अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया
काठमाडाैँ । झन्डै १४ महिनाअघि महानगरीय प्रहरी प्रभाग साँखुमा इन्चार्जको रूपमा सरुवा हुँदा प्रहरी निरीक्षक फूलमाया घिसिङलाई केही फरक तरिकाले काम गर्ने अठोट थियो । अपराध अनुसन्धान प्रहरीको मुख्य काम भएपनि उनले भोलिका दिनमा समाजमा अपराधका घटना न्यूनीकरणका लागि कसरी काम गर्न सकिएला भन्ने सोचिरहेकी थिइन् ।
यसका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई टेकेर उनले विद्यालय तहबाट नै अपराध, कानुनी व्यवस्था र नागरिकको भूमिकाका बारेमा आफ्नो इलाका क्षेत्रका सम्पूर्ण स्कुलमा पुगेर विद्यार्थीहरू सचेत गराउने काम गरिन् ।
साँखु प्रहरी प्रभागमा आफ्नो १४ महिने कार्यकालमा उनले प्रभाग क्षेत्रभित्रका २८ विद्यालयमा झन्डै ६० वटा कक्षा लिएको बताइन् । सो अवधिमा दर्जनौँ अन्तर्क्रिया कार्यक्रममा अपराध रोकथाम र न्यूनीकरणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकता दिएको भनाइ छ ।
प्रहरी निरीक्षक घिसिङले भनिन्–‘अपराध अनुसन्धान गर्नु त नेपाल प्रहरीको पहिलो काम नै हो । अपराध अनुसन्धानका साथै अपराध हुनबाट जोगाउने, अपराध न्यूनीकरणका लागि के के उपाय अवलम्बन गर्न सकिन्छ, त्यो गर्नु हाम्रो काम हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई टेकेर कुन–कुन सेक्टरलाई प्राथमिकतामा राखेर कसरी सचेतना जगाउने भन्ने सन्दर्भमा विद्यालयलाई पहिलो प्राथमिकतामा राख्यौँ ।’
विद्यालयमा पढाउने काम प्रहरीको नभएपनि विद्यालय स्तरबाट नै अपराध रोकथाम सम्बन्धी चेतना जगाउँदा विद्यार्थीहरु भोलिका दिनमा अपराधमा संलग्न नहोउन् र अपराध भएको थाहा पाएपछि प्रहरीलाई सूचना दिउन् भन्ने उद्देश्यले आफूले विद्यार्थीहरूसँग छलफल अन्तर्क्रियालाई बढी जोड दिएको उनले बताइन ।
प्रहरी निरीक्षक घिसिङले विद्यालयमा गएर बालविवाह, साइवर क्राइम, लागू औषध, बाल हिंसा, महिला हिंसा लगायतका अन्य हिंसाहरू, आत्महत्याका विषयमा विद्यार्थीहरुलाई संक्षिप्तमा त्यसको असर, कानुनी प्रावधानका विषयहरूमा कक्षा लिएको बताइन । यस्तै ट्राफिक प्रहरीका सईबाट ट्राफिक नियमहरूको बारेमा पनि कक्षाहरू लिएको उल्लेख गरिन ।
उनले आफ्नो अनुभव सुनाउँदै भनिन–‘तिहारको बेलामा पटका पट्काउने समस्या आउने गरिरहेको छ । गत तिहारमा सहर बजार छेउका मावि स्तरमा विद्यालयहरूमा गएर बिहानको एसेम्ब्लीको बेलामा मैले ५ मिनेट समय दिए । पटका भनेको नेपालको कानुन अनुसार विस्फोटक पदार्थको रूपमा लिइन्छ, यसले यस्तो–यस्तो असर गर्छ, कानुनमा यस्तो–यस्तो सजायको व्यवस्था गरेको छ भन्ने कुरामात्र विद्यार्थीहरूलाई जानकारी गराएको थिएँ । त्यसको नतिजा गत तिहारको बेलामा शंखरापुरमा पटकाको समस्या नै आएन ।’
कक्षामा विद्यार्थीलाई सामाजिक शिक्षा अध्यापन गराउँदा किताबबाट मात्र नभई समाजसँग प्रत्यक्ष जोडिएका निकायहरूबाट कक्षा दिँदा अझ प्रभावकारी हुने उनको अनुभव छ ।
आफूले लिएको कक्षापछि विद्यार्थीहरूले प्रहरीको काम भनेको मानिसलाई थुन्ने, गाडी बाइकलाई चिट काट्ने भन्ने मात्र उनीहरूको बुझाइमा परिवर्तन भएको र प्रहरीले यसरी नयाँ ज्ञान दिने काम पनि गर्ने रहेछ भनेर उनीहरुले खुसी व्यक्त गर्ने गरेको उल्लेख गरिन ।
विद्यार्थीमा प्रहरीको काम र आधारभूत कानुनी ज्ञान आवश्यक
आफू साँखु क्षेत्रका विभिन्न विद्यालयहरूमा पुग्दा कक्षामा प्रहरीले अपराधका कुरा, कानुनका कुरा र नागरिक दायित्वबारे सिकाउँदा विद्यार्थीहरू निकै उत्साहित भएको स्मरण गरिन ।
विद्यार्थीहरूले विभिन्न अपराध र त्यसको रोकथामका कुरा, कसरी पुलिस बन्न सकिन्छ? प्रहरीले के के काम गर्छ, ट्राफिक प्रहरीले चिट काटेको पैसा कहाँ जान्छ जस्ता धेरै थरी जिज्ञासा राख्ने गरेको बताइन । यसरी विद्यालयमा प्रहरी पुग्दा विद्यार्थीले केही नयाँ ज्ञान पाउनुका साथै प्रहरीको काम कर्तव्य र नागरिकको काम र कर्तव्य नजिकबाट बुझ्न सकेको उल्लेख गरिन ।
उनले भनिन–‘मैले स्कुलमा सुरुमै भन्छु, तपाईँहरूलाई पढाउन भनेर होइन, हामी सहजीकरण मात्रै गर्न आएका हौँ, कतिपय कुराहरू विद्यार्थीहरूलाई थाहा नभएर समस्यामा पर्ने हुन्छन् । एउटा उदाहरण,ब्वाईफ्रेन्ड, गर्लफ्रेन्ड सहमतिमा शारीरिक सम्पर्क राख्दा के हुन्छ भन्ने कुरापनि उनीहरूलाई थाहा छैन । १८ वर्ष पुगेको छैन भने कानुनी रूपमा त त्यो बलात्कार नै हुन्छ । यस्ता विषयवस्तुहरूमा पनि हामीले धेरै नै कक्षा लिएका छौँ ।’
उनले अगाडि भनिन–‘हामीले कक्षामा नछुटाएको कुरा, बालविवाह, जर्वजस्ती करणी, यौन हिंसाका विषयमा विद्यार्थीलाई धेरै जानकारी गराएका छौँ । २० वर्ष नपुगी विवाह गर्न कानुनले रोक लगाएका कुराहरू, १८ वर्ष नपुगी शारीरिक सम्पर्क राख्दा जर्वजस्ती करणी हुन जाने र बलात्कारका घटनाबारे कानुनी व्यवस्था र सजायका बारेमा पनि सचेतना दिने काम छुटाएनौँ ।’
विद्यालयहरूका साथै महिला समूहमा गएर पनि सामाजिक विकृति, विसङ्गतिका बारेमा विभिन्न अन्तरक्रिया गरेको उल्लेख गरिन् ।
हाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा साँखु प्रहरी प्रभागबाट सरुवा भएकी उनले झन्डै १४ महिनाको अवधिमा साँखु क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, नागरिकसँग प्रहरीको सुमधुर सम्बन्ध राख्न सफल भएको उल्लेख गरिन । आफ्नो सेवा अवधिका क्रममा झन्डै १५ देखि २० लाख तीर्थयात्री आउने १ महिनासम्म चल्ने सालीनदी मेलामा शान्ति सुरक्षा कायम गर्न सफल भएको र ९ दिनसम्म चल्ने बज्रयोगिनी जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइन् ।
स्थानीय स्तरमा जुवा तासका समस्या, जाँड रक्सी खाएर होहल्ला र झैझगडा लगायतका घटनाहरू न्यूनीकरण भएको, सवारी साधनको गति नाप्ने राडार गनको प्रभावकारी प्रयोग पछि सडक दुर्घटनामा कमी आएको उल्लेख गरिन् । यस्तै लागू औषध कारोबारी, नक्कली नोट सटही, अवैध काठ ओसार पसार, चोरी लगायतका अपराधको सफल अनुसन्धान गरेको उनको भनाइ छ ।
यस्तै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको अपर तामाकोशी जलविद्युत आयोजनाको सवस्टेशन निर्माण सुरुवात गर्न विभिन्न चुनौतीको सामना गर्दै उत्कृष्ट तवरले सुरक्षा उपलब्ध गराउन सफल भएको प्रहरी निरीक्षक घिसिङले उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य