया हुन्छ । त्यो ‘डिभाइस’मा गाँजा राख्न थालियो । कोकिन राख्न थालियो । यसको पनि लत बस्ने भयो ।

‘फ्लेबरीङ एजेन्ट’को पनि लत बस्ने भो । जस्तो कसैले स्ट्रबेरीको फ्लेभर प्रयोग गर्न थालेपछि जतिबेला पनि दिमागमा स्ट्रबेरीको फ्लेभर आइराख्ने हुन्छ । फ्लेभर एजेन्टको लत बस्न थल्यो । फ्लेबरीङ लत भन्ने बित्तिकै मानिसको दिमागमा भेपिङको याद आइहाल्ने हुन्छ । पछि–पछि अरुको पनि लत बस्ने हुन्छ । यसलाई हामी ‘गे वे अफ एड्रिक्सन’ भन्छौँ । ड्रग्समा एडिक्सन हुने, धूम्रपानमा एडिक्सन हुने खतरा बढ्छ । यसले अरू एडिक्सनको बाटो खोल्ने भयो । त्यही भएर यसलाई ‘गे वे अफ एडिक्सन’ भनिन्छ । यसले अरू कुरामा लत बसाउने कार्य गर्ने भयो ।

यसको प्रयोगले दीर्घकालीन असर हुन्छ । १२–१३ वर्षको उमेरमा भेपिङ सुरु गर्‍यो भने । यसको असर ३०–४० वर्षमा देखिन्छ । भेपिङको धुँवामा क्यान्सर गराउने तत्त्वहरू देखिएको छ ।

निकोटिन आफैँमा पनि सुरक्षित छैन । यसको क्यान्सरको जोखिम अलि कम भए पनि यसले हाम्रो मस्तिष्क, टाउकोदेखि खुट्टाको स्नायु प्रणालीको रगत जम्नेसम्मको समस्या ल्याउन सक्छ । यसले तुरुन्तै ल्याउने समस्या भनेको प्रेसर बढ्ने, मुटुको चाल बढ्ने, हातखुट्टा काप्ने जस्तो समस्या हुन्छ । मस्तिष्कमा असर गरेर २५ वर्षसम्म मस्तिष्क विकास हुँदै जान्छ । यसले हाम्रो ‘जजमेन्ट’, ‘इमोसनल एक्टिभिटी’लाई नियन्त्रण गर्छ । मस्तिष्कको अग्रभागलाई नियन्त्रण गर्छ । यसले मस्तिष्कलाई नै असर गर्नुका साथै व्यक्त्विमा परिवर्तन आउने हुन्छ । जस्तो कि झर्किने, रिसाउने, बिर्सनेजस्ता विभिन्न खालका समस्याहरू पछि आउन सक्छन् ।

फोक्सोमा असर गरेर निकोटिनले खोकी लाग्ने, छाती घ्यारघ्यार बज्ने, पछि गएर दम रोगसम्म निस्कन सक्ने सम्भावना हुन सक्छ । फ्लेबरिङ एजेन्टको करणले गर्दा फोक्सो बिगार्ने, निमोनिया हुने, अक्सिजनको मात्रामा कमी आउने हुन्छ ।

यसको प्रयोगले दीर्घकालीन असर हुन्छ । १२–१३ वर्षको उमेरमा भेपिङ सुरु गर्‍यो भने । यसको असर ३०–४० वर्षमा देखिन्छ । भेपिङको धुँवामा क्यान्सर गराउने तत्त्वहरू देखिएको छ । भेपमा कम मात्रामा क्यान्सर गराउने तत्त्व देखिएको छ ।

  • नेपालमा भेप भित्रिएको कति समय भयो ?

नेपालमा भित्रिएको यकिन तथ्याङ्क छैन । हामी कहाँ भर्खर–भर्खर निर्देशिका आए पनि १० वर्ष अगाडि नै भेप विक्री वितरण भएको देख्न सकिन्छ ।

  • नेपालका के–कतिले भेप प्रयोग गर्छन् ?

नेपालमा भेपलाई समस्याको रूपमा लिएको छैन । समस्या भएमा तथ्याङ्क सङ्कलन गरिन्छ । तर नेपालमा यसको प्रयोगकर्ताको तथ्याङ्क छैन ।

धूम्रपानलाई नै नियन्त्रण गर्न गाह्रो भइरहेको छ । समयमै नियन्त्रण गरियो भने किशोर–किशोरीलाई समस्या हुँदैन । यसलाई कार्यान्वयन र नियमन गर्नुपर्‍यो ।   
  • नेपालमा कुन उमेरकाले भेप प्रयोग गर्छन् ?

नेपालमा किशोर किशोरीले नै प्रयोग गरेको पाइएको छ । मेरो आफ्नो नजिक शिक्षक शिक्षिकासँग कुरा गर्दा स्कुल र कलेजका विद्यार्थीले प्रयोग गरेका छन् । प्रयोगकर्ता बढ्दै गएको अनुमान गर्न सकिन्छ । अमेरिकाको एक तथ्याङ्क अनुसार १२ देखि १८ वर्ष उमेरका ५५ प्रतिशतसम्म किशोर–किशोरीले प्रयोग गरेको पाइएको छ ।

  • पछिल्लो समय ई–सिगरेटलाई प्रतिबन्ध लगाउनु पर्छ भन्ने आवाज उठेको छ, यसलाई कसरी लिनु हुन्छ ?

मैले यसलाई सकारात्मक रूपमा लिएको छु । यसका सकारात्मक बाटो धेरै छन् । यो पहिला नै गर्नुपर्ने थियो किनकि ढिला भइसकेपछि यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । धूम्रपानलाई नै नियन्त्रण गर्न गाह्रो भइरहेको छ । समयमै नियन्त्रण गरियो भने किशोर–किशोरीलाई समस्या हुँदैन । यसलाई कार्यान्वयन र नियमन गर्नुपर्‍यो ।   

  • चुरोट, बिँडी, हुक्का र ई–सिगरेटमा उस्तै हानिकारक तत्त्व हुन्छन् कि फरक हुन्छ ?

हामीले धूम्रपानमा चुरोट, बिँडी, हुक्का बाल्छौँ । त्यो बल्दा धुलोका कण हुने भए, कुनै आधामात्रै बल्ने भए र त्यो प्रज्वलन हुने क्रममा हजारौँ रासायनिक ग्यास निस्कन्छन् । कतिपय ग्यासले हाम्रो फोक्सोलाई, श्वासप्रश्वास प्रणालीलाई सिधै असर गर्छन् । जस्तो कि खोकी लाग्ने, घाँटी घ्यारघ्यार हुने, दम आउने हुन्छ । धूम्रपानमा ८ हजारभन्दा बढी क्यान्सर गराउन सक्ने तत्त्व पाइने वैज्ञानिक रूपमा प्रमाणित भएका हुन् । अझै पनि क्यान्सर गराउने तत्त्वहरू पत्ता लगाइँदै छ ।

भेपमा भेपर हुन्छ । वाफ निकाल्ने क्रममा यसमा धुवाँ कम आउने भयो । यसले जति पनि क्यान्सर गराउने तत्त्वहरू एक पटकमा प्रयोग गर्दा फोक्सोमा पुग्ने परिमाण कम हुने भयो । तर एक पटकको मात्रै कुरा गरेर भएन, भेपलाई मान्छेले सयौँ पटक प्रयोग गर्ने भयो । धूम्रपान मानिसले गहिरोसँग तान्ने होइन । तर भेप स्मुथ हुने भएकाले गहिरोसँग तान्छ । फोक्सोमा गहिरोसम्म पुग्ने भयो ।

  • चुरोट र भेपमा के कति मात्रामा निकोटिन हुन्छ ?

उदाहरणका लागि ३ प्रतिशतको भेप हुन्छ । त्यसको अर्थ एक एमएलमा ३ मिलिग्राम निकोटिन हुन्छ । हामीले प्रयोग गर्ने एक चुरोटमा एक मिलिग्राम बराबरको निकोटिन निस्कन्छ । एक एमएलमा ३० वटा खिल्ली चुरोट बराबर निकोटिन निस्कन्छ । भेपिङ २ एमएल, ३ एमएल, ५ एमएलको हुन्छ । २ एमएलको भेपिङ प्रयोग गर्नु भयो भने ६० खिल्ली चुरोट बराबरको निकोटिन एउटा डिभाइसमा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया