सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् सुचारु हुने वातावरण बनाउनुस्’

काठमाडौँ । सभामुख देवराज घिमिरेले विश्वासको मत लिनुअघि संसद् सुचारु हुने अवस्था सिर्जना गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । शनिबार दिउँसो बालुवाटारमा भएको छलफलमा सभामुखले विपक्षी दललाई सौहार्द रूपमा संसद्मा उपस्थित हुने वातावरण बनाउन आग्रह गरेका हुन् ।
रातोपाटीसँग कुरा गर्दै सभामुख घिमिरेले भने–‘प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने भएपछि ६ गतेसम्म विपक्षी दललाई सौहार्द रूपमा सदनमा उपस्थित हुने वातावरण बनाउनुपर्यो भनेर प्रधानमन्त्रीज्यूलाई भनेको छु । अन्यथा विश्वासको मत लिने अवस्था अप्ठेरो हुन्छ भन्ने कुरा राखेको छु ।’
सभामुखको भनाइप्रति प्रधानमन्त्री प्रचण्डले सदनको वातावरण सहज बनाउनका लागि पहल गरिरहेको र विभिन्न पक्षसँग छलफल गरिरहेको धारणा राखेका थिए । प्रधानमन्त्रीले आजै सभामुखका सत्ता साझेदार दल एमाले, रास्वपाका साथै प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गरेका छन् ।
रातोपाटीसँगको कुराकानीमा सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दल दुई पक्षबाटै आफ्नो अडानलाई बलियो बनाउने अवस्था देखिएको उल्लेख गर्दै यसरी अघि बढ्दा अप्ठेरो हुन्छ भनेर आफूले प्रतिपक्षका नेताहरू र सत्तापक्षका नेताहरूलाई ध्यानाकर्षण गराएको उल्लेख गरे ।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते संसद्मा विश्वासको मत लिने तयारी गरेका छन् । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको बारेमा संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । प्रतिनिधि सभाको बैठक भोली आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनमा सकियाे दयाहाङ र विजयकाे 'वरिष्ठ बलराम'
-
पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत
-
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
-
आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
-
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
भर्जिनियामा सामूहिक गोलीबारी, तीन जनाको मृत्यु