गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्नका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरिएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
हालको व्यवस्था अनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्धार गर्दे आएको छ । विदेशमा जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको कोष मार्फत जोखिममा परेका यस्ता श्रमिकको उद्धार गरिँदै आएको छ । तर, गैरकानुनी रूपमा गएका श्रमिकलाई उद्धार गर्ने कोष भने सरकारसँग छैन । “गैरकानुनीमा रूपमा गएका श्रमिक पनि नेपाली नागरिक नै हुन् । उनीहरूको उद्धार गर्नु सरकारको दायित्व हो । त्यसैले छुट्टै कोषको व्यवस्था गर्नका लागि आगामी बजेटमा व्यवस्था गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेका छौ,” उनले भने ।
त्यस्तै, वैदेशिक रोजगारीको नाममा ठगिएमा तुरुन्तै सम्बन्धित निकायमा उजुरी गर्न श्रममन्त्री अर्यालले आग्रह गरेका छन् । “वैदेशिक रोजगारीको नाममा ठगिएमा वैदेशिक रोजगार विभागमा तुरुन्तै उजुरी दिनुहोस् । त्यो सम्भव भएन भने पनि हाम्रो सचिवालयमा ठगी गरेको संस्था वा व्यक्तिको विवरण टिपाउनु होस,” उनले भने । ठगी गर्ने व्यक्ति वा संस्थालाई निर्मम भएर कारबाही गरिनेछ । छलफलमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले मन्त्रालयले अगामी दिनमा श्रमिकलाई अनिवार्य रूपमा सीप तालिमको व्यवस्था गरिने, रोजगार बैक स्थापना गरिने, भारतमा जाने श्रमिकको तथ्याङ्क सङ्कलन गरिने जानकारी दिए ।
श्रममन्त्री अर्याल राजनीतिमा प्रवेश गर्नु अघि नै कर्णालीको जनजीवनसँग नजिक छन् । उनकै नेतृत्वमा कालिकोटमा २५ बेड क्षमताको अस्पताल निर्माण गरिएको थियो । जसलाई ५० बेडमा स्तरोन्नति गर्न सकिन्छ । कर्णालीमा अथाह सम्भावना छ । यही सम्भावनालाई अवसरमा परिवर्तन गर्नुपर्ने समय आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता