विमल निभाका तीन कविता
१) संसद् र घोडाको शव
संसद्अगाडि फ्याँकिएको छ
एउटा घोडाको
शव ।
केही दिन अथवा सप्ताह
अथवा महिना अथवा वर्ष
अघिसम्म
जीवित थियो यो
बलिष्ठ मांसपेशीसहितको
निक्खुर कालो घोडा
आज लम्पसार परेको छ
संसद्को पटाङ्गिनीमा ।
पहिले–पहिले
जब यो निस्कन्थ्यो
राजकीय अश्वशालाबाट
सँगसँगै एउटा अजङ्गको
त्रासदी पनि
यसको जिनमा कस्सिएको हुन्थ्यो
परिणामस्वरूप
तितरबितर हुन्थे
वरिपरिका यात्रुहरू
यसको खुरमा ठोक्किएको फलामे
नालको क्रूर
डाम
अहिलेसम्म यथावत् छ
कमलो शरीर भएका आइमाईहरूका
छालामा ।
त्यस बखत म सानै थिएँ
यो फिँज काढेर हिनहिनाउँथ्यो
एक्कासि
र धेरै बेरसम्म
कम्पायमान भइरहन्थे
घर, सडक, वनस्पति, आकाश
र उज्यालो
प्रत्येक उमेरका नागरिकहरू
यसको टापको हिंसाले
रगतपच्छे थिए
मलाई राम्ररी सम्झना छ
श्वासवान थियो घोडाका रूपमा
एउटा आतङ्क
देशभरि ।
तर एक दिन इतिहासले
यसको पिठ्युँमा सवारी ग¥यो
र हिर्कायो निर्मम
कोर्रा
त्यसैले यो डङग्रङ्ग लडेको छ
संसद् समीप
निस्पन्द भएर
ह्वास्स गनाइरहेछ वातावरणमा
कुहिएको सिनो
सहरभरि हल्ला चल्यो
एउटा घोडा
शवमा परिणत भएर
पछारिएको छ संसद्नेर
एउटा विशाल हुल जम्मा भयो
म हेरिरहेछु
संसद्अघिल्तिर
घोडाको शव छ
र सांसद्हरू भित्र–बाहिर
चपलतापूर्वक
ओहोरदोहोर गरिरहेका छन् ।
एकाएक अघिल्लो लहरबाट
कोही कराउँछ
मरेको छैन घोडा ।
दाजुभाइ, दिदीबहिनीहरू हो !
यो घोडा जिउँदो छ
हेर–हेर, हल्लिरहेछ
यसको गाढा कालो रङ्गको
याल ।
हुल स्तब्ध हुन्छ यो सुनेर
र उसको स्वर
प्रतिध्वनित हुन थाल्छ
ओल्लो छेउदेखि पल्लो छेउसम्म
मरेको छैन घोडा
मरेको छैन
छैन... ।
म पनि नियालेर हेर्छु
निकट गएर अझ
के साँच्चै जिउँदो छ यो घोडा ?
हो, वास्तवमा चलमलाइरहेछ
घोडाको शव
ठिक्क संसद् भवनअगाडि
बिस्तारै–बिस्तारै
एउटा लयमा
(२०५०)
०००
२) मतभेद
केही वस्तुहरूसँग
मेरो गम्भीर मतभेद छ ।
माथि आकाशमा
अल्छी मानी–मानीकन
हिँडिरहेको चन्द्रमासँग
मेरो कुरा मिल्दैन
म रातसँग सहमत छैनँ ।
बगरेको चुप्पी
कालाबजारीको ढक–तराजु
पुलिस डिपार्टमेन्टको जुँगा
गणिकाका शृङ्गार–प्रसाधनहरू
र मन्त्रीहरूका हस्ताक्षरसँग
म आफ्नो फरक विचार
जाहेर गर्छु ।
यद्यपि सत्तासँग
केही सुन्दर शब्दहरू छन्
जो वजनदार पनि लाग्छन्
तर त्यसको कुरूप भावलाई
म मन पराउँदिनँ
त्यसप्रतिको मेरो विरोध छ ।
जरुरी छैन
सांसद्हरूका भत्ता
नक्कली फूलको सुगन्ध
गलत समाचार
जासुसहरूका सूचनासँग
म एकमत होऊँ ।
देशद्रोहीहरूले प्रयोग गरेको
चलाखीप्रति
म गहिरो मतभेद प्रकट गर्छु
(२०५०)
०००
३) कविता र फोहोर लुगाहरू
अब म कविता लेख्न
स्थगित गर्छु
र लुगा धुन थाल्छु ।
किनभने तमाम लुगाहरू
फोहोर भइसकेका छन्
कमिज, प्यान्ट, गन्जी
र मोजाहरू ।
फोहोरैफोहोरका बीचमा
कविता लेख्न बस्नु
कविताको विधान विपरीत छ
एउटा कविले यसबारे
सतर्क हुनैपर्छ
म मनमनै भन्छु ।
झ्याल खोलेर हेर्छु
फोहोरको थुप्रो छ बाहिर
मेरो कोठादेखि परको चोकसम्म
चारैतिर/वरिपरि
मेरो कविता महसुस गर्छ
संसारको गोलो टाउको
फोहोर देखेर
टनटन दुखिरहेछ ।
पच्चीस वर्षअघि
मेरो कविता जन्मेको थियो
त्यस बेलादेखि ऊ निरन्तर
फोहोरको विरोध गरिरहेछ
चाहे त्यो जस्तोसुकै फोहोर होस्
कविताहरू फोहोरका
एक नम्बरका दुस्मन हुन्छन्
कविताको परिभाषा यस्तै छ मेरो ।
कलमलाई टेबुलमा राखेर
विचार गर्छु म
म आफ्नो कविताको आत्मालाई
हत्या गर्न सक्दिनँ बन्धुहरू
कवितासँग प्रेम छ मलाई
त्यसैले अब म कविता लेख्न
स्थगित गर्छु
र लुगा धुन थाल्छु
(२०४६)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकामा एमपक्सको कहर, संक्रमित ७० हजार नजिक
-
जनकपुर बोल्ट्सका समर्थकमाथि प्रहार गर्नेमाथि कारबाही गर्न आयोगको पत्राचार
-
रक्षापंक्ति बलियो बनाउन आफ्नै पूर्व खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड
-
राजनीतिक दलका नेताको विचाराधीन मुद्दा फिर्ता लिने कानुनी व्यवस्थामा सरकार पछि हटेपछि माओवादीको आपत्ति
-
निलम्बित इन्स्पेक्टर बिनु शाही अदालतमा उपस्थित
-
नेपाल रोड रेसिङ च्याम्पियनसिपमा श्रीहरि विजयी