लप्ची : जहाँ गुफा–गुफामा ध्यान गरिरहेछन्
दोलखाको सदरमुकाम चरिकोटबाट तीन दिन हिँडेर लप्ची गाउँ पुगिन्छ । बिगु गाउँपालिका–१ मा पर्ने यो गाउँ पुग्दा बेग्लै संसारमा पुगेको आभास भयो ।
यस गाउँका बासिन्दाका दुःख कहालीलाग्दा छन् । इतिहास खोज्दै जाने हो भने बौद्ध धर्मगुरु (विख्यात तान्त्रिक वा तन्त्रसाधक) मिलारेपाले यो गाउँमा पाइला टेकेको पाइन्छ । अझै पनि लप्चीमा रहेको एक ढुंगामा मिलारेपा गुरुको पाइला रहेको विश्वास गरिन्छ ।
लप्ची बौद्ध धर्मावलम्बीको मात्रै आस्थाको केन्द्र होइन, विश्वका नागरिक निकै खर्च गरी यस ठाउँमा आएको र ध्यान गरेर बसेको देख्न सकिन्छ ।
लप्ची गाउँ चिनियाँ भूभागले तीनतिरबाट घेरिएको छ । नेपालभित्रको दोलखाको त्यो लास्ट गाउँ लप्ची । इतिहासका जानकारहरू र स्थानीयहरूको भनाइ अनुुसार यहाँ रहेको रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्र ८१० वर्षअगाडि निर्माण रहेछ । यस ठाउँमा आजभन्दा ११ सय वर्षअघि तिब्बत तिरबाट शेर्पाहरू आएर बसेका रहेछन् । प्रसिद्ध बौद्धगुरु मिलारेपा आएसँगै लप्ची गाउँमा मान्छेहरू बस्न थालेका रहेछन् ।
लप्चीका केही खोजकर्ता भन्छन्, ‘मानसिक शान्तिका लागि मिलारेपाले लप्ची गाउँका गुफामा वर्षौंसम्म ध्यान गरे । ती गुफा अहिले पनि यहाँ छन् । मिलारेपा नै ध्यान बसेकैले लप्ची गाउँलाई विश्वको पवित्र स्थल मानिन्छ ।’
बौद्ध धर्ममा तीन महत्त्वपूर्ण तीर्थस्थानमध्ये एक यही गाउँको लप्ची गुम्बा हो । अहिले पनि विभिन्न देशका लामा गुरु लप्चीका गुफा–गुफामा गएर ध्यान बसेको देख्न सक्छौँ । यो गाउँ ध्यान केन्द्रका हिसाबले विश्वमाझ जसरी परिचित छ, राज्यको आँखामा खासै नचिनिएको यो गाउँको दुुःख बेग्लै किसिमको पाउन सकिन्छ ।
यहाँका स्थानीय राम्रो नेपाली भाषा बोल्न सक्दैनन् । यहाँ कोही बिरामी भइहाल्यो भने साधारण सिटामोल खाने मेडिकल वा स्वास्थ्य संस्था समेत छैनन् ।
हालसम्म यो गाउँमा न फोन छ न इन्टरनेट । यहाँका स्थानीयले जिन्दगीका थुप्रै खाले दुःख छल्न अनेकौँ उपाय लगाउँछन् । पढे–लेखेका शिक्षित युुवायुुवती बच्चा जन्माउन काठमाडौँ जान्छन् । लेखपढ नभएकाहरू चौँरीगोठमै बच्चा जन्माउँछन् ।
यहाँका अधिकांश मानिस खोलाको पानीको भरमा बाँचिरहेका छन् । बसोबासका लागि यो लप्ची गाउँ वर्षमा ६ महिना मात्रै उपयुक्त हुन्छ । बर्खामा माथि लप्चीमा र हिउँदमा तल लुुम्नाङ भन्ने गाउँमा झरेर यहाँका स्थानीयले गुजारा गर्छन् । स्थानीयको मुख्य पेसा चौँरी तथा याक पालन हो । कतिपयले घोडापालन पनि गरिरहेका छन् ।
यहाँका स्थानीयको सामूहिकता यति उदाहरणीय छ कोही पाहुना बनेर यस गाउँको कुनै घरमा बस्न पुग्यो भने सबै गाउँलेले विभिन्न खानेकुरासहित उसको स्वागत–सत्कार गर्न आउँछन् ।
यहाँका बच्चालाई राज्यका तर्फबाट कुनै विद्यालय छैन । यहाँका २० विद्यार्थीले गाउँकै एक पढेलेखेका व्यक्तिको जिम्मामा काठमाडौँको बौद्धमा पढ्छन् । यहाँका नागरिकले जति दुःख–कष्ट बेहोरेका छन्, उनीहरू आफ्नो गाउँलाई सधैँ पवित्र राख्न चाहन्छन् । लप्ची बस्तीभित्र गाडी चल्ने सडक बन्नुपर्ने पक्षमा उनीहरू छैनन् । उनीहरू भन्छन्— यो ठाउँ ध्यान गर्ने स्थल हो । लामाको ध्यानमा समस्या पैदा हुने भएकाले यहाँ सडक बन्नु हुँदैन । सडक ल्याउनैपर्ने भए ध्यान केन्द्र र गुम्बालाई अवरोध नपार्ने गरी ल्याउनुपर्ने उनीहरूको भनाइ छ ।
उनीहरू भन्छन्— हामीलाई सडक पनि आवश्यक छ तर त्यो खोलापारि मात्रै । हाइड्रोपावर सञ्चालकसँग पनि उनीहरूको गुनासो छ— हामीलाई सोध्दै नसोधी मनपरी गरिरहेका छन् । सामान्य सल्लाह गर्दैनन् । हामीलाई सोझो देखेर हाइड्रोपावर लगानीकर्ताले हाम्रो सामान्य सुुझाव पनि सुन्न चाहन्नन् ।
स्थानीय बुुद्धिजीवी फुर्बाथार्के शेर्पा भन्छन्, ‘हाइड्रोपावरले अनावश्यक दुःख दियो । अहिले हाम्रो गाउँ जाने बाटो बिगारिदिएको छ । अहिले गुम्बाहरू पहिरोको जोखिममा छन् । गुम्बाहरूलाई बेवास्ता गरेर अपरलप्ची हाइड्रोपावरले बाँध बनाउने भन्ने हल्लाले पनि हामी चिन्तत छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म
-
माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल