आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
लोककथा

राजा दिव्यचन्द्र र रानी बिर्सिकाको कथा

शनिबार, ०५ जेठ २०८१, १७ : १७
शनिबार, ०५ जेठ २०८१

एकादेशमा दिव्यचन्द्र नामका राजा थिए । उनकी एक परमसुन्दरी रानी थिइन् । उनको नाम बिर्सिका थियो । उनीहरूका सन्तान थिएनन्, तथापि एकापसमा अगाध प्रेम थियो । 

राजारानी दुवै धर्मकर्म, राजपाठ र शासनसत्तामा कुशल हुनाले प्रजाहरू औधि खुसी थिए । दुःख–पीडा कतै थिएन, भोको–नाङ्गो कोही थिएन । कतै अभाव थिएन । मानौँ, दिव्यचन्द्रको राज्य स्वर्गको टुक्रा नै थियो । 

फुर्सदको समयमा राजा सिकार खेल्न जाने गर्थे । त्यस्ता दिनमा रानी एक्लै हुन्थिन् । मन्त्री तथा दरबारका अन्य उच्चपदस्थ कर्मचारीसँग उनले प्रजाका बारेमा सोध्थिन् र आफूले गर्न सक्ने वा मिलाउन सक्ने कुरा आफैँ गर्थिन्, मिलाउँथिन् । त्यसबाट पनि फुर्सद पाए बगैँचातिर टहलिन्थिन्, चराहरूको गीत सुन्थिन्, फूलको बास्नामा रमाउँथिन् र रोमाञ्चित बन्थिन् । 

बेलुकातिर राजा आउँथे, दिनभरिको हालचाल सुन्थे, आवश्यक निर्णय लिन्थे । 

एक रात राजा सपनाबाट ब्युँझिए । सपनामा देखेको कुराले उनलाई नरमाइलो लागेको थियो । त्यसैले उनले बिर्सिकालाई पनि उठाए । बिर्सिका आँखा मिच्दै उठिन् र ‘के भो महाराज ?’ भनेर सोधिन् । 

राजाले आफूले देखेको सपनामा रानीलाई सुनाए । 

सपनामा म कतै जाँदै थिएँ । जाँदाजाँदै मलामीको लस्कर देखेँ । तिनीहरू कोही डाको छाडेर रोइरहेका थिए, कोही सुँक्कसुँक्क गर्दै थिए । सबैको अनुहार मलिन र अँध्यारो थियो । सबैभन्दा पछाडि एक स्त्री अत्यन्त कारुणिक ढङ्गले छाती पिटीपिटी रुँदै आइरहेकी देखेँ । ती स्त्री मृतकको अर्धाङ्गिनी रहिछन् । 

‘श्रीमान् नै नभएपछि आफू बाँच्नुको अर्थ नरहेको र एक पतिव्रता नारीको उत्तम धर्म भनेकै सती बन्नु हो’ भनेर उनी श्रीमान्सँगै एउटै चितामा जल्नका लागि तयार भएर आएकी रहिछन् । घर–परिवारका अन्य सदस्य, नातागोता, इष्टमित्र, छिमेकी आदि कसैले सम्झाउँदा पनि मानिनछन् । उनको त्यो निर्णयले सबै दुःखी भएका रहेछन् । 

यो देखेर मलाई स्वाभाविक रूपमा दुःख लाग्यो । म त्यहीँ किंकर्तव्यविमूढ भएर उभिइरहेँ । मलामी सबै गए, स्त्री पनि रुँदै–रुँदै गइन् । उनको रुवाइ यति कारुणिक थियो कि सुनेर सायद प्रकृति पनि रोयो होला । मेरा आँखाबाट पनि बलिन्द्रधारा आँसु झर्दै थिए । भारी मन लिएर आँसु झार्दाझार्दैको अवस्थामा म झल्याँस्स ब्युँझिएछु । 

बिउँझेपछि पनि मलाई साह्रै नरमाइलो लाग्यो र मैले तिमीलाई उठाएको हुँ ।’

बिर्सिकाले भनिन्, ‘महाराज ! जन्मेपछि मृत्यु त अवश्यम्भावी छ । वास्तवमा जन्मिनु भनेकै मर्नु हो । यसमा दुखित वा चिन्तित हुनुपर्ने कारण खासै देख्दिनँ । फेरि यो सत्य घटना पनि होइन, सपना हो । यो कुराले हजुरलाई किन यति धेरै छोयो ?’

‘प्राणप्यारी !’ राजाले गम्भीर भएर भने, ‘तिमीले भनेको कुरा ठिक हो । जन्मेपछि मर्नु शाश्वत सत्य हो, तर धर्मको रक्षाको खातिर आफ्नो बलिदान दिनु साधारण मनुष्यको बुताबाहिरको कुरा हो । सपनामा देखिएकी जस्ती स्त्री यस राज्यमा अझै छन् भने मेरो विचारमा ती अत्यन्त धर्मात्मा स्त्री हुन् । पतिव्रता धर्मपालन गर्नका लागि जिउँदै चितामा जल्नु, स्वेच्छाले सती बन्न तयार हुनु चानचुने कुरा होइन । म ती महान् स्त्रीलाई हृदयदेखि प्रणाम गर्छु ।’

‘महाराज ! हजुरको नजरमा ती स्त्री धर्मात्मा भइन् ? पतिव्रता धर्म पालन गर्ने महान् बनिन् ?’ बिर्सिका हाँस्न थालिन्, ‘यो भ्रान्ति मात्र हो महाराज ! मेरो दृष्टिमा ती स्त्री महापापिनी हुन् । त्यस्तो अकाल मृत्यु रोज्ने कोही पनि धर्मात्मा हुँदैनन् । तिनीहरूको आत्माले कहिल्यै शान्ति पाउँदैन, चाहे कारण जेसुकै होस् ।’

‘कसरी प्रिय ? ती स्त्री तिम्रो नजरमा कसरी अधर्मी र घोर पापीनी भइन् ? मैले बुझिनँ,’ राजाले वाल्ल पर्दै भने । 

अनुहारमा अनौठो तेज र चमक ल्याउँदै बिर्सिकाले भनिन्, ‘महाराज ! बाँचेका आफ्नाहरूलाई रुवाएर जो तथाकथित धर्म वा मुक्तिको बाटो रोज्छ, त्यो सदैव पापी र अधर्मी हुन्छ । सोच्नुस् त, श्रीमान् त मरेर गए । उनलाई फर्काउने अब कुनै उपाय छैन तर घरमा वृद्धावस्थाका सासुससुरा होलान्, अबोध लालाबाला होलान्, पालिएका पशुपन्छी होलान् । तिनीहरूलाई कसले हेर्छ ? कसले पाल्छ ? उनी त मरिन् रे लौ, अरु सहाराविहीनहरू जिउँदै मरे नि, होइन र ? अनि उनी कसरी धर्मात्मा भइन् ? भोक र तिर्खाले आकुलव्याकुल हुँदा के ती सबैले उनलाई सराप्दैनन् र ? के उनलाई त्यो सराप लाग्दैन र ? के त्यस्तो व्यक्तिका लागि स्वर्गको ढोका खुल्छ र ? अहं, पक्कै खुल्दैन । ती पापिनीको गन्तव्य भनेको नर्क हो । मेरो ठम्याइमा उनले जानीजानी नर्क रोजेकी हुन् । धर्मात्मा स्त्री वा पुरुष त्यस्ता हुँदैनन् ।’

‘कस्तो हुन्छ त त्यसो भए ?’ राजाले छक्क पर्दै सोधे । 

‘महाराज ! आफ्नो कर्तव्य पालना गर्दागर्दै कसैलाई पनि बाधा नपारीकन जसले तीनपटक राम भनेर प्राण त्याग्न सक्छ, त्यो व्यक्ति नै धर्मात्मा हो ।’ रानीले जवाफ दिइन् । 

‘ओहो, यो त अनौठो कुरा गर्‍यौ ! यस्तो पनि सम्भव हुन्छ र ? तिमीले भने जसरी प्राण त्याग गर्न सक्ने व्यक्ति पनि कोही पाइन्छ र यो संसारमा ?’ राजाले आश्चर्य प्रकट गर्दै भने । 

‘सम्भव हुन्छ महाराज ! सम्भव तुल्याउन सक्ने मान्छे पनि छन्,’ बिर्सिकाले दृढनिश्चयी हुँदै जवाफ दिइन् । 

‘को छ ? कहाँ पाइन्छ त्यस्तो मान्छे ? मसँग भेट गराउन सक्छ्यौ !’ राजाले अधीरता प्रकट गर्दै भने । 

‘कहीँ जानैपर्दैन महाराज,’ बिर्सिकाले मुस्कुराउँदै भनिन्, ‘हजुरकी अर्धाङ्गिनी स्वयं त्यसरी प्राण त्याग गर्न सक्छे ।’

‘अर्थात् ?’ राजा केही बोल्न सकेनन् । उनको आँखा आश्चर्यले ठुल्ठुला भएका थिए र एकटकले बिर्सिकालाई हेर्दै थिए । 

राजाको यो हालत देखेर बिर्सिकाले हाँस्दै भनिन्, ‘हजुरलाई पत्यार लागेन जस्तो छ महाराज ! अब यस्तो कुरामा प्रमाण माग्ने र दिने कुरा भएन, तर म साँच्चै त्यसरी प्राण त्याग्न सक्छु; र त आफूलाई धर्मात्मा भन्न रुचाउँछु । ल अब सुतौँ होला । रातमा धेरै जाग्राम बस्दा भोलिको दैनिक कार्य सञ्चालनमा कठिनाइ पर्न सक्छ ।’

man-bahadur-sunar

यति भनेर बिर्सिका कोल्टे फर्किइन् र क्षणभरमै भुसुक्क निदाइन् । राजाको आँखाबाट भने निद्रा भाग्यो । बिर्सिकाले अविश्वसनीय र असम्भवजस्ता लाग्ने कुरा गरेकी थिइन् । उनले भनेको झुटो वा साँचो के हो, मापन गर्ने आधार थिएन । राजा करिब–करिब निश्चित थिए कि बिर्सिकाले दाबी गरेको कुरा झुटो हो । कता कता हो कि जस्तो पनि लाग्यो । होइन र हुन सक्दैन भनेर जतिसुकै सोचे पनि मनभित्रको कुनै कुनामा भने हुन पनि सक्छ है भन्ने विचार बलियो हुँदै आइरहेको थियो । 

त्यसो त बिर्सिका जादु, टुनामुना वा तन्त्रमन्त्रको अभ्यास गर्दिनथिन् । जुन हिम्मत र दृढताका साथ बिर्सिकाले भनेकी थिइन्, त्यसले राजालाई सोच्न बाध्य बनायो । उनले बिर्सिकाको परीक्षा लिने विचार गरे र बाँकी रात जसोतसो सुते । 

भोलिपल्ट उनले आफ्नो सबैभन्दा विश्वासिलो मन्त्रीसँग यस सम्बन्धमा कुराकानी गरे र महारानीको परीक्षा लिने इच्छा प्रकट गरे । मन्त्रीले सबै कुरा ध्यानसँग सुने । महारानीको धार्मिकताका बारेमा थाहा पाएर उनलाई पनि आश्चर्य लाग्योे तर परीक्षा नै लिने भन्ने राजाको प्रस्तावमा सहमति जनाउन सकेनन् । राजा उत्तीर्ण भए ठिकै हो, महारानीले दाबी गरेअनुसार भयो भने त बर्बाद हुन्छ । त्यसैले उनले राजा दिव्यचन्द्रलाई त्यसो नगर्न सुझाव दिए ।

आफूले निश्चय गरिसकेकाले जसरी पनि महारानीको परीक्षा लिने जिद्दी राजाले गरे र सोका लागि आवश्यक प्रबन्ध मिलाउन मन्त्रीलाई निर्देशन समेत दिए । मन्त्रीसँग राजाज्ञा शिरोधार्य गर्नुभन्दा अर्को उपाय रहेन । 

राजाको इच्छा र मन्त्रीको योजनाअनुसार एक दिन राजा सिकार खेल्न जाने भए । योजनाको कुनै भेउ नपाएकी बिर्सिकाले केही भन्ने कुरो भएन, किनकि राजा सिकार खेल्न प्रायः गइरहन्थे । त्यस दिन भने उनी थोरै सङ्ख्यामा सिपाही र अङ्गरक्षक लिएर मन्त्रीसहित वनतिर रवाना भए । सिकारको मनसाय नभए पनि सिकार खेलेजस्तो गरियो । झन्डै साँझ पर्न लागेपछि राजा र मन्त्रीले दुई–तीन जना अङ्गरक्षकबाहेक बाँकी सबैलाई दरबार नगई आ–आफ्नो घर जान अह्राए । सिकारबाट सिधै घर जान पाउने भएपछि उनीहरूको खुसीको सीमा रहेन । उनीहरू ‘महाराज दिव्यचन्द्रको जय ! मन्त्रीज्यूको जय !’ भन्दै घरतिर लागे । 

सबै गइसकेपछि राजा र मन्त्री एकछिन वनमै भलाकुसारी गर्दै रहे । झमक्क साँझ परे पछि आ–आफ्नो भूमिकाको तयारीमा लागे । 

उता दरबारमा बिर्सिका सधैँजस्तो एक्लै थिइन् । सिकार खेल्न गएका राजा अरु दिन चाँडै आइपुग्थे, यसपालि झमक्क हुँदा पनि आएनन् । उनको छाती ढक्क फुल्यो । मनमा ‘महाराज आज किन ढिला गर्नुभएको होला ?’ भन्ने जिज्ञासा उठिरह्यो । 

साँझ ढल्दै गयो । बास बसेका चराहरूको आवाज सुनिन छाडे । कामविशेषले हिँड्ने मानिस पनि आ–आफ्नो बासस्थानभित्र छिरे । सबैतिर चकमन्न भयो । राति कराउने किराफट्याङ्ग्राको एकोहोरो किर्किर आवाज मात्र सुनिन थाल्यो । पटाङ्गिनीमा बसेर उदास मुद्रामा बिर्सिकाले एकटक राजाको बाटो हेर्दै रहिन् । 

रानीको धैर्यताको बाँध फुट्नै लागेको थियो । अचानक उनले परबाट कोही आइरहेको देखिन् । ‘लौ अब भने महाराजको सवारी भयोे’ भनेर रानी खुसी भइन् तर नजिक आइपुगेपछि उनले थाहा पाइन्— ती राजा थिएनन्, राजासँगै सिकार खेल्न गएका मन्त्री उनको अगाडि उपस्थित थिए । 

‘मन्त्री ! खोइ त महाराज ?’ रानीले सोधिन् । 

मन्त्रीले केही जवाफ दिएनन्, घोसे मुन्टो लगाएर उभिइरहे । उनको अनुहार बर्सिन लागेको बादलजस्तो थियो ।

‘मन्त्री, किन बोल्दैनौ ? के भयो ? तिमी मात्र एक्लै किन आयौ ? महाराज कता होइबक्सिन्छ ? किन सवारी भएन यसबेलासम्म ?’ बिर्सिकाले एकै सासमा सोधिन् । 

‘मऽऽ मऽऽ महारानी’, मन्त्री भकभकाउँदै बोल्न थाले, ‘मऽऽ मऽऽ माफ पाऊँ महारानी ! मैले कोसिस गरेको हुँ, तर सकिनँ !’ यति भनेर उनी डाँको छाडेर रुन थाले । 

‘लौ, किन रोएको तिमी ? कुरो के हो ? विस्तारमा बताऊ ।’ रानीले छक्क पर्दै सोधिन् ।

मन्त्रीले सक्दो अभिनय गर्दै काल्पनिक घटना सुनाए—

‘महारानी ! आज हामी सबै वनमै रहेको बखत महाराजबाट दुई–चार जनाबाहेक सबै सिपाही र अङ्गरक्षकलाई चाँडै बिदा निगाहा गरिबक्स्यो । 

महाराजसहित हामी ५–६ जना भने वनको भित्री भागतिर लाग्यौँ । अलि पर पुगेपछि महाराजको नजर एउटा मृगमा परेछ । नजिकै म भएको हुनाले हामी दुई मिलेर उक्त मृगलाई पच्छ्याउन लाग्यौँ । यस क्रममा अन्य सिपाही पछाडि छुटे । मृग अलप हुँदै र निस्किँदै गथ्र्यो । हामी पनि रमाइलो मान्दै त्यसको पछि लाग्दा समय बितेको पत्तै भएन । यत्तिकैमा अचानक एउटा बाघले महाराजमाथि आक्रमण गर्‍यो । मृगको धुनमा भएकाले महाराजलाई बाघको बारेमा थाहै भएन । न मलाई नै हुन सक्यो । अचानक मैले महाराजको चित्कार सुनेँ । फर्केर हेर्दा बाघले महाराजलाई घिसारिसकेको थियो । 

मैले आफूसँग भएको हतियार, ढुङ्गा र वरिपरि जे जे भेटिन्छ त्यही त्यही कुराले बाघको ध्यान भड्काउन कोसिस गरेँ, तर उसले आफ्नो सिकार पाइसकेको थियो, महाराजलाई छाडेन । मैले छुटाउने कोसिस गर्दागर्दै बाघले हाम्रा प्रिय महाराजलाई झाडीमा हुल्यो । अन्तिम अवस्थामा महाराजले फालेको रुमाल मात्र मेरो हातमा पर्‍यो । त्यो यहीँ छ, लिनुहोस् महारानी !’

यति भनेर मन्त्रीले रगतले लतपतिएको एउटा रुमाल रानीतिर बढाए र फेरि डाँको छाडेर रुन थाले । 

यतिन्जेल चुपचाप मन्त्रीलाई सुन्दै गरेकी बिर्सिकाले लामो सास तानिन् र ‘राम’ भनिन् । त्यसपछि उनले रुमाल हातमा लिइन् । त्यो राजाकै रुमाल थियो, त्यसमा कुनै शङ्का थिएन । उनले सो रुमालले नाक र मुख छोपिन् र फेरि लामो सास तान्दै दोस्रोपटक ‘राम’ भनिन् । उनले आँखा बन्द गरिन् र ध्यानमग्न भइन् । मन्त्री भने एकोहोरो रुँदै रहे । 

केहीबेरपछि रानीले आँखा खोलिन् र मन्त्रीलाई सम्बोधन गर्दै भनिन्, ‘मन्त्री, राजाबिना त यो संसारमा मेरो केही काम छैन । मेरा अघि र पछि कोही पनि छैनन् । अर्थात्, मेरो अन्त्यपछि रुने कोही छैन । यो राज्य, यो वैभव, यो श्रीसम्पत्ति मेरा लागि केही होइन । मेरो जे थियो र हो, त्यो महाराज हुनुहुन्थ्यो । अब महाराज नै नरहेपछि यस धर्तीमा म रहनुको अर्थ छैन । त्यसकारण म देहत्याग गर्दै छु । जुन शब्दलाई तीनपटक उच्चारण गर्दा मेरो प्राण जान्छ, त्यसलाई दुईपटक उच्चारण गरिसकेकी छु । अब एकपटक मात्र बाँकी छ । तिमीले भनेको कुरा झुटो हो भने अझै पनि मलाई बचाउने मौका छ, भन ।’

‘महारानीलाई झुटो कुरा निवेदन गर्न सक्ने साहस यो तुच्छ सेवकमा छैन । मैले भनेको कुरा सोह्रै आना सत्य हो । महाराज अब हाम्रो सामु हुनुहुन्न ।’ यति भनेर मन्त्री फेरि रुन थाले । 

यो सुनेर बिर्सिकाले पलेटी कसिन् । एकछिन ध्यान मुद्रामा चुपचाप बसिन् । त्यसपछि लामो सास फेरिन् र ‘राऽऽम’ भन्दै ढलिन् । तत्क्षण उनको प्राणपखेरु उड्यो । 

यी सबै दृश्यलाई अघि नै दरबार आई त्यतै कतै लुकेर बसेका दिव्यचन्द्रले हेरिरहेका थिए । बिर्सिकाको ज्यान लिने उद्देश्य उनको किमार्थ थिएन । आफ्नो शङ्का दूर गर्न मात्र उनले परीक्षा लिएका थिए तर यहाँ परीक्षार्थीले परीक्षकलाई माथ खुवाइदिइन् । 

बिर्सिका प्राणविहीन भएर ढलेपछि मात्र दिव्यचन्द्रलाई ‘मैले के गरेँ’ भन्ने कुराको बोध भयो । उनी दौडिँदै आएर चिच्याए— ‘महारानी, महारानी !’ 

एकैछिन त राजा अन्यमनस्क बने । के भयो, कसरी भयो, किन भयो, केही सोच्नै सकेनन् । उनको अगाडि उनकी प्राणप्यारी प्राणविहीन भएर ढलेकी थिइन् र त्यसको कारक उनी नै थिए । एक हिसाबले उनले नै आफ्नी प्रिय महारानीलाई मारेका थिए । उनी बिर्सिकाको मृत शरीरलाई अँगालो हालेर ‘तिम्रो हत्यारा मै हुँ प्रिय, मलाई माफ गर !’ भन्दै रुन चिच्याउन लागे । 

उनले अलापविलाप गर्नुको कुनै अर्थ थिएन; जे नहुनुपर्ने हो, त्यो भइसकेको थियो । आफ्नै मन्त्रीको कुरा नसुन्नाले राजाले आज सर्वस्व गुमाएका थिए । यसबाट उनलाई घनघोर पश्चाताप भइरहेको थियो । 

दरबारको पटाङ्गिनीबाट आएको रोदन र चिच्याहट सुन्नेहरू सबै त्यहीँ जम्मा भए । मन्त्रीले रुँदैरुँदै घटनाक्रम बताएपछि के भएको थियो भनेर सबैलाई थाहा भयो । कसैले राजालाई दोष दिए, कसैले मन्त्रीलाई, कसैले समयलाई । कति त रानीलाई दोष दिन पनि पछि परेनन् । जेहोस्, हुनुहुनामी भइसकेको थियो । उपस्थित सबै शोकमग्न थिए । त्यो रात त्यत्तिकै बित्यो । 

उज्यालो हुन्जेलसम्म सबै मानिस आ–आफ्नो घरतिर गइसकेका थिए । मृत्यु संस्कारको आवश्यक प्रबन्ध मिलाउन भनेर मन्त्री पनि कतै गए । त्यहाँ राजा मात्र बाँकी रहे । उनी बिर्सिकाको मृत शरीरलाई काखमा राखेर पटकपटक म्वाइँ खाँदै रुँदै गरिरहेका थिए । केही समयपछि  मलामी आए, तर राजाले बिर्सिकाको मृत शरीर कसैलाई छुन दिएनन् । 

राजाले मन्त्रीलाई नजिकै बोलाएर भने, ‘हेर मन्त्री ! यो मेरो बालहठको परिणाम हो । यसको सजाय मैले भोग्नैपर्छ । म मेरी प्रियाको मृत शरीर बोकेर जाँदै छु । कहाँ जान्छु, किन जान्छु, कहिले फर्किन्छु वा फर्किन्नँ, केही थाहा छैन । तसर्थ आजदेखि यो राज्य म तिम्रो जिम्मामा दिन्छु । मैलेजस्तै वा मैलेभन्दा पनि राम्रो तरिकाले तिमी राजकाज चलाऊ । मेरो चिन्ता नगर । राज्य र नागरिकको चिन्ता गर ।’ 

यति भनेर उनी बिर्सिकाको मृत शरीर काँधमा राखेर त्यहाँबाट निस्किए । राजाको कठोर शब्द र निर्णयबाट किंकर्तव्यविमूढ बनेका मन्त्री र अन्य भाइभारदार उक्त दृश्य हेरिरहे । 

बिर्सिकाको लास काँधमा बोकेर रुँदै निस्किएका राजा दिनभर गन्तव्यविहीन भएर हिँडिरहे । बिर्सिकाको निधनका बारेमा जानकारहरूले त राजालाई केही भनेनन्, बाँकीले भने उनलाई बौलाहाको संज्ञा दिए । कतिले ढुङ्गाले हाने । कतिले नजिकै गएर थुके । कतिले हात नै हाले । दिव्यचन्द्रलाई यी कुनै कुराले छोएन । बिर्सिकाको हत्या गरेको असह्य पीडा र पश्चातापमा रहेका उनी घरी रुन्थे, घरी चिच्याउँथे र घरी बर्बराउँथे । उनको यो दशा र मनोभावसँग बाँकी दुनियाँलाई वास्ता थिएन । 

बिस्तारै लास गन्हाउन थाल्यो, तैपनि राजाले बोक्न छाडेका थिएनन् । त्यसैले उनलाई मानव बस्ती क्षेत्रबाट लखेटियो । उनी वनतिर छिरे । उनको पागलपन देखेर हो वा किन हो ! वनका जनावर समेत उनको नजिक पर्दैनथे । वनमा उनी अगाडि बिर्सिकाको शव राखेर एकोहोरो रुँदै निकै दिन बसे । शवको दुर्घन्धले पनि उनलाई छोएको थिएन । 

समय बित्दै गयो । बिर्सिकाको शव कुहिएर हाडखोर मात्र बाँकी रहे । ती त्यसपछि राजाले कङ्काललाई बोकेर हिँड्न थाले । उनको यो अवस्था देखेर स्वर्गका राजा इन्द्रलाई दया जाग्यो । बैकुण्ठधाम पुगेर उनले भगवान् विष्णुलाई दिव्यचन्द्रका बारेमा बताएर प्रार्थना गरे, ‘हे ईश्वर ! हे करुणानिधान ! त्यसो त हजुरबाट सृष्टिको केही कुरा लुकेको छैन । तथापि हे परमेश्वर ! दिव्यचन्द्रलाई उसको यो अवस्थाबाट मुक्ति प्रदान गर्नुहोस् ।’

विष्णुले इन्द्रलाई ‘तिम्रो भनाइ ठिकै हो । पर्ख, म केही उपाय लगाउँछु’ भनेर फर्काइदिए र आफू एक सिद्धपुरुषको भेष धारण गरेर दिव्यचन्द्र बसिरहेको ठाउँमा गए । आफ्नो अगाडि अचानक सिद्धपुरुष प्रकट भएको देखेर दिव्यचन्द्रले प्रणाम गरे । 

विष्णुले केही नजानेजस्तो गरी दिव्यचन्द्रका बारेमा सोधपुछ गरे । दिव्यचन्द्रले कुनै कुरा नलुकाई सबै सत्य बताए । सिद्धपुरुषको भेषधारण गरेका विष्णुले भने, ‘वत्स ! तिम्रो कथा निकै कारुणिक र पीडादायी छ । जन्मेपछि मर्नुपर्छ भन्ने शाश्वत सत्यसँग तिमी भलीभाँती परिचित छौ, कारण चाहे जेसुकै होस् । तिमीले जे गर्‍यौ, सायद त्यो ईश्वरको इच्छा थियो । तिमीले बिर्सिकाको परीक्षा लिनु गल्ती थियो भने त्यो तिमीबाट भएको गल्ती होइन, स्वयं विधाताबाट भएको थियो । तिमीबाटै भएको हो भनेर मानिलिने हो भने पनि यति धेरै पश्चातापको जरुरत म देख्दिनँ । त्यसकारण हे राजन ! जाऊ, दरबार फर्क । राजकाज चलाऊ । प्रजालाई सुख देऊ । आफू सुखी रहू । त्यही पुरानो वैभव र प्रसिद्धिमा फर्क ।’ 

दिव्यचन्द्रलाई ती सिद्ध पुरुषका वचनले कुनै प्रभाव परेन । उनले आफू हत्यारा भएको र प्रायश्चितको रूपमा यसरी नै जीवन अन्त्य गर्ने हठ लिए । विष्णुले कर्मयोग र साङ्ख्ययोगको तमाम ज्ञान दिँदा पनि दिव्यचन्द्रमा कुनै प्रभाव परेन । 

केही गरे पनि दिव्यचन्द्र अब पहिलेको जीवनमा नफर्किने छाँटकाँट देखेपछि विष्णुले एक प्रस्ताव राखे, ‘राजन ! तिम्रो प्रायश्चित बिर्सिकासँग मात्र सम्बन्धित हो भने ठिकै छ, म उनलाई जीवित तुल्याइदिन्छु । त्यसपछि के तिमी पहिलेजस्तै राजा बनी सामान्य जीवनमा फर्किन्छौ ?’ 

दिव्यचन्द्रले खुसी हुँदै भने, ‘भगवन् ! यस्तो सम्भव हुन्छ भने म अवश्य पुरानै जीवनशैलीमा फर्कनेछु । मेरी प्राणप्यारीलाई सबै सत्य बताएर क्षमा माग्नेछु ।’

विष्णुले भने, ‘म बिर्सिकालाई जीवनदान दिन्छु, किन्तु एउटा सर्त छ ।’

‘कस्तो सर्त !’ 

‘सुन राजन,’ विष्णुले भने, ‘बिर्सिकालाई जीवित बनाउन उनको उमेर शून्यबाट सुरु गर्नुपर्छ । त्यसको लागि म तिम्रो उमेरबाट २० वर्ष लिन्छु र उनलाई दिन्छु । यसबाट उनी २० वर्षकी जवान युवती बन्नेछिन् भने तिम्रो हालको उमेरमा २० वर्ष थपिनाले तिमी वृद्ध बन्नेछौ । ल भन, तयार छौ ?’

‘ओहो प्रभु, यो त मेरा लागि सौभाग्य हो । मेरी प्रिया जीवित हुन्छिन् भने मेरो उमेर र अवस्थासँग मलाई के लिनुदिनु भयो र ? कृपा गरिबक्सियोस् प्रभु !’ दिव्यचन्द्रले भने । 

‘लौ त्यसो भए’ भन्दै विष्णुले बिर्सिकाको हाडखोरलाई यथास्थानमा जोडिदिए र एक अत्यन्त मनमोहक रेशमी कपडाले बेरिदिए । अनि दिव्यचन्द्रको उमेरबाट २० वर्ष झिकेर उक्त कङ्कालमा राखी प्राण सिञ्चित गरिदिए । एकै छिनमा बिर्सिकाको शरीर पुष्ट हुँदै आयो र उनी सास फेर्न थालिन् । यो दृश्य हेरिरहेका दिव्यचन्द्र खुसीले पागलजस्तै चिच्याउँदै नाच्न थाले । 

विष्णुले हाँस्दै भने, ‘हे राजन ! मैले तिम्री अर्धाङ्गिनीलाई पुनर्जन्म दिएको छु । यद्यपि उनलाई पूर्वजन्मको याद भने तत्कालै आउनेछैन । समयसँगै त्यो क्रमशः विकास हुँदै जाला । अब तिमी जाऊ, दरबार फर्केर राजकाज चलाऊ । 

ख्याल राखे राजन, तिम्रा आगामी दिन निकै नै सङ्कटमय हुनेछन् । त्यसकारण म तिमीलाई एक विशेष वरदान दिँदै छु । त्यो के भने यसउप्रान्त तिमी आफूलाई इच्छा लागेकोे बखत कुनै पनि मृत प्राणीको शरीरमा आफ्नो आत्मा प्रवेश गराएर सोही प्राणी बन्न सक्नेछौ । यो वरदान दिनुको उद्देश्य तिमीलाई केही समयपछि मात्र ज्ञात हुनेछ, त्यसकारण यसको जथाभावी प्रयोग नगर्नू । त्यसबाहेक भैपरी आउने सङ्कटबाट बच्न सजिलो होस् भनेर म तिम्रो साथमा एउटा कुकुर पनि छाडेर जाँदै छु । यसलाई सदैव आफ्ना साथमा राख्नू ।’ 

यति भनेर विष्णुले ‘हिरामोहनी’ नामको एक कुकुर दिव्यचन्द्रलाई उपहारस्वरूप दिए र अन्तध्र्यान भए । 

राजा दिव्यचन्द्र अकस्मात् सारा पीडाबाट मुक्त भए । उनको अगाडि उनकी प्राणप्यारी अझ निखारिएको सौन्दर्यले लवालव भरिएर निदाइरहेकी थिइन् । राजाले मन्द मुस्कानसहित एकटकले बिर्सिकालाई हेरिरहे । 

उनको तपस्या सफल भएको थियो । उनले मनमनै ती सिद्धपुरुषलाई फेरि प्रणाम गरे, जो स्वयं भगवान् विष्णु थिए भन्ने उनले चालै पाएनन् । यत्तिकैमा बिर्सिका उठिन्; अनकन्टार वनमा आफ्नो सामु एक वृद्ध मानिस र एउटा कुकुरलाई देखेर अचम्म मान्दै सोधिन्, ‘हे मान्यवर ! हजुर को हुनुहुन्छ ? म को हुँ ? यो घनघोर वनमा हामी दुई मात्र कसरी आइपुग्यौँ ? अनि नजिकै बसिरहेको यो कुकुर किन र कसरी यहाँ आइपुग्यो ? कृपया बेलिविस्तार लगाउनुहोस् ।’

आफ्नी प्राणप्यारीबाट आएको यो अमृतमय वचन सुनेर दिव्यचन्द्र द्रविभूत भए र प्रशन्न मुद्रामा सम्पूर्ण घटनाक्रम बताए । आफ्ना लागि त्यति धेरै त्याग गरेको सुनेर बिर्सिका पनि औधि खुसी भइन् र भनिन्, ‘महाराज ! हजुरलाई धेरै धेरै धन्यवाद छ । यो त्याग र तपस्याका लागि म हजुरप्रति आजन्म ऋणी बन्नेछु । अब वनभित्र धेरै बेर नबसौँ । जाऔँ, आफ्नै दरबार जाऔँ र प्रजालाई खुसी तुल्याऔँ ।’

बिर्सिका अघि लागिन्, दिव्यचन्द्र पछिपछि हिँड्न थाले । उनीहरुसँगै कुकुर पनि हिँडिरहेको थियो । सुखदुःख र मायापिरतीको गफ गर्दै गर्दै अलि पर पुगेपछि दिव्यचन्द्रलाई थकाइ, भोक र निद्राले एकैचोटि गाँज्यो । कैयौँ दिनसम्म पानी समेत नपिई अनिदो बसेकाले उनी कमजोर भएका थिए । नजिकैको रुखको फेँदमा थचक्क बसेर उनले भने, ‘प्राणप्यारी, म एकछिन सुस्ताउँछु । तिमी पर्खेर बस । म धेरैबेर निदाएँ भने बरु उठाउनू ।’

यति भनेर उनी एकैछिनमा निदाए । रानी निदाइरहेका राजालाई छेउमा बसिन् । उनको मनमा अनेक तर्कना आउन थाले, ‘यो व्यक्तिले भनेका कुरा साँचा होलान् र ? के यही नै मेरो पति थियो होला र ?’

सुरुमा जे जसो भने पनि अनुहार राम्रोसँग हेर्दै जाँदा ती वृद्धलाई पति मान्न उनको जवानी र चञ्चल हृदय तयार भएन । यद्यपि दिव्यचन्द्रले भनेका कुरा नपत्याउने आधार र उपाय पनि थिएन । 

उनलाई अलिअलि डर पनि लाग्न थालेको थियो । डर भगाउनकै लागि उनले यताउति हेर्दै थिइन् । यत्तिकैमा विपरीत बाटोबाट एक जवान युवक आउँदै गरेको देखिन् । वनमा अचानक मान्छे देखेपछि उनको डर भाग्यो तर तत्कालै फेरि अर्को डर सुरु भयो, ‘कतै एक्ली अबला देखेर युवकले केही गर्ने त होइन ?’

बिर्सिकाको नजिकै बस्दै ती युवकले मधुर स्वरमा सोधे, ‘हे सुन्दरी ! तिमी को हौ ? कहाँबाट आएकी हौ ? तिम्रोनजिकै सुतिरहेका यी वृद्ध मानिस को हुन् ? यस्तो एकान्त वनको बाटो भएर कहाँ जान लागेकी हौ ? कृपया मिल्छ भने सबै यथार्थ बताऊ ।’

बिर्सिकाले सबै कुरा बताइन् । त्यहाँ ढाँट्नुपर्ने कारण र अवस्था दुवै थिएनन् । बिर्सिकाको कथा सुनिसकेपछि युवकका गहभरि आँसु भए । त्यो देखेर बिर्सिकाले सोधिन्, ‘आर्यवर ! मेरो कथा सुनेर हजुर किन रुनुभएको ? मैले त हजुरको चित्त दुख्ने गरी केही भनेको जस्तो लाग्दैन !’

युवकले भने, ‘तिमीले चित्त दुखायौ भनेर म रोएको होइन सुन्दरी, तर तिम्रो भविष्य देखेर आँसु थाम्न नसकेको हुँ ।’ यसो भन्दा युवकको स्वरमा षड्यन्त्र झल्किन्थ्यो । विडम्बना, बिर्सिका त्यो षड्यन्त्र बुझ्न असमर्थ थिइन् । 

‘किन र आर्यवर ? मेरो भविष्यमा त्यस्तो नराम्रो के हुनेवाला छ र ?’ बिर्सिकाले निराश हुँदै सोधिन् । 

‘साँच्चै जान्न मन छ भने मात्र भन्छु,’ युवकले आफ्नो जाल फिँजाउँदै भने । 

निर्दोष बिर्सिकाले भनिन्,  ‘साँच्चै जान्ने मन छ ।’ 

‘सुन्दरी,’ मस्किँदै युवकले भने, ‘म एक व्यापारी र नामी ज्योतिष पनि हुँ । तिमीले बोल्दै गर्दा मन्त्रको शक्तिले मैले तिम्रो भविष्यको जोखना हेरेको थिएँ । जोखनाले भनेअनुसार अबको तीन दिनभित्र दरबार नपुग्दै तिम्रा यी वृद्ध पतिको देहान्त हुनेछ र तिमी बाटोमै विधवा बन्नेछौ । त्यसपछि दरबार गए पनि तिमीलाई महारानीको रूपमा कसैले स्वीकार गर्ने छैनन्, कसैले पत्याउनेछैन । उल्टो महाराजलाई मारेको, बोक्सी बनेर खाएको जस्ता लाञ्छना लगाई तिम्रो घोर अपमान गर्नेछन्, तिमीलाई दिसापिसाब खुवाउनेछन् । मरणासन्न हुने गरी पिट्नेछन् । यति कोमल हृदय र यस्तो फूलजस्तो शरीरले त्यो पीडा कसरी खप्ला भन्ने लागेर मैले आँसु थाम्न नसकेको हुँ । कृपया यसलाई अन्यथा नलेऊ ।’

युवकको कुराले बिर्सिका हल न चल भइन् । त्यस्तो होला भन्ने उनले कल्पनै गरेकी थिइनन् । उनलाई असाध्यै नरमाइलो लाग्यो र रुन थालिन् । 

युवकले भने, ‘नरोऊ सुन्दरी । यसबाट बच्ने उपाय पनि छ, तर त्यसका लागि तिमी तयार हुनुपर्छ ।’

‘म तयार छु आर्यवर, उपाय मर्जी होस्,’ बिर्सिकाले भनिन् । 

‘हेर सुन्दरी, तिमी जवान छ्यौ । तिम्रो पूर्वजन्ममा के भएको थियो भन्ने कुरा कसलाई थाहा छ र ? यी वृद्धले भन्दैमा सत्य हुन्छ भन्ने कुरा त पक्कै होइन होला । फेरि सत्य नै हो रे लौ, तर यो जन्ममा सोही कुरामा अल्झेर बस्नैपर्छ भन्ने पनि छैन । त्यसैले मैले भनेको मान्छ्यौ भने तिमी यी वृद्धको चङ्गुलबाट आफूलाई मुक्त गर ।’

‘हजुरले भन्नुभएको कुरा ठिक हो तर तत्कालै बिच बाटोमा यिनलाई छाडेर म कोसँग कहाँ जाऊँ ? यो त अधर्म हुन्न र ?’

‘आफ्नो सुन्दर भविष्यको आधार तयार गर्ने हक सबैलाई हुन्छ सुन्दरी । त्यसका लागि स्वनिर्णय गर्दा केही अधर्म हुन्न । रह्यो कुरा, कहाँ जाने र कोसँग जाने । त्यसका लागि तिमी चिन्ता नगर । म पनि अविवाहित छु । हेर्दा राम्रै देखिन्छु । धन–सम्पत्ति कुनै राजा–महाराजाको भन्दा कम छैन । त्यसैले मैले भनेको मान्छ्यौ भने यी वृद्धलाई यहीँ छाडेर तिमी र म जाऊँ । यिनको रेखदेखका लागि कुकुर छँदै छ, उसैले बाटो देखाउँछ । यिनको भर परेर जीवन तहसनहस बनाउनुभन्दा उचित मौका आएको बखत सुरक्षित हुनु नै बेस । लौ भन, के छ विचार ?’

युवकको यो प्रस्तावले बिर्सिका वाल्ल परिन् । उसको कुरा ठिकैजस्तो लाग्यो । उनले निदाइरहेका दिव्यचन्द्रलाई हेरिन् । दिव्यचन्द्र तीन दिनपछि होइन, अहिले नै मर्लान् जस्ता देखिन्थे । त्यसो त दिव्यचन्द्रप्रति बिर्सिकालाई कुनै आशक्ति थिएन । पूर्वजन्ममा के भयो र के थियो, त्यो उनको सरोकारको विषय पनि रहेन । दिव्यचन्द्र भनिने ती तथाकथित वृद्ध पतिसँग थाहा नै नभएको राज्य चलाउन जाने भन्ने कुरा पनि उनलाई हास्यास्पद लागेर आयो । उनले युवकतिर हेरिन् । साँच्चै सुन्दर थियो, जोडी मिल्ने । उनले फेरि दिव्यचन्द्रतिर हेरिन् । उनको हृदयले ती वृद्धलाई कुनै हालतमा पनि आफ्नो पति भनेर स्विकार्न तयार भएन । 

अन्त्यमा उनी उक्त युवकसँग जान राजी भइन् । युवक पनि खुसी भए । कुकर र दिव्यचन्द्रलाई त्यहीँ छाडेर उनीहरू मन्द–मन्द मुस्कानका साथ आफ्नो बाटो लागे । 

त्यो एकान्त वनमा यी सबै घटनाक्रमको साक्षी त्यही कुकुर थियो । त्यो सामान्य कुकुर थिएन । ऊ मान्छेले जस्तो बोल्न जान्दैनथ्यो तर मान्छेको सबै कुरा बुझ्थ्यो । उसलाई भगवान् विष्णुले ‘दिव्यचन्द्रको रक्षा गर्नू’ भनी पठाएका थिए । उसलाई बिर्सिकाले दिव्यचन्द्रलाई छाडेर नयाँ युवकसँग गएको चित्त बुझेको थिएन । त्यसैले ऊ ‘यिनीहरू कहाँ जाँदा रहेछन्’ भनी नदेख्ने गरी पछि पछि लाग्यो । अलिक टाढा पुगेपछि केही छिटपुट घरहरू देखिए । ती घरहरूको बिचमा एक सुन्दर महल देखियो । बिर्सिका र उक्त युवक सोही महलभित्र छिरेको देखेर ‘यही नै यिनीहरूको गन्तव्य रहेछ’ भन्ठानी कुकुर फरक्क फर्कियो र छिटोछिटो राजा भएको ठाउँतिर दौडिन थाल्यो । 

यतिन्जेलमा राजा ब्युँझिसकेका थिए । उठेर हेर्दा उनले बिर्सिका र कुकुरलाई देखेनन् । उनी पर्खेर बसिरहे । केही समयपछि कुकुर हस्याङ्फस्याङ गर्दै दौडिँदै आयो र राजाको लुगाको फेर मुखले च्यापी आफू आएकै दिशातिर तान्न थाल्यो । राजाले अनुमान गरे, पक्कै पनि बिर्सिकामाथि केही आपत् आइलागेको छ । 

उनी कुकुरले देखाएको बाटोतिर हिँड्न थाले । केही समयपश्चात् दुवै प्राणी सोही महलमा पुगे, जहाँ बिर्सिका र उनको नयाँ लोग्ने छिरेका थिए । महलको पटाङ्गिनीमा खाट रहेछ । कुकुर उक्त खाटनजिकै पुच्छर हल्लाउँदै बस्यो । ‘बिर्सिका पक्कै पनि यहीँ हुनुपर्छ’ भन्ने ठानी राजा पनि खाटमा बसे ।

नयाँ घर, नयाँ जीवन र नयाँ अनुभवमा रमाइरहेकी बिर्सिकाले जब माथिल्लो तलाको झ्यालबाट बाहिर हेरिन्, तब झसङ्ग भइन् । पटाङ्गिनीको खाटमा दिव्यचन्द्र मस्त बसिरहेका थिए, नजिकै कुकुर थियो । यो पक्कै त्यही कुकुरको काम हुनुपर्छ भन्ने उनलाई लाग्यो । उनले तत्काल युवकलाई यसबारे बताइन् । युवक पनि अत्तालियो । दुवैजना के गर्ने, के नगर्ने असमञ्जसमा परे । 

यो सङ्कटबाट कसरी मुक्ति पाउने भनी दुवैले छलफल गरे । युवक त दिव्यचन्द्रसँग अन्जान बन्नुपर्ने बाध्यता रहेकाले सबै कामको जिम्मेवारी बिर्सिका स्वयंले लिइन् । उनी हतार–हतार सिङ्गारपटार गरेर तल झरिन् र मधुर मुस्कानका साथ दिव्यचन्द्र बसिरहेका ठाउँमा आई पाउ परिन् । 

दिव्यचन्द्रले ‘सौभाग्यवती भवः’ भन्दै उठाए र ‘मलाई खबर नगरी यहाँ किन आएको’ भनी प्रश्न गरे । जवाफमा बिर्सिकाले भनिन्, ‘महाराज ! हजुर आनन्दले सुतिरहेकाले उठाउनु उचित ठानिनँ । म त्यहाँ बस्दै गर्दा सानैमा मैले मीत लगाएकी साथी र उनका श्रीमान् सोही बाटो भएर आए । धेरै वर्षपछि भेट भएको र घर पनि नजिकै भएको हुनाले दुवै जनाले ‘जाऊँ कि जाऊँ’ भनी कर गरे । मैले नाइँ भन्नै सकिनँ । हजुरलाई छाडेर आउन मन त थिएन तर एकैछिनमा फर्किहाल्छु भनेर आएकी हुँ । फर्किनै लागेकी थिएँ, हजुर आफैँ आउनुभएछ । धेरै राम्रो भयो । अब एकछिन बसौँ । खानपिन गरौँ अनि फर्कौंला ।’

थाकेका दिव्यचन्द्रले अरु प्रश्न गरेनन् । उनले बिर्सिकाको भनाइलाई पूर्ण रूपमा विश्वास गरे र ‘तिम्रो जो इच्छा’ भने ।

‘म खानेकुरा तयार गर्न सघाउँछु’ भन्दै बिर्सिका फेरि माथि गइन् । तत्कालको सङ्कट टरेकाले लामो सास तानिन् । उनी र युवकबिच यसपछि के गर्ने भन्ने विषयमा फेरि सल्लाह भयो । सल्लाहमुताबिक दिव्यचन्द्रको हत्या गर्ने योजना बन्यो । यसको जिम्मेवारी युवकले लिए । बिर्सिकाले मितिनीको घर आएको भनेकाले तत्कालै एक दासीलाई युवकको नक्कली श्रीमती बनाइयो, ताकि दिव्यचन्द्रलाई कुनै शङ्का नहोस् । 

योजनालाई सफल पार्ने हेतु युवकले आफ्ना चार–पाँच जना सेवकलाई महलपछाडिको बगैँचामा गहिरो खाडल खन्ने आदेश दिए । त्यसपछि उनी दिव्यचन्द्र बसिरहेका ठाउँमा आएर आफ्नो परिचय दिए । दिव्यचन्द्र राजा भएको थाहा पाएजस्तो गरी उनले सोहीअनुसारको सम्मान प्रकट समेत गरेका थिए । 

भलाकुसारी गर्दै उनीहरुले विभिन्न मिष्ठान्न परिकार भोजन गरे । भोजनपछि युवकले महलको पछाडि रहेको बगैँचामा डुल्न जाने प्रस्ताव राखे । राजाले पनि सहर्ष स्वीकार गरे । युवकले राजालाई बगैँचामा डुलाउँदै डुलाउँदै सेवकहरूले तयार गरेका खाडल नजिक पुर्‍यायो र आफूसँगै डिलमा उभ्यायोे । अनि भन्यो, ‘महाराज ! बगैँचामा बोटबिरुवालाई पानी लगाउन सजिलो होस् भनेर एउटा इनार खन्न थालेको केही दिन भयो । झन्डै ३० हात गहिरो खनिसकियो, तर पानी रसाएन । के भएको होला ?’ 

राजाले खाडलतिर हेरे । त्यही मौकामा युवकले धक्का दिए । तत्कालै नजिकै बसिरहेका अन्य व्यक्तिले खाडल पुरे । ‘अब भने मुक्ति पाइयो’ भनेर खुसी हुँदै युवक महलतिर फर्किए । बिर्सिका पनि खुसी भइन् । दुवै आनन्द मानी रसरङ्मा लिप्त भए । 

युवक फर्किनु तर राजा नफर्किनुले कुकुरको मनमा चिसो पस्यो । ऊ हतार–हतार राजाको पैताला सुँघ्दै सुँघ्दै बगैँचातिर गयो । खाडलमा पुगेपछि उसले थाहा पाइहाल्यो— राजा त्यहीँ पुरिएका छन् । ऊ भएभरको शक्ति लगाएर चारओटै खुट्टाले ढुङ्गामाटो खोस्रिन थाल्यो । केही बेरपछि उसले राजाको दुवै हात भेट्टायो । अझै खोस्रिँदै फाल्दै गरेपछि राजाको अनुहार देखियो । धन्न उनी जीवित थिए । नाक खुला भएपछि उनी बिस्तारै सास फेर्न थाले । एवं रीतले अन्त्यमा कुकुर राजालाई सकुशल खाल्डोबाट बाहिर निकाल्न सफल भयो । 

आफूलाई जिउँदै खाल्डोमा हालेर मार्न खोजेको चाल पाएर राजालाई हुनसम्म रिस उठ्यो । शरीर कमजोर हुँदाहुँदै पनि उनी बदला लिने मनसायले चिच्याउँदै र युवकलाई नानाभाँती गाली गर्दै महलतिर लागे । महलको भित्तामा एउटा खड्ग झुन्डिएको रहेछ । उनी त्यही खड्ग हातमा लिएर मुर्मुरिँदै अघि बढे । कुरो बिग्रिने देखेर बिर्सिका हतार–हतार तल आइन् र दिव्यचन्द्रको पाउ पर्दै भनिन्, ‘माफ गरिबक्सियोस् महाराज ! एउटा दुर्घटना हुन पुगेछ । मितज्यू सँगै उभिन खोज्दा असन्तुलित हुन पुगेर हजुरलाई धक्का लागेको रहेछ । उहाँले मलाई सबै भन्नुभयो । सुनेपछि म मूच्र्छित भएँ रे । पानी छम्केर होसमा ल्याएको भन्दै थिए सबैजनाले । मीतज्यू पनि अघिसम्म ठुलो पश्चातापमा हुनुहुन्थ्यो, अहिले हजुरलाई देखेर सम्हालिनुभएको छ । यहाँ हामी सबै रुवाबासी गरेर बसेका थियौँ । धन्न भगवान्को कृपा, हजुरलाई केही भएको रहेनछ ।’ यति भनेर उनी दिव्यचन्द्रलाई आलिङ्गन गर्दै डाँको छाडेर रुन थालिन् । 

बिर्सिकाको आलिङ्गनले दिव्यचन्द्रको मन पग्लियो । उनले अघिका सारा कुरा बिर्सिए । बोकिरहेको खड्ग हुत्याइदिए । ‘नरोऊ प्रिय, हेर त म फर्केर आएको छु’ भन्दै बिर्सिकाको आँसु पुछिदिए । एउटा सम्भावित दुर्घटना टर्‍यो । 

बिर्सिका ‘लौ त महाराज अब जानुपर्छ, म सबैसँग बिदावारी भएर आउँछु’ भन्दै माथि गइन् । युवक उनकै पर्खाइमा थियो । दुवैबिच अबको कदमबारे सल्लाह भयो । अब त बिर्सिकालाई राजासँग जानैपर्ने बाध्यता आइलागेको थियो । उनले दिव्यचन्द्रलाई जसरी पनि झुक्याएर फर्किने वाचा गरिन् । युवक पनि राजी भयो । 

सल्लाहमुताबिक युवक, युवककी नक्कली पत्नी र बिर्सिका तीनैजना तल आए र राजारानीलाई बिदाइ गरे । युवकले ‘वनको बाटो हो, जेसुकै हुन सक्छ, हतियार बोकिबक्सियोस्’ भनेर राजालाई त्यही अघिको खड्ग टक्र्यायो । राजाले पनि स्वीकार गरे र बिदा मागे । त्यसबखत बिर्सिका र युवक दुवैले कसैले नदेख्ने गरी आँसु झारे । 

तीन प्राणी अब फेरि वनको बाटो हुँदै राजधानीतिर रवाना भए । बिर्सिकाले वनमा राजालाई छाडेदेखिका सबै घटनाक्रम आफ्नै तरिकाले मिलाइमिलाइ वर्णन गरिन् । यता दिव्यचन्द्रले पनि सोही अवधिको वृत्तान्त सुनाए । यसरी बाटो काट्दै गर्दा समयले पनि नेटो काट्दै थियो । 

बिर्सिका भित्रभित्रै पिरोलिएकी थिइन् । उनलाई जसरी पनि महल फर्किनु थियो । एकान्त वन र घर्किंदै गएको समय देखेर ‘अब ढिलो गर्नुहुन्न’ भन्ने उनलाई लाग्यो । उनले अचानक मुटुमा सोला हानेको अभिनय गरिन् र थचक्क बसिन् । दिव्यचन्द्र अत्तालिँदै बिर्सिकालाई सुमसुम्याउन थाले ।

बिर्सिका देब्रे छाती थिच्दै लगातार ‘ऐया ऐया’ गर्न थालिन् । ‘म अब मर्छु जस्तो छ महाराज, हजुर चिन्ता नलिइबक्सियोस् । राजधानी पुगेर खुसीसाथ राजकाज चलाइबक्सियोस् । मन लागे अर्को विवाह गरिबक्सियोस्’ भन्दै रुन थालिन् । यो सुनेर दिव्यचन्द्र पनि रुन थाले । ‘त्यसो नभन प्रिय, तिमीलाई केही हुँदैन’ भन्दै सान्त्वना दिन थाले । बिर्सिकाले मुटु झन् बढी दुखेको अभिनय गरिन् । दिव्यचन्द्र असमञ्जसमा परे । के गर्ने, के नगर्ने केही मेसो पाउन सकेनन् । बिर्सिकालाई मुटु दुख्ने समस्या छ भनेर उनलाई अहिलेसम्म थाहा थिएन । उनले सोधे, ‘प्रिय ! के तिमीलाई मसँग विवाह हुनुअघि पनि यस्तो हुने गथ्र्यो ?’

‘दुई–तीनपटक भएको थियो,’ बिर्सिकाले जवाफ दिइन् । 

‘अनि त्यतिबेला कसरी ठिक भयो त ?’

बिर्सिका यही प्रश्नको खोजीमा थिइन् । मनमनै खुसी हुँदै उनले भनिन्, ‘महाराज ! जब–जब मलाई मुटु दुख्न थाल्थ्यो, त्यतिबेला मेरो पिताजीले कुनै जनावरको मुटु निकालेर छातीमाथि राखिदिनुहुन्थ्यो । अनि मलाई निको हुन्थ्यो । अब हजुरले पनि त्यसै गरिबक्सियो भने सायद म ठिक हुन्छु होला, नत्र मर्छु,’ यति भनेर उनी फेरि ‘ऐया ऐया’ गर्दै रुन थालिन् । 

‘तिमीले भनेको ठिकै होला प्रिय,’ राजाले भने, ‘यहाँ कुनै जनावर छैन । खोजी गर्दा पनि भन्नासाथ नभेटिएला । त्यसैले अलि पर जसोतसो जाऔँ । नजिकै पक्कै गाउँ हुनुपर्छ । त्यहाँ एउटा घरपालुवा जनावर खोजेर तिमीले भनेजस्तै गरौँला ।’

बिर्सिका यस्तो कुरा सुन्न र मान्न तयार थिइनन् । उनलाई राजाको साथमा रहेको कुकुर जसरी पनि हटाउनु थियो । त्यही कुकुरले नै दिव्यचन्द्रलाई महलसम्म पुर्‍याएको थियो र हत्याको योजना पनि विफल पारिदिएको थियो । कुकुर रहुन्जेल दिव्यचन्द्रले पीछा नछाड्ने स्पष्ट भइसकेको थियो । त्यसैले उनले घुक्र्याउँदै अश्रुमिश्रित स्वरमा भनिन्, ‘के मर्जी भएको महाराज ? यहाँ हजुरकी अर्धाङ्गिनी प्राणको भिख माग्दै छे । आफू कसरी जीवित रहन सक्छु भनेर पनि बताइसकेकी छे । हजुरचाहिँ कतै गाउँमा गएर उपचार गरौँला भन्नुहुन्छ । त्यतिन्जेलसम्म म बाँचुला र महाराज ? हजुरको अगाडि कुकुर छ त । यो जनावर होइन र ? त्यसकै मुटु निकालेर मेरो छातीमाथि राख्नुहोस् । अब हजुरलाई मभन्दा कुकुर प्यारो हो भने मलाई यत्तिकै मर्न छाडिदिनुस् ।’

बिर्सिकाको तिखा वचनले दिव्यचन्द्रको हृदय छियाछिया भयो । उनी केही बोल्नै सकेनन् । कुरा त ठिकै थियो । तर आफूलाई त्यत्रो सङ्कट पर्दा दिलोज्यानले सहयोग गर्ने कुकुर कसरी मार्ने ? त्यसो गर्दा त कृतघ्नताको पराकाष्ठा हुने भयो । यद्यपि राजालाई धेरैबेर अनिर्णयको बन्दी बनेर बसिरहने समय थिएन । उनको सोझो अवलोकनमा बिर्सिकाको हालत निकै खराब भइसकेको थियो । तसर्थ उनी हातमा खड्ग लिएर कुकुरलाई काट्न तयार भए । राजा र कुकुरबिच केहीबेर हेराहेर भयो । कुकुरलाई हेर्दै गर्दा राजा मनमनै ‘क्षमा गरी दे, मेरा लागि अरु केही उपाय रहेन’ भन्दै थिए । उता कुकुर बलिन्द्रधारा आँसु झार्दै ‘यस स्त्रीले तिमीलाई फेरि धोका दिँदै छे महाराज, यसको कुरा नपत्याऊ’ भन्न खोज्दै थियो । 

राजासँग त्यो अबोध सन्देश बुझ्न सक्ने क्षमता थिएन । हेराहेरकै अवस्थामा अचानक खड्ग कुकुरको घाँटीमा बज्रियो र कुकुर दुई टुक्रा भयो । त्यसपछि राजाले उसको छाती चिरे र रक्ताम्मे मुटु निकालेर बिर्सिकाको छातीमा राखिदिए । बिर्सिकाले ‘आऽऽ’ गर्दै लामो सास फेरिन् र ‘अलि हल्का महसुस भयो महाराज’ भनिन् । महाराज नाजवाफ थिए । कुकुरको हत्या गरेकामा उनलाई जीवनमा दोस्रोपटक पश्चाताप भयो, तर यो पश्चातापको कुनै अर्थ थिएन । 

बिर्सिकाले बिस्तारै ठिक हुँदै आएको अभिनय गरिन् । उनको चित्कार क्रमशः कम हुँदै गयो । केही समयपश्चात् उनी पूर्ण रूपमा ठिक भइन् । कुकुर मरिसकेको थियो र उनको उद्देश्य पनि पूरा भइसकेको थियो । उनी पहिलेजस्तै प्रशन्न देखिइन् । 

दुवै वनको बाटो अघि बढे । अलिक पर पुगेपछि बिर्सिकाले दिसा लागेको बहाना गरिन् । राजालाई आफूले ओढिरहेको पछ्यौरा दिँदै उनले भनिन्, ‘महाराज ! मलाई पेट काटेजस्तो भयो । म क्षणभरमै मलमूत्र विसर्जन गरेर आउँछु, हजुर यहीँ बस्नुहोला ।’ यति भनेर उनी नजिकैको झाडीभित्र छिरिन् । राजाले नदेख्ने गरी झाडी भित्रभित्रै उनी निकै पर पुगेर मूलबाटो निस्किइन् र महलतिर वेगले दौडिन थालिन् । 

यता राजाले बिर्सिकालाई कुरिरहेका थिए । धेरैबेरसम्म अत्तोपत्तो नभएपछि उनलाई पहिलोपटक बिर्सिकाले धोका दिएको महसुस भयो । उनले वनमा आफूलाई छाडेर गएदेखिका घटनाक्रम एक–एक गरी सम्झिए । जति सम्झिँदै गयो, त्यति नै बिर्सिकाको खेल मन–मस्तिष्कमा स्पष्ट, झन् स्पष्ट हुँदै आयो । कुकुर किन मारिएको थियो भनेर पनि उनलाई बल्ल ज्ञात भयो । अचानक उनको घाँटी अवरुद्ध भयो । मन अमिलो र छाती भक्कानो परेर आयो । उनी धेरै बेरसम्म रोइरहे । सायद यो सबै विधाताको खेल थियो । उनी र बिर्सिका त निमित्त मात्र थिए । यही सम्झेर उनले आँसु पुछे, मन दृढ बनाए । उनलाई फेरि पनि बिर्सिकाको पछि लाग्नु व्यर्थ लाग्यो । अब म बिर्सिकाबिना बाँच्ने कोसिस गर्छु भन्ने सङ्कल्प गरी उनी एक अञ्जान गन्तव्यतिर लागे । 

झमक्क साँझ परेपछि उनी एउटा गाउँमा पुगे । गाउँको एक झुपडीमा पुगेर उनले त्यो रातका लागि बास मागे तर आफ्नो वास्तविक परिचय भने खुलाएनन् । सो झुपडीमा एक जोडी वृद्धवृद्धा मात्र रहेछन् । उनीहरूले साँझको पाहुनालाई सहर्ष स्वीकार गरे । 

त्यस घरकी वृद्धा भोजनको तयारीमा लागिन् भने वृद्ध राजासँगको कुराकानीमा व्यस्त रहे । कुराकानीका क्रममा ती वृद्धले भने, ‘सन्तानको रूपमा एक्ली छोरी छन् । उनलाई पुरुषहरूमाथि विश्वास छैन । त्यसैले आजन्म विवाह नगर्ने जिद्दी गरेर बसेकी छन् । घरबाट बाहिरै निस्केकी छैनन् । विवाहको उमेर पनि ढल्किइसकेको छ । हाम्रो शेषपछि उसको रेखदेख कसले गरिदेला भन्ने चिन्ता छ ।’ राजाले ‘धैर्य गर्नुहोस्, म सम्झाउने कोसिस गर्छु’ भनेर ढाढस दिए ।

यत्तिकैमा भोजन तयार भयो । भोजनपछि वृद्ध व्यक्तिले राजालाई आफ्नी छोरी बसिरहेको खोपी अगाडि लगी छोडिदिए । त्यसपछि राजाले खोपीको ढोकामा गई ठुलो स्वरमा भने, ‘हे सुन्दरी ! तिम्रो बारेमा मलाई तिम्रा मातापिताले सबै कुरा भने । दुवै जना तिमीलाई कसैको हातमा सुम्पिदिन पाए सन्तोषले प्राण जाने कुरा गर्दै थिए । मातापिताको इच्छालाई तिमीले पनि सम्मान गर्नुपर्छ । आफ्नो निर्णय बदल र सांसारिक जीवनको सुरुवात गर ।’

जवाफमा ती युवतीले लोग्नेमान्छेले स्वास्नीमान्छेमाथि गरेका अन्याय, अत्याचार र धोखाधडीका विभिन्न किस्सा सुनाइन् र अन्त्यमा भनिन्, ‘आर्यवर ! मैले पुरुषप्रतिको विश्वास करिब–करिब गुमाइसकेकी छु । मलाई लाग्छ, मैले चाहेको जस्तो पुरुष यो धर्तीमा छैन । त्यसकारण म आजन्म अविवाहित बस्छु । भविष्यका बारेमा म चिन्तित छैन ।’

‘हे सुन्दरी,’ राजाले भने, ‘तिमीले चाहेको पुरुष कस्तो हो, के म जान्न सक्छु ? सायद म केही मद्दत गर्न सक्छु कि ! स्पष्ट भन ।’

‘आर्यवर ! मैले चाहेको पुरुष दिव्यचन्द्रजस्तो हुनुपर्छ । उनी यसै देशका राजा थिए । आफूमाथि भवितव्य आइलागेको हुनाले केही समय अगाडि उनी वनभित्रै हराए । उनको प्रेम–कहानी दुनियाँको लागि प्रेरणादायी र मर्मस्पर्शी छ । त्यत्तिकै चोखो र निःस्वार्थ प्रेम गर्ने कोही पुरुष यो संसारमा रहेछ र उसले मलाई योग्य ठान्यो भने म अवश्य पनि ऊसँग विवाह गर्न राजी छु ।’

आफ्नै अगाडि आफैँलाई निःस्वार्थ प्रेमीको उपमा दिएको सुनेर दिव्यचन्द्र आश्चर्यचकित बने । मनमनै हाँसे पनि । उत्सुकतावश उनले ‘दिव्यचन्द्रका बारेमा तिमीलाई के थाहा छ ?’ भनेर सोधे । ती युवतीले बिर्सिकाको मृत शरीर बोकेर राजा वन छिरेको र त्यसपछि के भयो भन्ने कुरा आफूलाई थाहा नभएको बताइन् । त्यो सुनेर राजाले भने, ‘हे सुन्दरी ! तिमीले दिव्यचन्द्रजस्तो कुनै व्यक्ति पाए विवाह गर्छु भन्यौ । उनी स्वयं अगाडि आएर तिम्रो हात मागे भने के गछ्र्यौ ?’

‘ओहो !’ युवतीको स्वरमा स्पष्ट खुसी झल्कियो, ‘त्यसो भयो भने त म संसारमा आफूलाई सबैभन्दा भाग्यमानी नारी सम्झिनेछु । यद्यपि यो कुरा असम्भव छ ।’

‘सम्भव हुन सक्छ सुन्दरी,’ दिव्यचन्द्रले भने, ‘त्यसका लागि तिमीले दिव्यचन्द्रको बाँकी कथा सुन्नुपर्छ । सुन्छ्यौ ?’

‘अवश्य आर्यवर ! सुनाउनुहोस् ।’

त्यसपछि उनले आफ्नै कथा सुनाउन थालिन् । आज्ञाकारी कुकुर मार्नुपरेको घटनासम्म आइपुग्दा  युवती अचानक डाँको छाडेर रुन थालिन् । राजाले ‘धैर्य गर सुन्दरी, दिव्यचन्द्रलाई केही भएको छैन’ भनेपछि उनी फेरि कथा सुन्न तयार भइन् । 

दिव्यचन्द्रले कथा अघि बढाउँदै कसरी उनी एक झुपडीमा बास माग्न आइपुगे, कसरी स्वयम्लाई कैदमा राखेकी एक युवतीका बारेमा थाहा पाए र कसरी अहिले तिनै युवतीलाई आफ्नै कथा सुनाउँदैछन् भन्नेसम्मको वृत्तान्त सुनाउँदै गर्दा अचानक खोपीको ढोका खुल्यो । आश्चर्यचकित अनुहार लिएर ती युवती दिव्यचन्द्रको अगाडि उभिइन् र सोधिन्, ‘हजुर स्वयं दिव्यचन्द्र राजा होइबक्सिन्छ ?’

‘हो सुन्दरी, म त्यही अभागी व्यक्ति हुँ,’ दिव्यचन्द्रले गम्भीर भएर उत्तर दिए । 

‘चिन्ता नगरिबक्सियोस् महाराज,’ युवतीले भनिन्, ‘हजुरको आज्ञा पाए अब यो दासीले हजुरको हरेक मनोरथ पूरा गर्छे । म आफूलाई सम्पूर्ण रूपमा हजुरमा अर्पण गर्छु ।’

राजाले ‘नाइँ’ भन्नुपर्ने परिस्थिति थिएन, न त कारण नै । उनले युवतीको प्रस्तावलाई स्वीकार गरे । छिटै विवाह गर्ने वचनबद्धताका साथ दुवैजना तल झरे र मातापितालाई सोही राय व्यक्त गरे । राजा हेर्दा वृद्ध देखिन्थे, तर छोरीको उमेर ढल्किँदै गएको, जे–जस्तो भए पनि छोरीको भविष्य सुरक्षित रहने र देशकी महारानी समेत बन्न पाउने सौभाग्य प्राप्त गर्न लागेकी आदि कारणले मातापिताले पनि अस्वीकार गरेनन् । भोलिपल्टै पण्डित बोलाएर दिव्यचन्द्र र युवतीबिच विवाह सम्पन्न भयोे । 

विवाहपछि केही दिन राजा त्यतै बसे । एक दिन शुभसाइत हेरेर वृद्ध दम्पतीले छोरीज्वाइँलाई बिदा गरे । राजा दिव्यचन्द्र नयाँ रानी र सरसामान बोकेका केही सेवक तथा जन्तीका साथ राजधानीतिर रवाना भए ।

बर्खायामको समय थियो । वनको बाटो, टन्टलापुर घाम । सबै असिनपसिन भएका थिए । जन्तीमध्ये कसैले एकछिन शीतल छहारीमा आराम गर्ने प्रस्ताव राख्यो । राजाले पनि उचितै ठाने । अलि खुला ठाउँमा सबै आराम गर्न भनेर बसे । राजारानी पनि एउटा ठुलो रुखको छहारीमा बसे । एकापसमा कुरा गर्दै गर्दा अनायासै रानीले अलि पर लटरम्म आँप पाकेको देखिन् । उनलाई खान मन लाग्यो र राजालाई आँप टिपेर ल्याइदिन आग्रह गरिन् । नयाँ प्रियतमाको इच्छा पूरा गर्ने हेतु राजा आँपको रुखमुनि पुगे । रुख सुरिलो र अग्लो थियो । राजा ‘कसरी चढ्ने होला’ भनेर सोच्दै थिए, यत्तिकैमा उनको आँखा एउटा मृत बाँदरमा पुग्यो । सहसा उनलाई सिद्धपुरुषले दिएको वरदानको सम्झना भयो । वरदान दिने बेलामा ती सिद्धपुरुषले ‘यसको उद्देश्य पछि ज्ञात हुनेछ’ भनेका थिए, के त्यो उद्देश्य यति सामान्य होला र ? राजा सोचमग्न भए । जेहोस्, उनले आफूसँग भएको शक्तिलाई यसपटक प्रयोग गर्ने विचार गरे । 

आफ्नो आत्मालाई बाँदरको शरीरमा प्रवेश गराए, आफ्नो शरीर त्यहीँ लडिरहन दिए र रुखमा चढी आँप टिप्दै रानी र बाँकी जन्तीतर्फ फ्याँक्न थाले । यो देखेर जन्तीमध्येको एकजनालाई अचम्म लाग्यो । अघि त राजा गएका थिए, अहिले बाँदरले आँप टिपेर फाल्दै थियो । कुरो के रहेछ बुझ्न भनी ऊ आँपको रूखनेर गयो । त्यहाँ पुग्नासाथ उसलाई रहस्य ज्ञात भइहाल्यो । राजाको दुर्भाग्य, उक्त व्यक्तिसँग पनि सोही शक्ति मौजुद थियो, जुन प्रयोग गरी राजा बाँदर बनेका थिए । उसले हत्तपत्त आफ्नो आत्मा राजाको शरीरमा प्रवेश गरायो र आफ्नो शरीरलाई त्यहीँ छाडेर राजाको भेषमा फर्कियो । 

बाँदर बनेर आँप टिप्न व्यस्त वास्तविक राजाले यस कुराको ख्यालै गरेनन् । नयाँ राजा सरासर रानी भए ठाउँमा पुगे र ‘अब जाऊँ प्रिय’ भने । उनी आज्ञाकारी बनेर अघि लागिन् । लावालस्करसहित नयाँ दिव्यचन्द्र पछि पछि हिँड्न थाले । आफ्नै आँखाअगाडि आफ्नै श्रीमती आफ्नै सेवकले धोकामा पारेर लगेको राजा टुलुटुलु हेर्न बाध्य भए । प्रारब्धले उनीसँग दोस्रोपटक लुकामारी खेलेको थियो । यसलाई पनि राजाले स्वीकार गरे । 

बाँदर बनेका राजा श्रीमती र बाँकी जन्ती आँखाबाट ओझेल भइसकेपछि पनि एकछिन रुखमै बसिरहे । मानिसको रूपमा उनले सुखदुःख सबै भोगेका थिए, अब भने जिन्दगीलाई बाँदरका रूपमा भोग्ने विचार गरे । बाँदर बनेर एक रुखबाट अर्को रुख, एक वनबाट अर्को वन चहार्दै रहे । यसरी चहार्दा उनलाई भोजनको समस्या पर्न थाल्यो । मानिसहरूको खेतबारीमा पसेर अन्न, फलफूल, तरकारी आदि चोर्न नपाउँदा भोकै रहनुपर्ने स्थिति आउन थाल्यो । वनका फलफूल र कन्दमूल पनि भनेजति नपाइने भयो । बाँदररूपी राजा ‘के गर्ने होला’ भनेर सोच्दै थिए । यस्तैमा उनले एक दिन एउटा रुखको हाँगामा मरेको सुगा देखे । त्यो देखेर उनलाई सुगा बन्ने विचार आयो । उड्न पाइने, जताततै तुरुन्तै पुग्न सकिने, थोरै खाए पनि पुग्नेजस्ता फाइदा देखेर उनी सुगा बने; बाँदरको शरीर त्यागिदिए । 

सुगाको रूपमा उनी स्वच्छन्द आकाशमा उड्न थाले । उनलाई रमाइलो लाग्यो । उनी अन्य सुगाहरूको नाइके बने । मानिसहरूको खेतबारीमा गएर पाक्न लागेका बालीनाली चिथोर्नु, कोपर्नु र खानु उनीहरूको दिनचर्या थियो । यसो गर्दा सुगाको बथानलाई रमाइलो लाग्थ्यो तर किसानहरू भने क्रुद्ध बन्थे । 

एक दिनको कुरा हो, एउटा किसानले बारीभरि पहेँलै भएर पाकेका मकैका सबै घोँगा वरिपरि लिसो लगाइदियो । यो कुरामा अनभिज्ञ सुगाहरू हुर्र आए, घोँगा चिथोरे र गलगाँड भरिएपछि उड्न खोजे । विडम्बना, लिसोले गर्दा उनीहरूको खुट्टा बोटमै टाँसिए । जति भ्याटभ्याट गरे पनि उड्न सकेनन् । त्यही मौका छोपेर किसान बारीभित्र छिर्‍यो र छटपटाइरहेका सुगालाई एक–एक गरी समात्दै भुइँमा पछार्दै गर्न थाल्यो । जोडले बजारिएका सुगाहरू भटाभट मर्न थाले । यो देखेर सुगाहरूको नाइके दिव्यचन्द्रलाई साह्रै दुःख लाग्यो । उनले मानिसकै लवजमा किसानलाई भने, ‘किसान दाजु ! कृपया मेरा साथीहरूलाई छाडिदेऊ । यसरी निर्दयी नबनिदेऊ । बरु मलाई समातेर लैजाऊ र बजारमा लगेर बेच । तिमीलाई प्रशस्त आम्दानी हुनेछ । यी अबोध प्राणीलाई मारेर त पाप मात्र लाग्छ । मैले भनेको मान ।’

किसानले झन् रिसाउँदै भने, ‘नापिस् बजिया ! तँ एउटा वनचरीलाई बेचेर कति कमाउँछु मैले ? बरु सबैलाई मारेर भुटुवा बनाएँ भने टन्न हुन्छ । घरका सबै खुसी हुन्छन् । त्यसैले तँ चुप लाग्, तेरो पनि पालो आउँछ ।’

‘त्यसो नभन किसान दाजु,’ सुगाको नाइकेले भने, ‘मेरो कुरामा विश्वास गर । म चानचुने सुगा होइन । मलाई बेच्दा तिमीलाई मनग्गे आम्दानी भएन भने त्यतिबेला जस्तो सजाय दिए पनि हुन्छ । अहिलेलाई मेरा बाँकी साथीहरूलाई छाडिदेऊ । बिन्ती छ ।’

किसानहरू स्वभावैले कोमल हृदयका हुन्छन् । सुगालाई टिप्दै पछार्दै गर्नु त एक आवेग मात्र थियो । उसले नाइके सुगाको कुरा मान्यो र बाँकी रहेका सबै सुगालाई लिसोबाट मुक्त गरी उडाइदिए । नाइके बनेका दिव्यचन्द्र भने मुक्त हुँदा पनि उडेर गएनन् । उनी चुपचाप किसानको काँधमा बसेर किसानको घरतिर लागे । 

भोलिपल्ट आफूलाई बजारमा लानका लागि आग्रह गरे, तर कुनै व्यक्तिले मूल्य सोधेमा ‘यो सुगा आफ्नो मूल्य आफैँ तोक्छ भन्ने जवाफ दिनू’ भनेर सिकाए । किसान सुगालाई काँधमा राखी बजारतिर लागे । आशा गरेअनुरूप बजारका व्यापारीले सुगाको मूल्य सोधे । किसानले पनि दिव्यचन्द्रले सिकाएजस्तै गरी जवाफ दिए । जब व्यापारीहरू दिव्यचन्द्रलाई उनको मूल्य सोध्थे, दिव्यचन्द्र ‘मेरो मूल्य एक लाख रुपैयाँ हो, सक्छौ भने तिर’ भन्थे । त्यो सुनेर सबै व्यापारी तर्सिन्थे । एउटा जाबो सुगालाई एक लाख रुपैयाँ कसले तिथ्र्यो र ?

बजारभरि डुल्दा पनि सुगा बिक्री हुने छाँटकाँट देखिएन । किसान हैरान भइसकेका थिए । झोक्किँदै उनले सुगालाई भने, ‘ओए वनचरी, तँलाई एक लाख रुपैयाँ तिर्ने कुन मुर्ख छ हँ संसारमा ? यस्तो नचाहिने कुरा नगर् । आफ्नो मूल्य एकदम कम राख्, अनि मात्र बिक्छस् । यसरी नै काँधमा बोकेर फेरि घरै फर्किनुपर्‍यो भने म तँलाई यहीँ पछार्छु ।’ 

‘धैर्य गर न किसान दाजु,’ दिव्यचन्द्रले नम्र भएर भने, ‘कोही न कोही त अवश्य निस्किन्छ, हेर्दै जाऊ ।’

किसानको रिस अझै मरेको थिएन । तथापि उसमा केही आशा भने जीवितै थियो । ‘सुगा हेर्दा बाठैजस्तो लाग्छ, कसैले किनी पो हाल्छ कि ?’ किसानले यस्तै सोचे । 

अलि पर पुगेपछि एउटा ठुलो पसल देखियो । त्यो पसल हेर्दा झकिझकाउ देखिन्थ्यो, निकै ठुलो लगानीले खोलेजस्तो । त्यहाँ ग्राहकलाई आवश्यक पर्ने प्रायः सबै सामान राखिएको थियो । नजिकै पुगेपछि पसलको महाजनले किसानलाई सोधे, ‘ए भाइ, तपाइँले यो सुगा बेच्न ल्याउनुभएको हो ?’

‘हो हजुर ।’ किसानले जवाफ दिए । 

‘अनि कतिमा बेच्ने विचार छ त ?’

‘त्यो त सुगा आफैँ भन्छ, उसैलाई सोध्नुहोस् ।’

‘ए, यो सुगा बोल्छ पनि ? राम्रो । ल भन् त वनचरो, तेरो मूल्य कति हो ?’ महाजनले सुगातिर हेर्दै सोधे । 

सुगा बनेका दिव्यचन्द्रले जवाफ फर्काए, ‘मेरो मूल्य त एक लाख रुपैयाँ हो, किन्ने ?’

महाजनले अट्टहास गर्दै सोधे, ‘एउटा सुगालाई एक लाख रुपैयाँ कसले तिर्छ ओए वनचरो ? कस्तो नचाहिने कुरा गरेको ? मानिलिऊँ मैले तिरेँ रे लौ, फाइदा के हुन्छ ? तँभित्र के गुण छ जसको कारणले म तँलाई एक लाख रुपैयाँ तिरौँ !’ 

सुगारूपी दिव्यचन्द्रले भने, ‘मभित्र के के गुण छन् भन्ने कुरा त तिमीले मलाई किनेपछि मात्र थाहा हुन्छ दाजु । तिमी मलाई किन र पसलमा राख । सबै सरसामानको भाउ बताइदेऊ । म पसल मजाले चलाउँछु, तिमी नबसे पनि हुन्छ । केही दिनमा तिमीलाई फाइदा भएन भने मलाई मारिदेऊ । यति भन्दा त पत्याउँछौ होला नि ?’ 

महाजन सोचमग्न भए । सुगाको निर्भीकता देखेर उनी लोभिए । त्यसो त उनी करोडौँका मालिक थिए । एक लाख रुपैयाँ घाटामा गए वा हराए पनि उनलाई खासै फरक पर्दैनथ्यो । 

एकपटक सुगाको भनाइ मानेर जुवा खेली हेरौँ भन्ने विचार गरी उनले एक लाख रुपैयाँ निकालेर किसानलाई दिए । किसानको खुसीको सीमा रहेन । दिव्यचन्द्र पनि खुसी भए । उनले किसानलाई भने, ‘दाजु ! तिमीले म र मेरा साथीहरू सबैलाई मारेर पकाएर खाएको भए त्यो एक दिनको स्वाद मात्र हुन्थ्यो, बाँकी दिन सबै उस्तै रहन्थे । त्यसो नगरी तिमीले मेरो भनाइ मानेको हुनाले अहिले यतिका धनराशि प्राप्त गरेका छौ । अब घर जाऊ, छोराछोरीको शिक्षादीक्षामा खर्च गर, घरजग्गा जोड, आफ्नो र सन्तानको भविष्य उज्ज्वल बनाऊ ।’ 

सुगाप्रति धन्य बनेर किसान आफ्नो बाटो लागे । 

सुगा बनेका दिव्यचन्द्र अब साहुजी बने । उनले माग गरेअनुसार महाजनले सबै सामानको खरिद र बिक्री मूल्य बताइदिए । तीक्ष्ण स्मरणशक्ति भएका दिव्यचन्द्रलाई सम्झिन गाह्रो भएन । त्यसै दिनदेखि उनले आफ्नो काम सुरु गरे । उनको काम गर्ने तरिका अनौठो थियो । उनी बाटोमा हिँडिरहेका ग्राहक तथा बटुवाहरूलाई अनेक थोक भनेर जिस्क्याउँथे र मरीमरी हँसाउँथे । अनि पसलमा बोलाएर केही न केही किनाएर पठाउँथे । कोही मान्छे परै रहेछ भने पनि भुर्र उडेर गई त्यसलाई जिस्क्याइ–जिस्क्याइ आफ्नो पसलमा बोलाउँथे । सिधै पसलमा आएकालाई अनेक तरिकाले मनोरञ्जन दिन्थे र सामान किनौँ–किनौँ लाग्ने बनाउँथे । 

सुगाको नाचगान हेर्न पाइने, गीत सुन्न पाइने, ठट्टा र रमाइलो गर्न पाइने, साथसाथै चाहेको सामान उचित मूल्यमा पाइने हुनाले पसलमा ग्राहकहरूको भीड बढ्दै गयो । व्यापार दिन दुगुना रात चौगुना भने जस्तो हुन थाल्यो । महाजनले सुगा किन्न खर्च गरेको एक लाख रुपैयाँ पन्ध्र दिनमै असुलउपर भयो । महाजन निकै खुसी थिए । यता दिव्यचन्द्र पनि जीवनको नयाँ भूमिकामा रमाइरहेका थिए । 

बिस्तारै सुगाको रूपमा रहेका दिव्यचन्द्रको ख्याति बढ्दै गयो । उनको गीत–सङ्गीत तथा नृत्यको कला, व्यापार गर्ने तौरतरिका, मान्छेसँग गर्ने अन्तक्र्रियाको शैली आदि मानिसका लागि चर्चाको विषय बने । 

सुगाको बारेमा हल्ला फैलिँदै फैलिँदै उक्त देशकी महारानीको कानसम्म पुग्यो । कुन अदृश्य शक्तिले काम गर्‍यो कुन्नि, महारानीलाई अचानक उक्त सुगाको नाचगान हेर्न मन लाग्यो । यस विषयमा उनले महाराजसँग कुरा राखिन् । वर्तमान महाराज त्यही थियो जसले वनमा दिव्यचन्द्रको मृत शरीरमा आफ्नो आत्मा प्रवेश गराई आफू राजा बनेका थिए । 

बडो बेचैनीका साथ सुगाको नाचगान हेर्न लालायित भएकी महारानीलाई देखेर उनी अचम्भित भए । ‘त्यो कस्तो सुगा रहेछ जसको बारेमा यति धेरै प्रशंसा भइरहेको छ’ भनी ध्यानदृष्टिले हेर्दा उनलाई सुगाको रहस्य तत्काल थाहा भइहाल्यो । एक दैवी शक्तिले महारानीलाई सुगातर्फ तानिरहेको कुरा बुझ्न उनलाई गाह्रो भएन । त्यसैले उनले कुनै हालतमा पनि महारानीलाई सुगाको नाचगान हेर्न जानका लागि अनुमति दिएनन् । महारानी पनि कम जिद्दी स्वभावकी थिइनन् । रोइ, कराइ र घुर्कीले नभएपछि उनी भोकै बस्न थालिन् । सुगाको नाचगान हेर्न नपाउने भए भोकै मर्ने भनेपछि महाराज गल्न बाध्य हुनुपर्‍यो । ‘आखिर त्यो एउटा सुगा न हो, के नै पो गरिहाल्ला र ?’ भन्ने ठानेर उनले महारानीलाई जानका लागि स्वीकृति दिए ।

महारानीले ती महाजनसम्म खबर पुर्‍याइन् । सुगाको कारण आफूकहाँ देशकी महारानीको सवारी हुने भन्ने थाहा पाएर महाजन अत्यन्तै हर्षित भए । उसले सुगालाई यो खुसीको खबर सुनाए । दिव्यचन्द्रले यसमा ‘ए’ मात्र भने, अन्य प्रतिक्रिया जनाएनन् । महाजनले दिव्यचन्द्रको यस्तो प्रतिक्रियामा खासै ध्यान पनि दिएनन् । उनले तत्काल सार्वजनिक समारोहका लागि उपयुक्त हुने एक सानो सभास्थल तयार गरी दरबारमा खबर पठाए । 

‘सभास्थल तयार छ’ भन्ने खबर पाएपछि महारानी आफ्ना केही नोकरचाकर र साथीसङ्गीसहित पाल्कीमा सवार भई सभास्थलतर्फ लागिन् । उनलाई भव्य स्वागत गरियो । सभास्थलमा महारानीका लागि विशेष स्थानको व्यवस्था गरिएको थियो । सभास्थल वरपर खचाखच दर्शक थिए । बिचमा सबैले देखिने गरी सुगालाई राखिएको थियो । महारानीले आफ्नो स्थान ग्रहण गरिसकेपछि महाजनले सुगालाई आफ्नो कला प्रस्तुत गर्नका लागि आग्रह गरे । सुगारूपी दिव्यचन्द्रले मानेनन् । उनी महारानीतिर पुच्छर फर्काएर चुपचाप उभिइरहे । सुगाको यस्तो व्यवहार देखेर महाजनलाई लाजमर्दो भयो । उनले नजिकै गएर सुगालाई सोधे, ‘हे वनचरी, मबाट के गल्ती भयो र आज महारानीको सवारी हुँदा तिमीले यस्तो गरेको ? यसरी त मेरो बेइज्जत हुन्छ । महारानीले तिम्रो नाचगानको दर्शन गर्न पाइनन् भने मलाई फाँसीको सजाय समेत हुन सक्छ । थाहा छ तिमीलाई ?’

सुगारूपी दिव्यचन्द्र यति मात्रै बोले, ‘उँधो बगेको खोला उँभो फर्केर आउँदैन, स्त्रीको जातले आफ्नो र अर्को चिन्दैन !’

‘यो के भनेको तिमीले ? अहिले यो पाल्सी कुराको के अर्थ ? यसलाई थाँती राखेर कृपया आफ्नो नाचगान सुरु गर ।’ महाजनले आग्रह गरे । 

सुगारूपी दिव्यचन्द्र सोही वाक्य दोहोर्‍याउँदै र महारानीपट्टि पुच्छर फर्काउँदै चुपचाप उभिइरहे । महाजनले थुप्रैपटक आग्रह गरे, रिसाएर गाली गरे, धम्क्याए । तर उनी त्यसरी नै उभिइरहे । 

आजित भएर उनले ‘आफूले सुगालाई नाचगानका लागि पटक–पटक आग्रह गरेको तर सुगाले नमानेको’ सार्वजनिक घोषणा गरी महारानी र आम दर्शकसमक्ष क्षमा मागे । त्यो सुनेर ‘पक्कै पनि यो सुगाभित्र केही रहस्य हुनुपर्छ‘ भन्ने ठानी महारानी स्वयं तल झरिन् र सुगा भएतिर आइन् । त्यो देखेर दर्शकदीर्घामा सन्नाटा छायो । उनीहरू चुपचाप महारानी र सुगाले अब के गर्छन् भनी प्रतीक्षामा बसे । महारानी सुगा नजिकै आइन् र सोधिन्, ‘हे श्रेष्ठ पन्छी, म तिम्रो नाचगान हेर्न भनेर आएकी यस देशकी महारानी हुँ । तिमीले मेरो अपमान गरिरहेका छौ । कारण के हो, स्पष्ट भन ।’ 

यो सुनेर दिव्यचन्द्र अचानक महारानीको काँधमा बुर्लुक्क चढे र कानमा कसैले नसुन्ने गरी सारा कहानी बताए । आफू धोकामा परेको र राजाको यो हालत भएको दर्दनात्मक कहानी सुनेर महारानी रुनै आँटेकी थिइन्, सुगारूपी दिव्यचन्द्रले सार्वजनिक रूपमा रुनुहुँदैन भनेर रोके । 

त्यसपछि महारानीले उत्तिकै सानो स्वरमा ‘म त हजुरकै दासी हुँ महाराज, अब फेरि हजुरकै हुने उपाय के छ ?’ भनेर सोधिन् । जवाफमा सुगारूपी दिव्यचन्द्रले भने, ‘मलाई कुनै तरिकाले लुकाएर दरबारमा लैजाऊ । वर्तमान महाराजसँग काटेको भेडा नाचेको हेर्न मन छ भनी जिद्दी गर, अनि बाँकी काम मैले गर्छु ।’ 

महारानीले ‘हुन्छ’ भनेर टाउको हल्लाइन् । यति भएपछि समारोहलाई लामो बनाइराख्नुपर्ने औचित्य रहेन । तथापि महारानीका लागि नभए पनि बाँकी दर्शकका लागि भनेर दिव्यचन्द्रले एकछिन मनोरञ्जन दिलाए । अन्त्यमा उनकै निर्देशनअनुसार महारानीभन्दा अगाडि सबै दर्शकलाई बिदा गरियो । महारानीका साथमा आएका व्यक्तिहरूलाई सभास्थलबाहिर पठाइयो । सभास्थलको मध्यभागमा महारानी, सुगा र महाजन मात्र बाँकी रहे । 

एकान्तको अवसर पारेर सुगारुपी राजाले उक्त महाजनलाई आफ्नो रामकहानी बताए । आफू र महारानीबिच पुनर्मिलनको सल्लाह भएकाले त्यसमा सहयोग गर्न र यो सबै कुरा गोप्य राख्न समेत उनले निर्देशन दिएका थिए । महाजनले पनि सहर्ष स्वीकार गरे । सबै कुरा मिलिसकेपछि महारानीले दिव्यचन्द्रलाई जतनका साथ दरबार पुर्‍याइन् ।

यता दरबारमा महाराज भनाउँदा व्यक्ति चिन्तित मुद्रामा बसिरहेका थिए । कतै सबै पोल खुल्ने हो कि, आफू बर्बाद भइने हो कि भनेर उनी भित्रभित्रै डराएको देखिन्थ्यो । त्यत्तिकैमा महारानीको सवारी भयो । 

अरु केही नसोधी महाराजले महारानीलाई सिधै ‘कस्तो रहेछ त सुगाको नाच ?’ भनेर सोधे । उनको स्वर लगभग काँपेको थियो । महारानीले उनी डराएको कुरा बुझिहालिन् । उनी अझै दिग्भ्रमित होस् भन्ने मनसायले रानीले जवाफ दिइन्, ‘महाराज ! मैले सुगाका बारेमा जति बयान सुनेकी थिएँ, त्यस्तो पाइनँ । एउटा तालिमप्राप्त सामान्य सुगाजस्तै लाग्यो । उसको नाचगानबाट म सन्तुष्ट हुन सकिनँ । त्यसैले हजुरले मलाई काटेको भेडा नचाएर देखाइबक्सियोस् । यस्तो गर्न सक्ने शक्ति आफूसँग छ भनेर त हजुरले मलाई हाम्रो भेटको पहिलो कुराकानीमा नै भन्नुभएको थियो । कृपया मलाई निराश नबनाउनुस् ।’

तथाकथित महाराज फसादमा परे । के गर्ने, के नगर्ने सोच्नै सकेनन् । ‘आफूसँग त्यस्तो शक्ति छ भनेर मैले तिमीलाई कहिले भनेँ ?’ भनी सोध्न सकेनन् । उनी महारानीको जालमा फसिसकेका थिए । ‘तिम्रो इच्छा यस्तै छ भने ठिक छ, म कोसिस गर्छु’ भनेर उनले एउटा भेडा मगाए र तरबारले दुई टुक्रा पारे । भेडा मरिसकेपछि उनले आफ्नो आत्मा भेडाको शरीरमा प्रवेश गराए र नाच्न थाले । उनी नाच्न व्यस्त भएको मौका पारेर महारानीले लुकाइरहेको सुगालाई भुइँमा झारिदिइन् । सुगारूपी दिव्यचन्द्रले तत्कालै आफ्नो आत्मा आफ्नै शरीरमा प्रवेश गराए र उही पुरानो दिव्यचन्द्र बने । 

यता भेडो नाचिरहेको थियो । राजाले आफ्ना कामदारहरूलाई भेडा समातेर अग्लो भिरबाट खसाल्ने आदेश दिए । भेडोभित्रको त्यस फटाहाको आत्मालाई के भयो, भगवान् जानून् । जेहोस्, धेरै दुःखकष्ट र हण्डर बेहोरेपछि अन्त्यमा दिव्यचन्द्र आफ्नी प्रियतमालाई पुनः प्राप्त गर्न सफल भए । तत्पश्चात् राजारानी दुवै मिलेर सुखपूर्वक राज्य सञ्चालन गर्न थाले ।

सुन्नेलाई सुनको माला

भन्नेलाई फूलको माला

यो कथा बैकुण्ठ जाला ।

०००

(प्रस्तुत लोककथा लोककथा म सानै छँदा गाउँ (सिद्धलेक गाउँपालिका– १, धादिङ)मा झारफुक गर्दै हिँड्ने तिमल्सेना थरका एक वृद्धबाट सुनेको हुँ । उनलाई सबैले ‘तिम्सिना बाजे’ भन्थे । मलाई उनको नाम थाहा छैन । पहिलोपटक उनले यो कथा सुनाउँदा मलाई यति घत लाग्यो कि उनलाई दोस्रोपटक सुनाउन अनुरोध गरेँ । वैशाख वा जेठको महिना थियो सायद, एक दिन उनले घैया गोड्दै गर्दा फेरि मलाई यो कथा सुनाए । कथा साह्रै मन परेको हुनाले मेरो स्मृतिमा यो अहिलेसम्म रहन सफल भएको हो । तिम्सेना बाजेको निधन भएको पनि तीन दशक नाघिसक्यो । उनले मलाई यो कथा मेरो जीवनको एक अमूल्य निधिको रुपमा छाडेर गएका छन् । त्यसकारण यो कथा मेरो होइन, मबाट सिर्जित होइन, यसलाई मैले आफ्नै भाषामा थपघट गर्ने प्रयास मात्र गरेको हुँ । मुख्य चरित्र र घटनाक्रममा भने मैले कुनै परिवर्तन गरेको छैन । )

म पेसाले शिक्षक हुँ । निमा प्रकाशन, भृकुटी मण्डपबाट मैले लेखेका विद्यालय तह (कक्षा १० सम्म) को सामाजिक अध्ययन (तथा मानवमूल्य शिक्षा) का पुस्तक प्रकाशित छन् । — मानबहादुर सुनार ।)

०००

(यस कथामा महिलाको चरित्र र विवेकमाथि केही प्रश्न समेत उठेका छन्, जुन अहिलेको समय चेत अनुसार सुहाउँदैनन्, यद्यपि लोककथा हाम्रो सम्पदा हो, पहिले यसको सङ्कलन हुनुपर्छ भन्ठानी जस्ताको तस्तै प्रकाशन गरेका छौँ— सम्पादक ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मानबहादुर सुनार
मानबहादुर सुनार
लेखकबाट थप